स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

Gautam Buddha International Cricket Stadium
सेयर गर्नुहोस

बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् ।

यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको वार आफैँ निर्माण गर्ने जनाएका छन् । स्थानीयवासीले सडक फराकिलो बनाउन पनि माग गर्दै आएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि बाटोको टुङ्गो लगाउने आश्वासन दिइसक्नुभएको छ । बाटो फराकिलो बनाउँदा रङ्गशालातर्फको भागबाट केही बढी छाड्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रमुख दाहालले रोकिएको काम तत्काल शुरु गर्नका लागि गृहकार्य अघि बढाइएको बताउनुभयो । स्थानीयवासीको माग सम्बोधन भएको भन्दै उहाँले यस गौरवको आयोजना सम्पन्न गर्न सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।

रङ्गशाला निर्माण सहयोग समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रोकिएको काम अघि बढाउन पहल गरिएको बताउनुहुन्छ । जिल्लाका विभिन्न स्थानीय तह र सङ्घ संस्थामा रहेका नेतृत्व तहलाई समावेश गर्नुका साथै विभिन्न समिति गठन गरेर रकम सङ्कलनका लागि काम अघि बढाउने तयारीमा रहेको उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमबहादुर परियारले धुर्मुस सुन्तली फाउण्डेसनलाई जनताको साथ र महानगरको रेखदेखमा काम अघि बढाउन आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले रोकिएको रङ्गशाला निर्माणको काम अघि बढाउन फाउण्डेसनलाई अनुरोध गर्दै साथ र सहयोगमा जुट्न नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

रङ्गशालाको बार भत्काएको अभियोगमा थुनामा परेकाहरु छुटेर आज पत्रकार सम्मेलन गरी उक्त फाउण्डेसनलाई काम यथावत सञ्चालन गर्न गर्दै र यसमा आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको जनाएका छन् । सो ठाउँमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरीे एकाइसमेत खडा गरिएको छ ।

रु तीन अर्बको लागतमा निर्माण गर्न लागिएको सो रङ्गशालाको शिलन्यास भदौमा गर्नका लागि काम अघि बढाइएको थियो । गएको माघ १६ गते प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भरतपुर महानगर र फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । महानगरको पहलमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको जमीन रङ्गशालाका लागि उपलब्ध गराइएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -