पर्यटनमैत्री बजेट : पूर्वाधार विकास प्राथमिकता पर्यटनमैत्री बजेट : पूर्वाधार विकास प्राथमिकता



सरकारले पर्यटन क्षेत्रको समग्र विकास प्रवद्र्धन गर्ने लक्ष्यका साथ पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेट सङ्घीय संसद्को संयुक्त वैठकमा आज प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुभयो ।

आर्थिक समृद्धिको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको सरकारले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटकीय गन्तव्यको पहिचान प्रवद्र्धन तथा सेवा स्तरीकरणलाई जोड दिनेगरी बजेटमा व्यवस्था गरेको हो । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि रु दुई अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।



सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा सरकारले ऐतिहासिक गढी र किल्लालाई समेत पर्यटककीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ । नेपाल एकीकरणका क्रममा प्रयोग भएका गढी तथा किल्लालाई व्यवस्थित गरिने भएको छ ।

हवाई पूर्वाधार

आन्तरिक आवद्धता बढाउन, आवागमनलाई सहज गर्न तथा आन्तरिक र बाह्य पर्यटन क्षेत्रको विकास गर्ने सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय हवाई पूर्वाधारलाई प्राथमिकता दिएको बजेटमा उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिक परम्परा र संस्कृति झल्कने बुटिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रुपान्तरण गरी चौविसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइनेछ । उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माण गरिनेछ ।

गौतमबुद्ध विमानस्थललाई रु तीन अर्ब ३४ करोड

सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको कार्य आगामी वर्ष सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न रु ३ अर्ब ३४ करोड विनियोजन गरेको छ । पोखरा विमानस्थल निर्माणको कार्यलाई अघि बढाउन रु ८ अर्ब छुट्टाएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्वतयारी कार्य अघि बढाइनेछ ।

आन्तरिक विमानस्थलको स्तरोन्नती

आगामी आवमा आन्तरिक विमानस्थलको निर्माण तथा स्तरोन्नति गरिने बजेटमा उल्लेख छ । विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज, दाङ, धनगढीलगायतका विमानस्थलको स्तरोन्नती गरी ठूला विमान अवतरण गर्न सक्ने बनाइनेछ र सुर्खेतमा नयाँ विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनुका साथै गोकुलेश्वर, कमलबजार, स्वर्गद्वारी र चुहानडाँडालगायतका स्थानहरुमा विमानस्थल निर्माणको कार्य अघि बढाइने बजेटमा उल्लेख छ ।

रात्रि उडानको सुविधा नभएका विमानस्थलमा रात्रिकालीन उडानको पूर्वाधार निर्माण गरिने र पर्यटक उदगम हुने देशसँग थप हवाई सेवा सम्झौता गरिने उल्लेख गरिएको छ । नयाँ हवाई प्रवेश विन्दुहरू र तदनुरूप नयाँ हवाईमार्ग प्रयोगका लागि छिमेकी राष्ट्रसँग समझदारी एवं सम्झौता गरिनेछ । हवाई पूर्वाधारको निर्माण, विकास तथा व्यवस्थापनमा सरकार र निजी क्षेत्रको साझेदारी र सहकार्यलाई प्रोत्साहन गरिनेछ । हवाई क्षेत्रमा रु १५ अर्ब ८५ करोड विनियोजन गरिएको छ ।

‘भ्रमण वर्षलाई ध्यान दिइएन’

आगामी आर्थिक वर्षका लागि सरकारले आज प्रस्तुत गरेको बजेटले पर्यटन क्षेत्रलाई सम्बोधन गरेको भए पनि नेपाल भ्रमण वर्षलाई जुन रुपमा जोड दिनुपर्नेमा त्यसो हुन नसकेको निजी क्षेत्रको टिप्पणी छ । होटल सङ्घ नेपालका उपाध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रलाई सम्बोधन गर्ने खालको बजेट आए पनि नेपाल भ्रमण वर्षलाई ठोस रुपमा उल्लेख गर्न नसकेको बताउनुभयो ।

यस्तै बजेटले माइस टुरिजमलाई समेत प्राथमिकतामा राखेको छ । यस्तै कृषि, पर्यटन, खेल, ग्रामीण जलयात्राजस्ता विषयलाई समेत बजेटमा समावेश गरिएको छ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले विगतमा भन्दा सकारात्मक बजेट आए पनि तोकिएका क्षेत्रमा बजेट विनियोजन हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्षलाई विशेष रुपमा सम्बोधन हुन्छ भन्ने हाम्रो अपेक्षा थियो, त्यो भने बजेटले सम्बोधन गरेन ।” पूर्वाधारका क्षेत्रमा दिइएको जोडलाई भने उहाँले सराहना गर्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय र त्रिभुवन अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलाई बुटिक विमानस्थल बनाउने विषय बजेटका सकारात्मक पाटा भएको उहाँको भनाइ छ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि