आलेख : गाईपालनमा रमाए युवा आलेख : गाईपालनमा रमाए युवा



सन्दकपुर गाउँपालिकास्थित जमुनाका केवल राई बिहान ६ बजेभन्दा पहिले नै किसानका गोठ–गोठमा पुग्नुहुन्छ ।

आफ्नो गोठको गाईको दूध दोहेर घरकै डेरीमा खन्याएपछि उहाँ अरूका गोठमा पनि दूध लिन पुग्ने गर्नुहुन्छ । गाउँका दुई जनासहित केवल मिलेर गाउँभरिको दूध सङ्कलन गर्नुहुन्छ र दिउँसो घरमै दूध पेलेर घीउ र छुर्पी बनाउनुहुन्छ ।

यो पनि छुटाउनु भयो कि ?


घरमै डेरी सञ्चालन गरेका केवलले एक दिनमा २५० लिटर दूध पेल्नु हुन्छ र त्यहाँबाट बनेको छुर्पी र घीउ बेच्नुहुन्छ । केवलले डेरी मात्र नभई ‘होलिस्टेन’ जातका चारवटा गाईसमेत पाल्नुभएको छ । गाउँमै गाई फार्म र डेरी चलाउनुभएका केवल अहिले यसैमा सन्तुष्ट हुनुहुन्छ । यसैबाट उहाँको घर खर्च चलेको छ भने केही रकम लगानीसमेत गर्नुभएको छ ।

लामो समय विदेश बसेर गाउँ फर्कनुभएका केवल फेरि विदेशिने मनसायमा पनि हुनुहुन्न । राम्रो आम्दानी गरेर गाउँमै केही गर्ने सोच पालेका केवल गाउँका अन्य युवालाई पनि विदेश नजान सल्लाह दिनुहुन्छ । “यही सानो डेरीबाटै म महीनामा ३०–३२ हजार मज्जाले कमाइरहेको छु,” विगतको सशस्त्र द्वन्द्वको जगजगीले २५ वर्षकै उमेरमा विदेश जानुपरेको व्यथा सुनाउँदै केवल भन्नुहुन्छ – “माओवादी द्वन्द्वकै कारण विदेश लागियो । कमाई पनि सामान्य भयो नै तर, गाउँमै केही गरौ भनेर यसमा लागेको हुँ ।”

गाउँका अन्य गाई फार्म चलाउने किसानसँग मिलेर केवल अहिले जिल्लालाई खोरेतमुक्त पार्ने योजनामा हुनुहुन्छ । विदेशमा नेपालको छुर्पी तथा घीउ बेच्दा पनि गाईमा खोरेत भए नभएको बुझ्ने भएकाले खोरेतमुक्त गर्न अभियान शुरु गरेको उहाँ बताउनुहुन्छ । “हामी धेरैजसो यहाँ उत्पादित घीउ, छुर्पी जापान पठाउँछौँ,” उहाँले भन्नुभयो – त्यहाँ खोरेत रोग लागेको गाईको दूध किन्दैनन् । त्यसैले हाम्रो ठाउँलाई खोरेतमुक्त गर्नुपर्छ ।”

इलामको जमुनामा मात्र अहिले १९ वटा डेरी उद्योग सञ्चालनमा रहेको स्थानीय कुमार गुरुङले जानकारी दिनुभयो । जमुनाको एउटा गाउँमा मात्र पाँच डेरी उद्योग सञ्चालित छन् । सीमा क्षेत्रका डेरीले उत्पादन गरेको छुर्पी, घीउ जिल्लाका विभिन्न बजार र भारतको दार्जिलङ, मिरिक, सिलिगुढीसम्म पुग्ने गरेका छन् । यस्तै, फाकफोकथुम गाउँपालिकास्थित साप्तीनका कमल शर्माले पनि नौ वर्ष अघि घरमै डेरी र गाई फार्म थाल्नुभयो ।

राम्रो आम्दानीको आशा राख्नुुभएका कमलले सोचे जस्तो कमाइ नभएपछि एक वर्षपछि नै मलेसिया हानिनुभयो । भाइ किशोर शर्मालाई डेरी र फार्मको जिम्मा दिएर विदेशिनु भएका कमल करीब सात वर्ष उतै बस्नुभयो । लामो समय विदेशमा रहे पनि अपेक्षाकृत कमाइ नभएपछि कमल फेरि गाउँ फर्किएर पुरानो व्यवसाय शुरु गर्नुभयो । त्यस बेला ५० हजार रुपैयाँ लगानीबाट शुरु गरेको फार्म अहिले २५ लाखको भएको छ भने डेरी पनि १५÷१६ लाख रुपैयाँको भएको छ । फार्ममा ठूलै खालका छ वटा गाई छन् भने डेरीमा पनि अरू तीन जना कामदार राखेर उहाँ काम गरिरहनुभएको छ ।

कमल आफ्नो गाई फार्म र डेरीबाट अहिले सन्तुष्ट हुनुहुन्छ । भर्खरै विवाह समेत गर्नुभएका उहाँको घर खर्च टार्ने माध्यम मात्रै होइन सबथोक नै डेरी र फार्म हो । “अहिले त प्रदेशमा १० लाखको प्रपोजल हालेको छुँ, त्यो प¥यो भने तीन वटा गाई थप्ने योजनामा छुँ,” कमल भन्नुहुन्छ –“गाईको मलमूत्रबाट हुने सब्जी खेती पनि थालेको छु । सबै थोक गर्दा त कसरी कमाइ नहोला ?” कमल डेरीमा अहिले घरको सहित २५० लिटर दूध पेल्नुहुन्छ । त्यसबाट उत्पादित छुर्पी विदेश पठाउनहुन्छ भने घीउ गाउँकै बजारमा बेच्नुहुन्छ ।

लामो समय विदेश बस्नुभएका कमल फेरि विदेशिने सोचमा हुुनुहुन्न । उहाँ भन्नुहुन्छ – “विदेशमा गर्ने परिश्रम जति यही गरियो भने कमाइ राम्रै गरिन्छ । दुःख जहाँ पनि गर्नै पर्छ ।” उहाँले थप्नुभयो – “विदेश जान लाग्ने लगानी चाहीँ यही खन्याइयो भने परिवारसँगै बसेर दुःखसुख गर्न पनि हुन्छ ।” केवल र कमल मात्र होइन । यहाँका धेरै युवा विदेशिनुको सट्टा गाउँमै उद्यम गर्नतिर लागेका छन् । उनीहरू गाउँमै लगानी गर्छन् र गाउँमै काम गर्छन् ।

पछिल्लो समय त स्थानीय तह, सम्बन्धित सङ्घ संस्थासँग समन्वय गरेर काम गर्न थालेका छन् उनीहरुले । यसले गर्दा केही लगानी अन्यत्रबाट पनि थपिने गरेको छ । केहीले तालीम समेत लिने गरेका छन् । विशेष गरी युवा पछिल्लो समय डेरी उद्यमतर्फ आकर्षित भएको पाइएको छ ।

युवा व्यवसायीलाई उत्प्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएपछि धेरैजसो फार्म र डेरी उद्योग शुरु भएको घरेलु तथा साना उद्योग विकास समितिका नायब सुब्बा खड्ग बस्नेत बताउनुहुन्छ । विभिन्न निकायबाट अनुदान पनि पाइने र उद्यमशीलतासम्बन्धी स्तरोन्नतिको तालीम दिइनाले त्यसप्रति आकर्षण बढेको बस्नेतको भनाइ छ । यसै आर्थिक वर्षमा मात्रै पनि घरेलुबाट १२ वटा तालीम दिइसकिएको छ ।

“हामीले दिने तालीमबाट डेरी उद्यमीहरूको क्षमता विकास पनि हुने र सहुलियतमा ऋण पाउन पनि सकिने भएकाले धेरै जना तालीम दिनुहोस् भन्दै आउनुहुन्छ,” बस्नेतले भन्नुभयो – “अन्य कार्यालयमा दर्ता गर्न पनि घरेलुको तालीम दिइएको प्रमाणपत्र चाहिने भएकाले धेरै युवा तालीम लिएर नै उद्यममा लाग्ने गर्नुभएको छ ।”

उहाँका अनुसार कार्यालयले वैदेशिक रोजगारीबाट आएका युवालाई विशेष प्राथमिकतामा राख्ने भएकाले पनि एक पटक पलायन भएका युवा आएर उद्यमी बन्ने गरेका छन् । विशेष गरी छुर्पीमा थोरै लगानीले धेरै आम्दानी गर्न सकिने भएकाले पनि त्यसतर्फ आकर्षण बढेको बस्नेत बताउनुहुन्छ । कार्यालयबाट पनि उद्यमशीलताका साथसाथै दुग्ध परिकार बनाउने शीप सिकाउने र उद्यमशीलताबारे परामर्श दिने गरिएको छ । तालिम लिन खर्च नलाग्ने र तालीम पछि सजिलै काम गर्न सकिने भएकाले युवाको आकर्षण यसप्रति बढेको हो ।

तालीम मात्र नभई प्रविधि किन्न पनि कार्यालयले आर्थिक सहयोग दिन्छ । इलाममा अहिलेसम्म २०० वटा डेरी उद्योग दर्ता भइसकेको घरेलु तथा साना उद्योग विकास समिति इलामले जनाएको छ । आव २०७४÷७५ मा २४ वटा उद्योग दर्ता भएकामा २०७५÷७६ मा २२ नयाँ उद्योग दर्ता भएका छन् । नासु बस्नेतका अनुसार चालु आर्थिक वर्षमा अझै डेरी दर्ता हुने समय रहेकाले गएको वर्षमा भन्दा बढ्ने अनुमान छ । वर्षको अन्त्यमा बढी उद्योग दर्ता गर्ने गरिएकाले यस वर्ष पनि उल्लेखनीय रूपमा डेरी बढेको बस्नेतको भनाइ छ ।

उहाँले भन्नुभयो – “हामीले गाउँ–गाउँमा सीप सिकाउन तालीम दिने गरेकाले ग्रामीण क्षेत्रमा डेरी खोल्ने क्रम बढेको छ ।” जिल्लाका सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा बढी डेरी उद्योग सञ्चालनमा रहेको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

हालसम्म सूर्योदय नगरपालिकामा १५ वटा र सन्दकपुर गाउँपालिकामा २० वटा डेरी सञ्चालनमा छन् । विशेष गरी विदेशबाट गाउँ फर्केका युवाले डेरी उद्यममा चासो देखाएको देखिन्छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो / टीभी

यो पनि पढ्नुहोस