स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

कृषकले स्वयं जीवन बदलिएको अनुभव गर्ने खालको कार्यक्रम ल्याउँछौँ : मन्त्री खनाल

सेयर गर्नुहोस

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले अहिलेसम्म चल्दै आएको निर्वाह र परम्परागत तथा जीवन धान्ने अवस्थाको कृषि व्यवसायबाट माथि उठ्न किसान आफैँले जीवनमा बदलिएको महसुस हुने खालको कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको ‘कृषकसँग कृषिमन्त्री’ कार्यक्रमको पहिलो शृङ्खलाको काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका–४ नालामा आज भएको छायाङ्कन कार्यक्रममा मन्त्री खनालले किसानले आफ्नै जीवनमा बदलिएको महसुस गर्ने गरी कार्यक्रम ल्याउने बताउनुभयो ।

जिल्लाका विभिन्न क्षेत्रबाट उपस्थित किसानको प्रश्न र जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले उत्पादन गरेको वस्तुलाई बजार लाने, बिक्री गर्ने र बाहिर अन्यत्र लाने विधि थाहा नभएकै कारण विचौलियाको मारमा पर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्ने काम अब सरकारले गर्ने बताउनुभयो । सो क्रममा उहाँले किसानले उत्पादन गरेको वस्तु सरकारले लिने र ढुवानीका लागि साधनको व्यवस्थापनका साथै बजार व्यवस्थापन गर्ने विधिका बारेमा समेत नीति तय गर्न सरकारले छलफल चलाइरहेको बताउनुभयो ।

कृषकहरुले व्यावसायिक र व्यवस्थित ढङ्गले काम नगरीकन किसान माथि उठ्न नसक्ने बताउँदै उहाँले त्यसतर्फ सरकारले योजना बनाइरहेको बताउनुभयो । सो अवसरमा उहाँले किसानलाई सहुलियत ऋणको उचित व्यवस्थापन गर्नका लागि किसानको वर्गीकरण गरी परिचयपत्र वितरण गरेर त्यसका आधारमा ऋण प्रवाह गर्ने व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

उहाँले लिएको ऋणमा सरकारले पाँच प्रतिशत थप्ने र किसानले तीन प्रतिशत मात्र व्यहोर्ने गरी ऋण उपलब्ध गराउने खालको व्यवस्था गर्न परिचयपत्रसहित परियोजना धितो राखेर ऋण प्रवाह गर्ने खालको व्यवस्था ल्याउन लागिपरेको बताउनुभयो । उहाँले सरकारले अहिले कृषिमा युवा कार्यक्रम ल्याउन लागेको बताउँदै अपाङ्ग भएर कृषिमा लागेकाहरु, महिला र सीप सिकेर कृषिमा आएका युवा तथा अन्यलाई समेट्ने गरी नयाँ कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । किसान योगराज दाहालले व्यावसायिक बाख्रापालनका लागि उन्नत जातको बोका÷पाठीहरु पाउन समस्या रहेको बताउँदै त्यसका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

मण्डनदेउपुर नगरपालिका–७ स्थित नौबिसे कृषि सहकारी संस्थाका सदस्य गोविन्दप्रसाद नेपालले उत्पादन गरेको तरकारी बिक्री नभएर बेच्न नसकेको अवस्थामा सरकारले बजार व्यवस्थापन गर्नाका साथै किनी दिनुपर्ने बताउनुभयो । अर्का किसान पाँचखाल नगरपालिका–२ काभ्रेपलाञ्चोकका रामप्रसाद कोइरालाले विचौलियाको अन्त्य गर्ने काममा सरकारले छिट्टै कदम चाल्नुपर्ने बताउनुभयो । खेती गर्ने बेलामा मलखाद र बीउबिजनको उपलब्धता एवं भण्डारणका लागि आवश्यक व्यवस्था गर्नुपर्ने र सबैखाले बाली बीमाको व्यवस्था गर्न उहाँको आग्रह थियो । सो कार्यक्रम सातैवटा प्रदेशभित्र रहेका कृषि क्षेत्रका अवसर र चुनौती, किसानको समस्याको समाधान, सरकारका कार्यक्रमलाई स्थानीय तहसम्म पु¥याउने तथा सङ्घीय र प्रदेश सरकारले बनाउने कृषि क्षेत्रको नीति योजना कार्यक्रमलाई कृषिमैत्री बनाउन सहयोग गर्ने उद्देश्यले गर्न लागिएको बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -