आरन व्यवसायबाट मनग्य आम्दानी आरन व्यवसायबाट मनग्य आम्दानी



आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

दिपायलस्थित राजपुरमा सञ्चालन गर्नुभएको आरन व्यवसायबाट उहाँले आफ्नो पाँच जनाको परिवारलाई बजारकै परिवेशअनुसारको रहन–सहन, खान पिन र व्यक्तित्व विकासमा अघि बढाउन आफू सक्षम भएको बताउनुभयो ।



पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थालेपनि उनले यो व्यवसाय राम्रैसँग चलाउनुभएको छ । विगत एक दशकदेखि डोटीको दिपायलस्थित राजपुर बजार बाहिरको सरकारी जग्गामा एउटा सानो छाप्रोभित्र यो व्यवसाय सञ्चालन गरिरहनुभएका ओड आफ्नो कामप्रति गर्व गर्नुहुन्छ । वाल्यकालदेखि नै फलाम र आरनको काम गर्ने सीप सिकेर उहाँले आरन पेशा थाल्नुभएको हो । आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरूको पुख्र्यौली पेशा भएकाले यसलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । “आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको दशकौँ बितिसके । अझै कति समय बिताउने हो, त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन”, ओडले भन्नुभयो, “ लोप हुन लागेको यो पेशालाई स्थानीय सरकार तथा सरोकारवाला निकायले संरक्षण गर्न सक्नुपर्दछ ।”

“दिपायलस्थित पिपल्ला र राजपुर बजारमा मात्रै होइन, छिमेकी जिल्ला डडेल्धुरा तथा अछाम नजिकका गाउँका बासिन्दासमेत कृषिका लागि आवश्यक पर्ने फलामे साधन बनाउन मेरो घरमै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “आफूले विगत एक दशकदेखि यहाँको सरकारी जग्गामा घर बनाएर फलाम पिट्ने काम गरिरहेको छु तर आजसम्म ग्राहकबाट कुनै गुनासो आएको छैन् ।” “कतिपय ग्राहकले खुशी भएर ज्यालाभन्दा बढी रकम दिने गरेका छन् ।” उहाँले भन्नुभयो । मैले भनेअनुसारको सामग्री बनाएकाले मसँग ग्राहक खुशी हुन्छन् तर स्थानीय सरकारले अहिलेसम्म यो व्यवसायका लागि सहयोग गर्न नसकेको गुनासो गर्दै उहाँले सकेन र मैले गरेको परिश्रम पनि देखेन ।” छाप्रामुनि रहेको उहाँको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ ।
बिहानै ७ बजेदेखि दिनभर काम हुने ओडको आरनमा औजार बनाउन आउनेको दैनिक घुइँचो नै लाग्ने गरेको हुन्छ ।

जनशक्तिको अभावमा आफूले खासै चाहे जति काम गर्न नसके पनि पाँच जनाको परिवारको घरखर्च र छोराछोरीको स्कूल खर्चसमेत फलाम पिटेरै धानेको उहाँको भनाइ छ । पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थाले पनि उहाँले आफ्नो व्यवसाय राम्रै चलाउनुभएको छ ।

त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–५ गडसेराका आरन व्यवसायी शिवसिंह लुहारले पनि आफ्नो गाउँमा खोलेको आरन व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा उहाँले आफ्नो गाउँमा आरन व्यवसाय खोल्नुभएको हो । उहाँको आरनमा घरेलु औजार हँसिया, बञ्चरो, खुकुरी, कुटो, कोदालो, खुँडालगायतका घरेलु औजार बनाउन आउने सधैँ भीड लाग्ने गरेको छ ।

त्यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका–१ का आरन व्यवसायी जगत लुहारले पनि गाउँमा राम्रैसँग आरन व्यवसाय चलाउँदै आउनुभएको छ । गाउँपालिकाको केही आर्थिक सहयोगबाट उहाँले सो व्यवसाय शुरु गर्नुभएको हो । जिल्लामा आरन व्यवसाय लोप हुने अवस्था आएपछि यहाँका स्थानीय तहले यो व्यवसाय गर्न इच्छुकलाई आर्थिक सहयोग गर्दै आएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभित्रमा व्यावसायिकरुपमा उक्त व्यवसाय गर्न इच्छुकलाई आर्थिक सहयोगका लागि निवेदन दिन आग्रह गरेको नगर प्रमुख मञ्जु मलासी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आरन व्यवसाय लोप हुन नदिन हामीले विभिन्न कार्यक्रम तथा योजना ल्याएका छौँ, आरन व्यवसाय गर्नेलाई कति लागत चाहिन्छ निवेदन मागेका छौँ, निवेदन कति पर्छ त्यसैका आधारमा रकम छुट्टयाउने छौँ ।”


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि