स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

एचआइभी सङ्क्रमितको मृत्युदर घट्दै

AIDS - The Times Of Nepal
सेयर गर्नुहोस

औषधिको नियमित प्रयोग र रोगप्रतिको सचेतनाका कारण कञ्चनपुरमा एचआइभी एड्स सङ्क्रमितहरुको मृत्युदर घट्दै गइरहेको छ ।

कञ्चनपुरमा २०६३ सालयता १२० जना एचआइभी सङ्क्रमितको मृत्यु भइसकेको छ ।

महाकाली अञ्चल अस्पतालको ‘एआरटी’ शाखामा हालसम्म महिला, पुरुष र बालबालिका गरी ५०९ सङ्क्रमितहरु सम्र्पकमा आएको अञ्चल अस्पतालले जनाएको छ । “औषधिको नयाँ नयाँ आविष्कार, सङ्क्रमितहरुको नियमित औषधि सेवन र स्याहारका कारण बितेको ६÷७ वर्षयता मृत्युदर घटेको छ”, महाकाली अञ्चल अस्पताल ‘एआरटी’ शाखाप्रमुख नन्दराम भट्टले भन्नुभयो, “सरकारी तथा गैरसरकारी निकायबाट पनि पछिल्लो समय सङ्क्रमितलाई धेरै सुविधा र सहुलियत थपिएको छ ।”

उहाँले नाम दर्ता भएकामध्ये २९७ जना सङ्क्रमित नियमित औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । “दर्तामा भएकामध्ये ५६ जना सम्र्पकविहीन छन्”, प्रमुख भट्टले भन्नुभयो, “३६ जना अन्यत्रबाट औषधि सेवन गरिरहेका छन् ।”

अस्पताल आउने सङ्क्रमितहरुलाई निःशुल्क औषधिका साथै हरेक महीना स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । “पहिले त सङ्क्रमितहरुमा पनि एचआइभी लाग्यो कि मृत्यु भइहाल्छ भन्ने चिन्ता थियो”, उहाँले भन्नुभयो, “अहिले त औषधिका कारण यो रोग सामान्य जस्तै छ ।”

त्यसैगरी बुबा÷आमाबाट एचआइभी सरेर सङ्क्रमित भएका ३७ जना बालबालिका नियमित औषधि सेवन गरिरहेका छन् । “यहाँ आउने आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितहरुलाई विभिन्न गैरसरकारी संस्थाको सहयोगमा यातायात खर्चसमेत उपलब्ध हुँदै आएको छ”, प्रमुख भट्टले भन्नुभयो, “उहाँहरुको पोषणका लागि हरेक महीना प्रतिव्यक्ति पाँच किलोग्राम सर्वोत्तम पीठोसमेत दिइँदै आएको छ ।”

सङ्क्रमितहरुको स्वास्थ्य परीक्षण गरेर ‘भाइरल लोड’ अनुसारको औषधि दिइने गरेको छ । भट्टका अनुसार चालू आवको हालसम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ । “औषधिसँगै खानपिनको विशेष ध्यान दिन सके पूरा जीवन बाँच्न सकिन्छ”, उहाँले भन्नुभयो, “एचआइभी रोकथामका लागि पनि आवश्यक परामर्शहरु दिँदै आएको छौँ ।”

त्यसैगरी ‘एआरटी’ शाखामा औषधि सेवन गर्न आएकी भीमदत्तनगरकी एचआइभी सङ्क्रमित संविता विष्ट (नाम परिर्वतन) एचआइभीलाई आफू सामान्य रुपमा लिँदै आएको बताउँछिन् । “नबुझेसम्म गाह्रो हो”, उहाँले भन्नुभयो, “बुझेयता सामान्य लाग्छ ।” उहाँले सङ्क्रमित बालबालिकाहरुको शिक्षा र रोजगारीका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

“राज्यबाट औषधि उपचारदेखि अन्य हेरचाहमा सहयोग मिल्दै आएको छ”, विष्टले भन्नुभयो, “सङ्क्रमित बालबालिकाहरुलाई रोजगारी र प्राविधिक शिक्षाका लागि सहयोग चाहियो ।” नवआशा कञ्चनपुरमा आबद्धसमेत रहनुभएकी विष्टले सङ्क्रमितको मृत्युदर घटेको बताउँदै औषधि सेवनमा बेवास्ता गर्न नहुने बताउनुभयो ।

“हामीले थाहा पाउँदै पहिले सङ्क्रमितहरु धेरै मरे”, उहाँले भन्नुभयो, “अहिले त धेरै घटेको छ ।” नवआशा कञ्चनपुरमा २५० भन्दा बढी सङ्क्रमित आबद्ध छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -