स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

प्रमाण विधेयक स्वीकृतः गुठी विधेयक पेश

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री - कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल - The times of nepal
सेयर गर्नुहोस

“प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिले स्वीकृत भएको छ । सोसम्बन्धी प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले विधेयकमा ३२ ठाउँमा संशोधन गरिनुभन्दा नयाँ ल्याइनुपर्ने, विज्ञान प्रविधिको विकासले प्रमाणका नयाँ आयाम आएकाले त्यसअनुसार विधेयकलाई परिष्कृत गरिनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद बद्री पाण्डेले विधेयक पढ्दा सरकारले पर्याप्त समय नदिएको र हेलचेक्र्याइँ गरेको आरोप लगाउँदै विद्युतीय कारोवार ऐन र यसमा के फरक छ भन्नेमा प्रष्ट नभएको बताउनुभयो । सांसद विन्दादेवी आले रानाले विधेयकको दफा १९ मा दोहोरो अर्थ लाग्ने ‘अदालतले चाहेको खण्डमा श्रव्यदृश्य लिनसक्ने’ वाक्यांशले कार्यान्वयनमा असहज हुन सक्ने बताउनुभयो ।
सांसद प्रकाश पन्थले बलात्कारका घटनामा प्रमाण लोप हुन सक्ने र बहिराले बोल्न नसक्ने भएकाले कसरी प्रमाणको सुनिश्चितता गर्ने भन्ने स्पष्ट हुनुपर्ने विचार राख्नुभयो । सांसदत्रय जीवन बुढा, वृशेषचन्द्रलाल र ठगेन्द्र पुरीले समसामयिक रुपमा विधेयक परिमार्जन गर्न सकिनेमा जोड दिनुभयो । सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले सर्वोच्च अदालतको रायसुझाव लिएर विधेयक संसद्मा पेश गरिएको बताउनुभयो ।
यसैगरी सभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘गुठी विधेयक, २०७५’ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ८ गते अपराह्न १ बजे बस्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -