स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

मुक्त कमैया शिविरमा पानीको हाहाकार

सेयर गर्नुहोस

कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरको मुक्त कमैया शिविरमा पानीको हाहाकार भएको छ ।

बिहीबार बेलुकी बस्तीमा रहेको धारामा पानीमा लाइन बसेकी अनिता विकलाई हरेक दिन पानीका लागि लाइन बस्नु बाध्यता बनेको छ । “गर्मीयामका तीन महीना त प्यास मेटाउनै मुश्किल पर्छ”, धरमपुरकी विकले भन्नुभयो, “मुक्तभएपछि यहाँ बसेयता पानीको समस्या हरेक वर्ष झेल्नुपरेको छ ।” फागुनदेखि असार महीनामा आकाशबाट पानी नपरुञ्जेलसम्म बस्तीमा पानीको समस्या हुने गरेको विकको भनाइ छ ।

“सयौँ परिवार रहेको गाउँमा मुश्किलले दुई÷तीन वटा नल्का (धारा) मा थोरथोरै पानी आउँछ”, उहाँले भन्नुभयो, “यहाँ राति १२ बजेसम्म पानी भर्न धारामा बस्नुपर्ने बाध्यता छ ।” त्यसैगरी बस्तीकै सुनिता थारुले पनि पानीकै कारण बस्तीभरि समस्या रहेको बताउनुभयो । “कमैयाबाट मुक्त भएपछि स्वतन्त्र भएको आभास त भयो”, थारुले भन्नुभयो, “तर सामान्य सुविधासमेत बस्तीमा नहुँदाको पीडा हामीलाई मात्रै थाहा छ ।

” सिँचाइको अभावले करेसाबारीमा तरकारी फलाउन पनि समस्या हुने गरेको मुक्तकमैया बस्तीका स्थानीयवासीको दुखेसो छ । “जहिल्यै तरकारी किनेर खानुपर्छ”, उहाँले भन्नुभयो, “कृषिमै निर्भर रहेपनि थारु समुदाय मजदूरी गरेर परिवार पाल्दैछन् ।”

विसं २०५८ मा पुनःस्थापना भई शिविरमा बसेयता पानीको समस्या रहेको स्थानीय लक्ष्मी औजीले बताउनुभयो । बस्तीमा पानीका लागि बोरिङ जडानको काम भइरहेको भए पनि त्यसको निर्माण गति सुस्त रहेको उहाँको भनाइ छ । “अठार वर्षदेखि यहाँ पानीको समस्याबाट मुक्त हुन सकेनौँ”, औजीले भन्नुभयो, “हाम्रो बस्तीसम्म पनि स्वच्छ खानेपानी पुग्ला र ?” स्थानीय कल्पना डगौराले पानी नहुँदा नुहाउन र लत्ताकपडा धुन टाढाको खोलामा जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -