स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

मदन भण्डारीको लाश भेटाउँदा जागीरको आशा लागेको थियो

मदनकुमार भण्डारी - madan bhandari - the times of nepal -मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
सेयर गर्नुहोस

दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्याे । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै काभ्रे माछा पर्दैथियो । मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा प¥यो । मलाई लाश हो कि भन्ने लाग्यो ।
साथीहरुलाई लाश देखेको खबर गरँे । लाशको नजिकै पुगेँ । घोप्टो अवस्थामा लाश अड्किएर बसेको पाएँ । पानीको माथिको सतहभन्दा आधा फिटमा लास डुबेको थियो । अनि साथीहरु र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौँ ।
लासलाई ओल्टाइपोल्टाइ हे¥यौँ । आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन । लास हेर्दा लाग्थ्यो, उठेर बोल्छ जस्तो । एकदमै फ्रेस । शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइण्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए ।
लाश पाए पनि मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन । त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना नेपाली सेना आइपुगे । उनीहरुले लाश हेरे । सेनाहरुलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ ।
हेरेपछि सेनाहरुले कालो छ, कुनै भारतीय हुन सक्छ भने । लासलाई बगाउन लागे । हामीले बगाउन दिएनौँ । जेठ ४ गते लासलाई नदी किनारमै छाडेर घर फर्कियाँै ।
घरमा बाजेलाई लास भेट्टाएको बताएँ । बाजेले शायद मदन भण्डारीको लाश होला भन्नुभयो । उहाँले पुलिसलाई खबर गर्न भन्नुभयो तर पुलिसलाई खबर गर्ने आँट गरिन ।
जेठ ५ गते कुलो खन्दै थिएँ । दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ । टोलीसँग मेरो बुबाको भेट भएछ । बुबाले हाम्रा छोराहरुले लाश भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ । लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर लाश भएको ठाउँ पुग्यौँ । नभन्दै त्यो लाश नेता मदन भण्डारीको रहेछ ।
डुङ्गामा लाश हालेर वारि आयौँ जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । ठूलो मेला लागेको जस्तो भीड । अनि पत्रकारहरुले मलाई सोधी खोजी गर्न लागे । जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु तीन जना साथीलाई घटनाबारे मान्छेहरुले सोधिरहे ।
ठूलो मान्छेको लास भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु । अहिले पनि ती घटनाक्रमहरु मेरो आँखा अगाडि घुमिरहन्छ । अठार वर्षको हँदा लास भेटेको थिएँ । अहिले ४३–४४ वर्ष पुगेँ । त्यति ठूलो नेताको लाश भेटाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागीर दिन्छ कि भन्ने लाग्यो । त्यस समयमा सिपाहीको लाश भेटाउने मान्छेले नेपाली सेनामा जागीर खान पाउँथे । कुरा पनि चलाएँ तर भएन । अनि म वैदेशिक रोजगारीका लागि साउदी अरब लागेँ । बाह्र वर्ष साउदी बसेर नेपाल फर्किएँ । अहिले विदेशबाट फर्कीएको ११ वर्ष भयो । एउटा ट्रयाक्टर किनेको छु । आर्थिक अवस्था कमजोर नै छ । मसँगै लाश भेटाएका किसान ठकुरी नेपालमै छ । श्यामबहादुर थापा मगर साउदी र टेकबहादुर आलेचाहिँ मलेसियामा छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेशनमा काठमाडौँ जाँदा भेट भयो । मलाई अरुले लाश भटेउने मान्छे यही हो भनेर चिनाइदिए । म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ । अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु ।
मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमूना बस्तीका रुपमा विकास गरोस् भन्ने छ । अनि अहिले नेकपाकै सरकार छ, स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति हुनुहुन्छ । मलाई नभए पनि मेरा छोराछोरीलाई अवसर दिए हुन्थो भन्ने लाग्छ । (तस्वीर छ । रासस समाचारदाता सुरेन कुँवरसँग थापाको कुराकानीमा आधारित)

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -