स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

प्राविधिक शिक्षाले विद्यार्थी तान्यो

सेयर गर्नुहोस

सिन्धुलीका १५ वर्षीय सञ्जय लामा प्रत्येक दिनजसो बागमती नदी तरेर मकवानपुरको बागमती गाउँपालिका ज्यामिरेमा रहेको देवकी माध्यमिक विद्यालयमा पढ्न आउनुहुन्छ । कक्षा ९ मा अध्ययनरत सञ्जयले कक्षा ८ सम्म सिन्धुलीकै स्थानीय विद्यालयमा अध्ययन गर्नुभएको हो ।

आजसम्म कम्प्युटर चलाउने अवसरसमेत नपाउनुभएका सञ्जयले माध्यमिक तहदेखि नै कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने सुनेपछि यहाँ भर्ना हुन आएको बताउनुभयो । उहाँ मात्र होइन, मकवानपुरको दुर्गम मानिने बागमती गाउँपालिकाको ज्यामिरेस्थित देवकी माविमा कम्प्युटर इञ्जिनीयरिङ पढ्न रुचि भएका करीब ८० ले आवेदन हालेका छन् । ४८ जनाको कोटामा करीब दोब्बर विद्यार्थीले यो विषय पढ्ने रुचि देखाएका हुन् । भर्नाका लागि विद्यार्थी तथा अभिभावकसमक्ष हारगुहार गर्नुपर्ने दुर्गम गाउँको विद्यालयमा प्राविधिक विषय पढ्न पाउने भएपछि अपेक्षा गरेभन्दा धेरै विद्यार्थी आएका छन् ।

ठूलो सङ्ख्यामा विद्यार्थी भर्ना हुन आएपछि शिक्षक पनि उत्साहित भएका छन् । “हामी उत्साहित र अन्योल दुवै छौँ”, विद्यालयका प्रधानाध्यापक खड्गबहादुर पुलामीले भन्नुभयो, “विद्यार्थी बढी आउनु राम्रो हो र त्यसले हामीलाई उत्साहित बनाएको छ । तर अब व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलता पनि सँगसँगै छ”, उहाँले थप्नुभयो । प्रवेश परीक्षामार्फत विद्यार्थीको छनोट गरिने बताउँदै उहाँले बाँकी विद्यार्थीलाई अन्य विषय पढ्न अनुरोध गरिने बताउनुभयो ।

बागमती नदी र चौराह खोलाको टापुजस्तै देखिने ज्यामिरे बागमती गाउँपालिकाको केन्द्र झुरझुरेबाट दुई किलोमिटर दक्षिणमा पर्छ । विगतमा पुल नभएका कारण वर्षाको केही महीना खुला संसारबाट अलग हुने ज्यामिरे अहिले चौराहखोलामा झोलुङ्गे पुल बनेपछि भने गाउँपालिकाको केन्द्रसरह नै बन्न पुगेको छ । ललितपुर, काभ्रे, सिन्धुली र मकवानपुरको सङ्गम ज्यामिरेटापुमा ८ कक्षासम्म पढाइ हुने एउटा आधारभूत र १२ कक्षासम्म पढाइ हुने एउटा माध्यमिक गरी दुई विद्यालय छन् । दुईमध्ये देवकी माविले भने यस वर्षदेखि कक्षा ९ देखि कम्प्युटर इञ्जिनीयरिङ विषयको पढाइ प्रारम्भ गरेको हो । कम्प्युटर इञ्जिनीयरिङको पढाइ शुरु गरेपछि यहाँ छिमेकी जिल्ला सिन्धुली तथा मकवानपुरका टाढा– टाढाबाट पनि विद्यार्थी आउन थालेका छन् ।

सिन्धुली ककरेका अनराज घिसिङ कम्प्युटर इञ्जिनीयर बन्ने सपना पूरा गर्न देवकी मावि आएको बताउनुहुन्छ । उहाँका अनुसार आमाबुबाको चाहना पनि उहाँलाई इञ्जिनीयर बनाउने छ, त्यो पूरा गर्न पनि उहाँ यहाँ आउनुभएको हो ।

त्यस्तै सिन्धुलीकै जेमबहादुर घिसिङको पनि प्राविधिक विषय पढेर छिट्टै जागिर खाने धोको छ । कम्प्युटर इञ्जिनीयर भए धेरै राम्रो जागिर पाइन्छ र धेरै पैसा कमाइन्छ भन्ने ठानेर यहाँ पढ्न आएको उहाँको भनाइ छ ।

पूर्वी मकवानपुर राईगाउँका समीर राई रौतहट चन्द्रपुरको एक विद्यालयमा पढ्दै आउनुभएको थियो । “देवकी मावि ज्यामिरेमा कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने भएपछि आमाले यतै बोलाउनुभयो । मलाई पनि कम्प्युटर मन पर्ने, त्यही भएर यहाँ आएँ”, उहाँले भन्नुभयो । वाग्मती झुरझुरेकी दिलकुमारी राई पनि कम्प्युटर अध्ययन गर्न भनेर यो विद्यालयमा भर्ना हुन आएको बताउनुहुन्छ । त्यस्तै वाग्मतीका वीरबलकाजी स्याङ्बाको रुचि पनि कम्प्युटर नै छ । स्थानीय प्रभात पुलामीको ११ कक्षा पुगेपछि कम्प्युटर पढ्ने रहर थियो । तर आफू पढिरहेकै विद्यालयमा ९ कक्षादेखि नै कम्प्युटर इञ्जिनीयरिङको कक्षा शुरु भएपछि उहाँ पनि मख्ख पर्नुभएको छ । रहरको विषय पढ्न टाढा जानु परेन आफ्नै गाउँमा त्यो पनि ९ कक्षादेखि मलाई त धेरै खुशी लागेको छ, उहाँले खुशी बाँड्नुभयो ।

जिल्लाका विभिन्न विद्यालयले माध्यमिक तहदेखि नै विभिन्न विषयका प्राविधिक विषय अध्यापन गराउन थालेपछि सयौँ विद्यार्थीले माध्यमिक तहदेखि नै रुचिको विषय अध्ययन गर्न पाएका छन् । प्राविधिक शिक्षालाई समेत कतिपय विद्यालयले पूर्णरूपमा निःशुल्क बनाएका छन् । जिल्लाका जनता माविमा वाग्मतीमा कृषि प्राविधिक, महेन्द्र मावि बकैयामा इलेक्ट्रिकल इञ्जिनीयरिङ, सिद्धार्थ मावि हेटौँडामा कानून, भुटनदेवी माविमा सिभिल इञ्जिनीयरिङ पढाइ हुँदै आएको छ । देवकी मावि वाग्मती, ज्यामिरेमा भने यो वर्षदेखि कम्यप्युटर इञ्जिनीयरिङको पढाइ शुरु भएको हो । पहिलो वर्ष भएकाले परिणामको विषयमा अनुमान मात्रै लगाउन मिल्ने बताउँदै राम्रो हुनेमा आशावादी भएको बताउनुहुन्छ विद्यालयका शिक्षक रञ्जन रखाल ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -