सिसाखानीमा पानीको सङ्कट सिसाखानीमा पानीको सङ्कट



हिउँद लाग्यो कि बडिगाड गाउँपालिका–३ सिसाखानीवासीलाई पिरलो थपिन्छ । खोनेपानीको जोहोे कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ । बस्ती डाँडामा छ । नजीकमा पानीको मुहान छैन ।

भएका सामूहिक धारा गाउँको तल छन् । तिनमा पनि बिहान र बेलुका छोटो समय पानी खस्छ । गृहिणीहरु डोकोमा गाग्री बोकेर धारामा धाउँछन् । घण्टौँ कुरेर खोनेपानीको जोहो गर्छन् । कष्ट व्यहोर्दै घर फर्कन्छन् । सिसाखानीमा खानेपानीको सङ्कट आजको भने होइन ।

वर्षौँदेखि गाउँलेले खानेपानीको समस्या झेल्दै आएको स्थानीयवासी शेरबहादुर श्रीसले बताउनुभयो । “पानी अभाव हुँदा खाना पकाउनदेखि शौचालय जानसम्मलाई समस्या छ”, उहाँले भन्नुभयो । खानेपानीको समस्याले वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत सार्वजनिकस्थल पनि प्रभावित छन् । माइन गाउँ, किम्ले, घोरलचिरे, भुसखाने डाँडा गुहेश्वरी र माझ गाउँमा खानेपानीको बढी समस्या छ ।

यही वर्ष सडक सञ्जाल पुगेको सिसाखानीमा अहिले मुख्य समस्याका रुपमा खानेपानी छ । “सडक आयो, अब हामीलाई खानेपानीको सुविधा चाहिएको छ,” स्थानीय सीता श्रीसले भन्नुभयो । खानेपानी अभावले गृहिणीको दैनिकी बढी कष्टकर बनेको उहाँको भनाइ छ । खानेपानी नहुँदा शिक्षक, विद्यार्थीले घरबाटै पिउने पानी लिएर आउनुपर्ने बाध्यता रहेको सिसाखानी माविका प्रधानध्यापक होमबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार पानी अभावमा विद्यालय परिसर र शौचालयको सरसफाइमा पनि समस्या निम्तने गरेको छ ।

वर्षामा खानेपानीको समस्या केही कम हुने गरे पनि सुख्खायाममा बढी अभाव झेल्नु परेको छ । सिसाखानीको अर्को दुर्गम बस्ती स्याहालामा पनि खानेपानीको चरम समस्या छ । खानेपानीको समस्या समाधानका लागि सङ्घीय र प्रदेश सरकारले बजेटमा सम्बोधन गर्नुपर्ने वडाध्यक्ष खड्ग पुनले बताउनुभयो ।

“सानो आयोजनाले गाउँभरिको माग धान्दैन”, उहाँले भन्नुभयो, “ठूलो बजेटको आयोजना चाहिन्छ ।” गाउँपालिका र प्रदेश सरकारको सहयोगमा खोलाको पानी बस्तीमा पु¥याउन ‘लिफ्््््््ट’ प्रविधिको आयोजना शुरु गरिएको उहाँको भनाइ छ । आगामी वर्ष सञ्चालनमा आउने उक्त आयोजनाले पनि सबै ठाउँमा खानेपानीको सुविधा नपुग्ने जनाइएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय