तिंकर सडक निर्माण तीव्र तिंकर सडक निर्माण तीव्र



व्यास गाउँपालिका–५ धौलाकोटका रतनसिह धामी यो साता धौलाकोटको नाजीसम्म ट्रयाक्टर पुग्दा निकै खुसी हुनुभयो ।

तीन जना ट्रयाक्टर व्यवसायी, सडक निर्माण गरिरहेको महालक्ष्मी कन्सर्टक्सनका प्रतिनिधिलाई गाउँमै फुलमाला लगाएर भव्य स्वागत गर्नुभयो । खुसीयालीमा खसी काटिए ।

गाउँमा भोजको आयोजना गरियो । वर्षौदेखि तुइनमार्फत खाद्यान्न ओसारपसार गर्दै आएका स्थानीयको घर नजिकै नेपालको सडक भएर खाद्यान्न ढुवानी हुन थालेपछि गाउँभरी खुसीको माहोल छायो ।

एक दशक अघिबाटै दार्चुला तिंकर सडकको नाम सुनेका ब्यासीवासीले घर नजिकैबाट सडक बनिरहेको, गाउँमा सवारी साधन गुड्न थालेकोमा खुसी मनाएका छन् । “सडक अहिले नै पुग्ला भनेर सोचेको थिएन”, धामीले भन्नुभयो, “यो वर्ष सडक योजना कार्यालय, ठेकेदार सबैको सहयोगले सडक चाडो पुग्यो ।” अस्थायी ट्रयाक खुलाइएको भएपनि ट्रयाक्टर चल्न थालेका छन् ।

भारतीय बजारबाट तुइनमार्फत खाद्यान्न लगायतका सामाग्री ल्याउँदा ल्याउँदा हैरानी खेपिरहेका बेला नेपालतिरको सडकले गति लिएकामा पूरै गाउँमा खुसीयाली छ । “तुइनको विकल्पको रुपमा स्थानीयले सडक हेरेका छन्”, पहिलो पटक धौलाकोटको नाजीमा ट्रयाक्टर पु¥याउनुभएका व्यवसायी चक्रबहादुर बमले भन्नुभयो । विगतको भन्दा अहिले सडकको काम राम्रो छ । तीन ठाउँमा सडक सुधार गर्नुबाहेक ट्रयाक्टर नियमित चल्छन् ।

अहिले दिनहुँ खाद्यान्न ढुवानीको माग बढ्दो रहेको बमले बताउनुभयो । पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले फेसबुकमा लेख्नुभएको छ, “तुइन विस्थापन गर्ने उत्तम विकल्प भनेकै दार्चुला तिंकर सडकको दु्रत निर्माण हो, हाल निर्माण भइरहेको खलंगादेखि सुनसेरासम्मको सडक कालोपत्रे गरिनुपर्ने, दुम्लीङदेखि तिंकरसम्मको सडकको निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने विषयमा नेताहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भए म पनि ताली पिटेर स्वागत गर्थे ।”

दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले पटक पटक उक्त सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने आवाज उठाइरहनुभएको छ । अहिले उहाँको मागमा अब जनस्तरबाटै आवाज उठ्न थालेको छ । उक्त सडक योजना प्रमुख अच्युतविलास पन्तले निर्माणाधिन दार्चुला तिंकर सडकको सुधार गरिँदै लगिने बताउनुभयो । उहाँका अनुसार केही ठाउँमा सडकको चौडाइ बढाउनुपर्ने र केही ठाउँमा ‘लेवल’ मिलाउनुपर्ने छ ।

संघीय सडक सुपरिवेक्षण अनुगमन कार्यालय सुर्खेतका क्षेत्रीय प्रमुख घनश्याम गौतमले उक्त सडकको अनुगमन गरी सडक सुधार ग्रेड मिलान तथा निर्माण कार्यमा तिव्रता दिन निर्देशन दिनुभएको छ । विगतमा कामको जिम्मा लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई तत्काल काम गर्न निर्देशन गर्नुभएको छ । अहिले निर्माण भइरहेका सडकलाई सुधार गर्दै अघि बढ्न सुझाव दिइएको योजना प्रमुख पन्तको भनाई छ । एक वर्षमा १५ किलोमिटर ट्रयाक खुल्यो एक दशकदेखि गति नलिएको उक्त सडकले चालू आर्थिक वर्षमा भने गति लिएको छ । निर्माण शुरु भएको दश वर्षमा कुल ४० किलोमिटर सडकको ट्रयाक खोलेकामा चालू आर्थिक वर्षमा मात्रै १५ किलोमिटर ट्रयाक खुलाइएको हो ।

विगतको तुलनामा यो वर्ष कामले गति लिएको छ । सदरमुकाम खलंगादेखि सुनसेरासम्म कुल ४० किलोमिटर सडक छ । चालू वर्षमा दुहुँ गाउँपालिकाको पिपलचौरीस्थित विजयपुर भीरदेखि सुनसेरासम्मको १५ किलोमिटर सडक ट्रयाक खुला गरिएको दार्चुला तिंकर सडक योजनाका योजना प्रमुख पन्तले जानकारी दिनुभयो । उक्त सडक व्यास गाउँपालिका केन्द्र सुनसेरासम्म पुग्न झण्डै दुई किलोमिटर मात्रै बाकी छ । निर्माण कार्य चालू भएको हुँदा दुईसाताभित्रै सुनसेरासम्म ट्रयाक खुलाइने बताइएको छ ।

यो वर्ष बझाङको कालंगाड जलविद्युत आयोजनाबाट नौ हजार ती सय किलोग्राम जिलेटिन सापटी ल्याएर काम गराइएको हो । यो सडक निर्माणपछि व्यासका वडा नं ६, ५, ४, ३, र २ का स्थानीयलाई आवत जावतमा सहज हुने गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो । कच्ची सडक भएपनि आफ्नै देशको बाटो भएर यात्रा गर्न सजिलो हुने उहाँले उल्लेख गर्नुभयो । महाकाली करिडोरको ८८ किमि ट्रयाक खुल्यो कञ्चनपुरको ब्रह्मदेव देखि दार्चुलाको तिंकरसम्मको नाका जोड्ने गरी निर्माण भइरहको महाकाली करिडोरको ८८ किलोमिटर ट्रयाक खुलाइएको छ ।

गत वर्षबाट निर्माण कार्य शुरु भएको करिडोरले यो वर्ष गति बढाएको छ । कञ्चनपुर हुँदै, डडेल्धुरा, बैतडी र दार्चुला गरी चार जिल्ला जोड्ने गरी करिडोर शुरु गरिएको हो । चीनको तिब्बत जोड्ने गरी सो करिडोर निर्माण थालिएको छ ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म ४२५ किलोमिटर लामो सडक निर्माण गर्न सके सुदूरपश्चिम प्रदेशको उत्तरी नाका व्यापारीक दृष्टिकोणले महत्वपूर्ण सडक बन्ने योजना प्रमुख अच्युत पन्तले बताउनुभयो । पञ्चेश्वर बन्ने हल्लाले सडक घुमाउँदा लम्बाई बढेपछि दिर्घकालीन रुपमा तिब्बत जोड्न र धार्मिक पर्यटकीय दृष्टिकोणले सो सडक सहज हुने छ । अहिले महाकाली करिडोरमा लामा चन्द्र एण्ड बसन्त निर्माण सेवाले काम गरिरहेको छ । सो करिडोरअन्तर्गत बैतडीको बाराकोट भटालामा १७ किलोमिटर, गाँजरी–सिल्लेकमा १७ किलोमिटर, सलेना–धरमघरमा १० किलोमिटर र बेत–जोलजिवीमा १० किलोमिटर तथा दार्चुला–राताकाठामा ७ किलोमिटर ट्रयाक खुलाइएको छ ।

डडेल्धुराको जोगबुडा–कुँणा–ब्रहम्देव १७ किलोमिटर सडक सञ्चालनमा आएको छ । सडक निर्माण गर्नुपूर्व हुनुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम सुरु गरिएको छ । विगतमा महाकाली करिडोरको ईआइए नहुँदा सडक निर्माणमा ढिलाई भएको थियो ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्मको कुल दुई सय ९१ किलोमिटर सडक खण्डको ईआइए शुरु गरिएको योजना प्रमुख पन्तले जानकारी दिनुभयो । वनजंगलको हिसाबले कञ्चनपुर र डडेल्धुरा क्षेत्रमा बढी वन क्षेत्र पर्छ । महाकाली करिडोरमा जिइओसिई कन्सल्टेन्सले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु गरेको हो । जिईओसीका कार्यक्रम संयोजक लक्ष्मीकान्त मण्डलका अनुसार अहिले तिव्र रुपमा प्रभाव मूल्यांकनको काम सुरु गरिएको छ । सो करिडोर अन्तर्गत गत वर्ष रु १९ करोड ९८ लाख ९५ हजार रुपैयाँ खर्च भएको थियो । चालू आर्थिक वर्षको हालसम्म रु ३९ लाख रुपैयाँ बजेट खर्च भएको बताइएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय