स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

मादल बनाउने पेशाको संरक्षण

सेयर गर्नुहोस

पाल्पा जिल्लाबाटै लोपोन्मुख अवस्थामा रहेको मादल बनाउने पेशा रामपुर नगरपालिका–८ कटहरटारका रामबहादुर गन्धर्वले सम्हाल्नुभएको छ ।

विगत १७ वर्षदेखि मादल बनाउने र बिक्री गर्ने रामबहादुरले स्याङ्जा तथा पाल्पाका विभिन्न स्थानमा मादल बोकेर पु¥याउने गर्नुभएको छ । उहाँले भन्नुभयो, “पहिले बुबाले पनि यसै गरेर मादलसँग धान, चामल साटेर परिवार पाल्नुभयो, मैले त अहिले मादल बेचेर पैसा कमाएको छु ।” कास्कीको पोखराबाट मादल तयार गर्न काठ, छाला, घेरा, मुन्द्रा, डोरी, खरीलगायत आवश्यक समान किनेर ल्याउने र घरमै मादल तयार गर्ने गरेको उहाँको भनाइ छ ।

विभिन्न धार्मिक तथा शुभकार्य र रमाइलोका निम्ति प्रयोग हुने बाजामध्ये महत्वपूर्ण मानिने मादल तथा मृदुङ्गा तयार पारेर बिक्री गर्ने रामबहादुरले प्रतिमादल रु दुई हजार पाँच सय देखि रु आठ हजारसम्ममा बिक्री गर्ने गरेको बताउनुभयो ।

बोरामा मादल बोकेर पैदल हिँड्दै पाल्पासँगै स्याङ्जा तथा तनहुँका विभिन्न स्थानमा मादल बिक्री गर्न पु¥याउने गरेको उहाँको भनाइ छ । तीन छोरा, दुई छोरीका बुबा रामबहादुरले मादल बेचेरै क्यान्सर रोग लागेका श्रीमतीको उपचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले मादल बेचेरै गुजारा चलाउँथे, अहिले छोराले विदेशमा परिश्रम गरेर पैसा कमाउँछ, सजिलो भएको छ ।” भजनकीर्तन तथा विभिन्न साङ्गीतिक कार्यक्रममा नभई नहुने मादल बजारमा पाइने अन्य मादलभन्दा आफूले तयार पारेका मादल बलियो हुने उहाँको भनाइ छ ।

एक दिनमा छ वटासम्म मादल तयार पार्ने उहाँले एउटा मादलमा खरी भरेको मात्रै रु एक हजार लिने बताउनुभयो । उहाँले भन्नुभयो, “यसो हँुदा त गाउँमै तयार हुने मादल अन्तबाट आयात हुने भयो ।”

उहाँले यस क्षेत्रका विभिन्न स्थानबाट मागबमोजिम मादल निर्माण गर्ने बताउँदै तनहुँको घिरिङ गाउँपालिका, स्याङ्जाको गल्याङ, वालिङ, र चापाकोट नगरपालिका तथा पाल्पाको विभिन्न स्थानमा बिक्रीका निम्ति मादल बोकेर पु¥याउने र कतिपयले खरी भर्नका निम्ति घरमै मादल ल्याइदिने बताउनुभयो ।

तानसेन नगरपालिका–६ लगायत जिल्लाका केही स्थानमा गन्धर्व समुदायको बस्ती रहे पनि मादल बनाएका भने देखिँदैन । सारङ्गी बजाएर गीत गाउँदै जीविकोपार्जन गर्ने गन्धर्व पनि आजभोलि तराईका जिल्लामा बसाइँ सरेका छन् । बढ्दो बसाइँसराइ र आफ्नो पेशाको संरक्षण गर्न युवाहरुले चासो नदेखाउँदा पाल्पामा मादल बनाउने पेशा नै धरापमा परेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -