स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

लेखापरीक्षकले ‘मुख मिलाउन’ हुँदैनः मन्त्री यादव

Exclusive news
सेयर गर्नुहोस

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेशागत मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई आग्रह गर्नुभएको छ । नेपाल अडिटर्स एसोशियसन (अडान), उपत्यका प्रदेश समितिको पाँचौ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले लेखा परीक्षणको नाममा राज्यलाई आर्थिक नोक्सानी पुर्‍याउन नहुनेमा जोड दिनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “आर्थिक हिसाब प्रष्ट पार्न लेखापरीक्षकको आवश्यकता छ । लेखापरीक्षण गर्दा राज्यलाई आर्थिक नोक्सानी हुने गरी ‘मुख मिलाउन’ हुँदैन ।” वास्तविक लेखापरीक्षण गरेर आर्थिक हिनामिना गर्न नदिन लेखापरीक्षकको ठूलो भूमिका रहेको औँल्याउँदै उहाँले लेखापरीक्षणका क्रममा हुने अनियमितता रोक्न सम्पूर्ण लेखापरीक्षक एक हुनुपर्ने बताउनुभयो ।

“लेखा परीक्षणका क्रममा हुने अनियमितता रोक्ने हैसियत र सीप तपाईंहरुसँग छ, अब सरकारलाई लेखापरीक्षकको साथ चाहिएको छ”, मन्त्री यादवले भन्नुभयो । जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउन आफू क्रियाशील रहेको उल्लेख गर्दै उहाँले कम्पनी, उद्योग, प्रतिष्ठान दर्तालगायत कामलाई सहज बनाउन सरकाले एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो । “एकल बिन्दु सेवा केन्द्रबाट सम्पूर्ण सेवा उपलब्ध हुनेछ, अब लेखापरीक्षकले कम्पनी तथा उद्योगसँग सम्बन्धित फाइल बोकेर विभिन्न निकाय धाउनुपर्ने छैन, कर्मचारी र लेखापरीक्षकले पूरानो मानसिकता त्यागेर कुनै अनियमितता नगरी काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अडानका अध्यक्ष मोहनराज रेग्मीले विगतमा लेखापरीक्षण पेशामा विकृति देखिएको स्वीकार गर्दै अब उप्रान्त लेखापरीक्षणका क्रममा हुने मिलेमतो रोक्नुपर्ने बताउनुभयो । नेपाल चार्टड एकाउन्टेन ऐन, २०५३ ले लेखापरीक्षकलाई विभेद गरेको गुनासो गर्दै उहाँले विभेद हटाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

सो अवसरमा अडानका प्रतिनिधिले उद्योग तथा कम्पनी दर्ता गर्न सहज भए पनि खारेजी गर्न विभिन्न झण्झट व्यहोर्नुपरेको, सहजैरुपमा राजस्व दाखिला गर्नेलगायत नीतिगत व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका थिए । एशोसियसनमा तीन हजारभन्दा बढी लेखापरीक्षक आबद्ध रहेका छन् भने उपत्यकाभित्र दुई हजार ५०० बढी लेखापरीक्षक छन् । अधिवेशनले उपत्यका प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -