स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

हटेन खानेपानीको सङ्कट

सेयर गर्नुहोस

डडेल्धुरामा एउटा यस्तो गाउँ छ जहाँ हरेक घरमा नीलो रंगको ‘जर्किन’ राखिएको हुन्छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं १ अन्र्तगत पर्ने कोटेलीको सुनकोट गाउँवासी हरेकले आफ्नो घरमा एउटा भए पनि नीलो रंगको जर्किन राखेका छन् । उनीहरुले त्यो जर्किन भारतबाट किनेर ल्याएका हुन् ।
सुनकोट गाउँमा दलित समुदाय बस्ने गर्दछन् । हरेक दिन दिउँसोतिर बस्तीका महिला नीलो जर्किन बोकेर गाउँमाथि रहेको खानेपानी ट्याङ्कीमा हतारिँदै आउँछन् । पानी भर्न त्यस ठाउँमा आउनै पर्छ । पानी भर्न आएकी ५० वर्षीय हरुदेवी भुल २०० दलित परिवार रहेको सुनकोटको हरेक घरमा नीलो जर्किन भएको बताइन् । “पानीका दुःखले यो इण्डियाबाट किनेर ल्याया हौं,” उनले डोटेली भाषामा भनिन् ।

सबै घरका मान्छे कोही न कोही भारतमा छन्, सबैले घर आउँदा सँगै जर्किन ल्याउँछन् । कसै–कसैको घरमा त पाँच÷छ वटा जर्किन हुन्छन् । गाउँभन्दा दश किलोमिटर टाढा असुर्पाबाट यस ट्याङ्कीमा पानी आउँछ । “दिनभर ट्याङ्कीमा पानी भरिन्छ, त्यसपछि दिउँसोको समयमा धारा खोलिन्छ,” उनी भन्छिन् – “हामी सबैले दिनको ५० लिटर अट्ने एक जर्किन पानी पाउँछौं ।”
दिनको ५० लिटर पानी पाए पनि उनीहरुलाई त्यो पर्याप्त छैन । गाउँभन्दा आधा किलोमिटर पर हिँडेर पल्लो गाउँमा पानी लिन जाने उनीहरुको दैनिकी नै भएको छ । मजदूरी गरेर गुजारा गर्ने उनीहरु बिहानै ४ बजे जर्किन लगेर पानी भर्न जान्छन् । “बिहानै उठेर पानी भर्न जान २ घण्टा लाग्ने हुँदा कामको हर्जा नै हुन्छ,” नजीकै रहेका केटाकेटी देखाउँदै अर्की पानी भर्न आएकी इन्दिरादेवी भुलले भनिन् – “यिनीहरु सबै पानीका लागि जान्छन्, ५० लिटर त्यहाँबाट बोकेर ल्याउँछन् ।”

स्थानीय सरकार आएको २ वर्ष हुँदा समेत सुनकोटवासीको खानेपानीको समस्या सुल्झिएको छैन । “पहिलेको भन्दा त अलि सहज भएको छ पहिले टाढाबाट पानी ल्याउनुपथ्र्यो,” हरुदेवीले भनिन् – “मैले बिहे गरेर आउनुभन्दा पहिले पनि यता यस्तै समस्या थियो, आधा उमेर भैसक्यो अझ पनि उस्तै छ ।”

गाउँमै खानेपानीको ट्याङ्की त बनेको छ तर, यो पानी हाम्रो लागि पर्याप्त छैन, परिवर्तन भन्नाका लागि मात्र आए जस्तो छ,” उनले थपिन् ।
पानीमा जातीय विभेद
गाँउपालिकाको खानेपानी योजनामा जातीय विभेद पनि भएको देखिन्छ । चन्नरीदेवी भुल भन्छिन् – “दिनको एक जर्किन मात्र हामीले पानी पाउँछौं । त्यो पनि पानी आएको दिन मात्र । नत्र हामीले दिन काटेर अरुको धाराबाट पानी ल्याएर खानुपर्छ ।” दुईसय घरधुरी रहेको दलित गाउँका नाउला (पोखरी) समेत सुकेका छन् । गाईगोरुलाई पानी खुवाउनदेखि लत्ताकपडाका साथै नुहाउनका लागि तीन÷चार घण्टाको पैदल दूरी हिँड्नुपर्ने भन्दै हरुदेवीले दुःखेसो पोखिन् । “हाम्रा भन्दा त गैरदलित बस्तीलाई पानी पुगेको छ,” उनले भनिन् – “पानीका लागि धेरै करायौं, फेरि पनि कराउँदै छौं ।”

गैरदलित भन्दा दलित बस्तीमा पानी कम आउने भएकाले सुनकोटमा पानी नपुग्ने गरेको ट्याङ्कीको पानी खोल्ने चौकीदार पौवा भुल बताउँछन् । “एरोडामा रहेको रिर्जभ ट्याङ्कीबाट पानी वितरणमा गल्ती हुन्छ,” उनले भने – “यता फुल गरेर खोलिँदैन, एरोडामा बढी खोलिन्छ ।”
खानेपानीको बिषयमा विवाद हुँदा खुकुरी प्रहार गरी कोटेलीमै २०७३ फागुन १ गते आइतबारका दिन एकजनाको हत्या भएको थियो । नवदुर्गा गाउँपालिकाको कोटेलीका शेरबहादुर साउदको स्थानीय भीमबहादुर भुलले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार स्थानीय भुल र मृतक साउदको खानेपानीको विषयमा बिहान विवाद भएपछि दुबैजनाबीच कुटाकुट भएको थियो । सोही क्रममा भूलले साउदमाथि खुकुरी प्रहार गरेका थिए । भूल र साउद छिमेकी थिए । मृतक साउदको घरमाथि र भुलको घर तल रहेको थियो । दुई परिवारको खानेपानी प्रयोग गर्ने धाराको पाइप एउटै भएकाले तलको धारा बन्द भएपछि मात्रै माथिल्लो धारामा पानी जान्छ । तलको धारा बन्द नगरेपछि विवाद उत्पन्न हँुदा घटना भएको प्रहरीले जानकारी दिएको छ । घटना भएको ३ वर्ष पुग्दा समेत यहाँको खानेपानीको समस्या उस्तै छ ।
गाउँपालिकाको सक्रियता
गाउँपालिकाले नवदुर्गाको कोटेलीमा रहेको खानेपानी समस्या सुल्झाउने प्रयास भइरहेको बताएको छ । विगतकोे भन्दा धेरै समस्या सुल्झिसकेको वडा नं १ कोटेलीका वडाध्यक्ष भीम बोहोराले बताउनुभयो । “खानेपानीको समस्या विगतबाटै रहिआएको थियो,” उनले भने – “हामीले २० लाख छुट्याएर कोटेली बृहत् खानेपानी योजना सम्पन्न गर्दैछौ । योजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र नजीकै डिप बोरिङको सुरुआत गर्ने योजनामा छौं ।”
डिप बोरिङका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भएको र गाउँपालिकाले त्यसका लागि १६ लाख छुट्याएको उहाँले बताउनुभयो । “अझै कोटेलीको दुई÷तीन वटा बस्तीमा खानेपानीका योजना सम्पन्न हुने अवस्थामा छ,” बोहरा भन्नुहुन्छ – “आगामी दिनमा पनि हाम्रो खानेपानी योजनामा बढी भन्दा बढी जोड रहन्छ ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -