स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

लोप भए गाउँका पुराना घर

खरको छानो - the times of nepal
सेयर गर्नुहोस

गोरखा भूकम्पका कारण नुवाकोटका पुराना र संस्कृति झल्किने घर चार वर्षयता हराएर गएका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्कनुपूर्वका पुराना मौलिकता झल्किने घर अहिलै कतै पनि भेटिन्न । भूकम्प जानुभन्दा पहिले गाउँघरतिर खरले छाएका, ढुृङ्गाका गारा, काठका ढोका, आँखी झ्याल भएका घर हुन्थे । पिँढी जाँतोढिकी हुन्थे । पुख्र्याैली घर माटो र ढुङ्गाले बनेका तीनतले हुन्थे । घुमाउरो बार्दली, काठका भ¥याङ र बुइँगल हुन्थे । रातो माटोले पोतिएको घरमा लामो फराकिलो पिँढी र भित्र मझेरीमा ओदान राखिएको हुन्थ्यो । बुइँगलमा किसानका अन्नबाली भकारीमा सुरक्षित राखिन्थ्यो । असारपछिका धान, भदौको नयाँ मकै, गहँु, तोरी, बदाम, मास, भटमास, गहत, आलुलगायत अन्न बुइँगलमा लगेर राखिने चलन थियो । पिँढीमा बस्नका लागि चारपाटे बुट्टा भरिएको फलैंचा, सुकुल, गुन्द्री, राडीलगायत राखेर पाहुना, छिमेकी, साथीभाइलगायत इष्टमित्रको स्वागत गरिन्थो । आजकल ती सबै पुराना पुख्र्याैली घर र सामान इतिहासमा मात्रै पढ्न पाइने भएको छ ।
नयाँ घर बनाउन सरकारले अनुदान दियो तर भूकम्प प्रतिरोधात्मक घर बनाइँरहदा नेपाली संस्कृतिलाई प्राथमिकतामा नराखिएको साबिकको बुधसिं गाविस–३ हाल तारकेश्वर गाउँपालिका–४ का स्थानीय ६० वर्षीय झङ्कबहादुर बस्ती बताउनुहुन्छ । “ गाउँ ठाउँ झल्किने घर र बस्तीलाई गाउँकै पुरानो शैलीमा लानुपर्छ । बाटो, स्वास्थ्य, शिक्षा, खानेपानीलगायत कुरालाई प्राथमिकतामा राखेर गाउँलाई गाउँकै तरिकाले विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “भूकम्पपछि हामीले पनि नयाँ घर निर्माण गर्दा पुरानै शैलीमा बलियो र भूकम्पबाट नभत्किने बनाउनुपर्ने थियो तर ख्याल गरेनौ । त्यतिखेरको समयमा कसरी हुन्छ बास बनाउने र सुरक्षित भएर परिवार राख्ने भन्ने मात्र चिन्ता थियो । आज आएर न पुनःनिर्माणमा ध्यान सकियो न त पुरानो शैलीमा लान नै ।”
बस्तीका अनुसार दुईकोठे भए पनि मानिसहरुले सिमेन्टले पोतेर सरकारी भवन या विद्यालय जसरी नै घर बनाएका छन् । “ छाना, इँटा या त टायलमा बुट्टा राख्न सकिन्थ्यो, झ्यालहरुमा आँखी बनाएर जोड्न सकिन्थ्यो, धुरीलाई बुइँगल जस्तै धुरो बनाउन सकिने थियो । अब त सम्झनामा मात्र सीमित भयो”, उहाँले भन्नुभयो ।
सोही गाउँका सन्तबहादुर विक पहिला पहिला भूकम्पले नभत्काउँदासम्म आफ्नो घरमा बस्दा छुट्टै आनन्द आउने गरेको बताउनुहुन्छ । “गर्मीमा चिसो हुँदा मझेरीमा बस्दा, सुत्दा स्वास्थ्यलाई पनि फाइदा हुन्थ्यो । अहिले त सिमेन्ट तातेर बस्न सकिन्न, जाडोमा शीत पर्ने, गर्मीमा तात्ने गर्छ”, उहाँले भन्नुभयो, “ पुराना चलनका घरहरु खै अब कहाँ देखिन्छ र, हाम्रा चलनका घर, फलामका भाँडाहरु बनाउने काम पनि भूकम्पले गर्दा हराएर गए ।”
विदुर नगरपालिका–५ का रामकृष्ण भट्ट भन्नुहुन्छ, “ भूकम्पले क्षति पु¥याएको हाम्रो ठाउँमा अब नयाँ अवतारका पुनःनिर्माण भएका छन् । धर्म, संस्कृति, रीतिथिति सबै नाश भयो । मौलिकता हरायो, पुरातत्व हरायो, पुराना मठमन्दिर, पाटीपौवा खै कहाँ छन् ती संरचना ? ” उहाँले सरकारले पुनःनिर्माणको बाटो अपनाइँरहदा मौलिकताको नाश नहुने नियम पनि लगाउनुपर्ने थियो भन्नुभयो ।
हाल नवनिर्मित घरहरुमा पुराना मौलिकता आउने खालका नभएको ज्येष्ठ नागरिकसमेत बताउँछन् । पुराना पुख्र्र्याैली घरको आर्कषण अझै पनि मानिसमा रहेको स्थानीयवासी बताउँछन् ।
नुवाकोट एक पर्यटकीयस्थल हो र यो धर्मसंस्कृतिको जर्गेना गर्ने जिल्लाका रुपमा चिनिन्छ । यहाँका साततले दरवार, भैरवी मन्दिर, जाल्पादेवी, वासुकी नागको मन्दिर, बेत्रावती धाम, दुप्चेश्वर महादेव, ककनी, वसन्ती दरबार, तादी र त्रिशूली नदीको मनमोहक सङ्गम, तलेजु, कोतघर, यहाँका आकर्षण हुन् । पुराना घरले त्यसमा सौन्दर्य थपेको थियो । भूकम्पपछि बनेका सबैका घर ढलान गरेरै बनेका छन् । पुरानो शैली लोप भएर गयो ।
राष्ट्रिय प्राधिकरण कार्यालय नुवाकोटको तथ्याङ्कअनुसार भूकम्पछि भत्किएका ७६ हजार ९४३ घरमध्ये २४ हजार घर पुनःनिर्माण हुन सकेका छैनन् भने आठ हजार घर निर्माणका लागि शुरु नै भएका छैनन् ।
भूकम्पबाट क्षतिग्रस्त घरमध्ये ३६ प्रतिशत निर्माण हुन बाँकी छ । अठ्चालीस हजार ४ सय घरले तेस्रो किस्ता लगिसकेको नुवाकोट प्राधिकरण कार्यालयले जनाएको छ ।
लाभग्राही सूचीमा सूचीकृत भूकम्पपिडित घरपरिवारलाई निर्माण सम्पन्न भएपछि अन्तिम तेस्रो किस्ता अनुदान रु चार अर्ब ४० करोड ८९ लाख निकासा भइसकेको छ । यसैगरी पहिलो र दोस्रो किस्ता अनुदान लिएका घरपरिवार ८९ प्रतिशत अर्थात् ६४ हजार १७६ छन् । त्यसका लागि रु नौ अर्ब ६२ करोड ६४ लाख अनुदान सरकारले भूकम्पपीडितका लागि खर्चिसकेको छ । पहिलो किस्ता अनुदान रकम लिएकामा ९४ प्रतिशत घरपरिवार छ । त्यस्तै दोस्रो किस्ता अनुदान लिएकाहरु ६६ हजार ६७४ र तेस्रो किस्ता लिने घरधुरीमध्ये ४८ हजार ४२१ रहेको नुवाकोट प्राधिकरण कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -