स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

जैमिनि भारत बालुन माथि विहङ्गम दृष्टि पुर्‍याउँदा

सेयर गर्नुहोस

 

काठमाडौँ। साहित्यकार पतञ्जलि गजुर्‍यालले नेपाली साहित्यको मध्यपूर्वकालमा निगालाको टुँडो प्रयोग गरी र चना गर्नुभएको, वर्तमानयुगमा छापामा प्रकाशन भएका ग्रन्थहरु मत्र अध्ययन गरेका सर्वसाधारणलाई दुर्वोध्यभाषाको रुपमा रहेको, अनकण्टार कुनामा पाना पानामा थन्किएर रहेको दुर्लभ ग्रन्थ खोज अनुसन्धान गरी सुवोध्य भाषामा, पद्यशैलीमा परिमार्जन गरेर साहित्यकार धर्मराज अर्याल श्रमिकले आधुनिक छापामा प्रकाशन गर्नुभएको द्वापरयुगको घटना यस बालुनमा उद्घाटित हुन गएको छ ।

व्यासका मुख देखि निक्लेका धारा
जैमिनिले लेखेका सारा
जस्ले भन्लासुन्ला क्या छोला पापले
पोल्ला क्यान संसार तापले ।।१।१५।

राजा जन्मेजयको जिज्ञासा मेटाउन जैमिनि ऋषिले वेदव्यास र युधिष्ठिर बीच भएको वार्ता जन्मेजयलाई आद्योपान्त बताउनु भएको कारण ‘जैमिनि भारत” नामाकरण भएको यो बालुनमा महाभारतको अठारपर्व मध्ये अश्वमेध पर्वको घटना मुख्य विषयबस्तुका रुपमा बालुनको लयमा वर्णन हुन गएको छ । नेपाली साहित्यको मध्यपूर्वकालमा कृष्णभक्ति धारामा सोह्र शतकमा रचना हुन गएको यो बालुनको सुरुआत सिद्धि गणेशको मङ्गला चरणबाट, शतकको अन्त्य भगवान श्रीकृष्णकोस्तुती गानबाट र बालुनको अन्त्य कृष्णभगवानकै आरती गाएनबाट भएको छ ।
पाँचपाण्डवको कुरुक्षेत्रमा भएको युद्धमा गोत्रहत्या भएको पापमोचन गर्न अश्वमेघ यज्ञगर्ने निधो गरेर चैत्र पूर्णिमाको दिन कानकालो, आङसेतो, पुच्छर पहेलो भएको घोडा छोडेपछि त्यो घोडा काहाँ–काहाँ पुग्यो र के के घटनाघटे भन्ने चमत्कारपूर्ण कुराहरु, अनौठा कथाहरु, मृत्युपर्यन्त भएको बाबुछोराहरुको युद्ध आदि घटनाहरु रोचक ढङ्गले यस बालुनमा वर्णन भएको छ ।
उल्लेख हुन गएका प्रमुख घटनाहरुमा ऋषिपत्नी चण्डीको अनौठो बानी जस्तोः

“विग्रीगयो बानी भइन्तरुनी 

अह«ायाको मन्दि मैनन् ।
पानील्या भन्या गाग्रै फोरी दिन्या
फुल्टिप् भन्या रुख् काट. दिन्या”
त्यस्तै राजकुमार सुधन्वालाई पाक्दो तेलको कराहीमा हाल्दा झन् शितल भएकोकहानीः
“ठण्डा जलै झञि भयो त कराहि तेल्को
श्रीकृष्णका स्मरणको हेर भूप झल्को ।
लाग्या ती खेल्न ताहँ हरिनाम गाइ
उज्ज्वल नयन अति उज्यालो मुहार गराइ”

त्यसै गरी छोडिएको घोडा पानीखान पोखरीमा पस्ता घोडी भएको र पुनः अर्को पोखरीमा पस्दा बघिनी भएको चमत्कार पूर्ण घटनाको वर्णनः
जाँदा जाँदा ठुलो पोखरी आयो
घोडाले गै पानी खायो ।
उत्रदा पाखामा भएछ घोडी
उदेकाया हिक्मत छोडी ।।
हिड्यो ताँहा देखी नी लाग्या पछि
अर्को पोखरीमा त्यो पसी ।
बघिनी भै निस्की घोडी त्यै नेरा
सब् बीर्ले सुस्केरा हाल्या ।।
अर्को घटना साहसी स्वास्नी मानिसहरु मात्र भएको देशको वर्णनको नमूनाः
जस्देशमा स्वास्नी छन् राजा र काजी
लस्कर सर्दार पनि ताजी ।
और्देदेशको मानिस गये मैना दिन्मा
प्राणै छाडी हाल्न्या छिन्मा ।

चमत्कारै चमत्कार पूर्ण घटनाहरुमा मानिस फल्ने रुखको कथन जुन रुखमा फलेका मानिस विहान बालक दिउँसो जवान र साँझमा बृद्धभै मर्ने अनौठो दृष्यका साथै हात्ती घोडा भेडा बाख्रा पनि रुखमा फलेका उदेक लाग्दो दृष्य यसरी उल्लेख भएको छ ।

घोडाले त लियो बायुको भेस
पुग्यो भानिस फल्न्या देश ।
रुखमा देख्या सबै वीर्ले तमासा
हात्ती घोडा मानिस बाख्रा ।।
विहान बालक मध्यन्ह यौवन्
बुढा भै साँझमा गिन्र्या ।

घटना अघि बढ्दै जादा अनौठो ब्रत लिने राक्षसको कहानी आइपुग्छ राक्षसले मान्छेका आन्द्राको जनै लाउने टाउकाको माला लाउने, आखाँको कण्ठी लाउने, चतुर्मासाको ब्रत साउनमा रक्सी र तातो रगत मात्र खाने, भदौमा जोगीको रगतमात्र, असोजमा जटाधारीको रगत मात्र, कार्तिकमा कन्याको मात्र रगत खाइ ब्रत लिने । त्यसैगरी चारकोष लामा दूध हुने राक्षस्तीहरुको कथन जस्तैः यसरी रचिएको छ ।

अर्किवोली तेरो क्या यस्तो वुद्धि
चारकोष लामा मेरा दुद् यी ।
काँधमा हालेर हिड्दछु षुस्ले
क्या चाट्दछ अर्जुन भुसले ।।

लव, कुश र रामको ब्रबुवाहन र अर्जुन बाबु छोराहरुको हृदय विदारक घोर युद्धमा छोराहरुको विजय, विभिन्न संख्यामा टाउका भएका नागहरु सँग बब्रुबाहनले युद्ध गरी नागमणि ल्याएर बाबु अर्जुन लाई बचाएको पौराणिक कहानीको वर्णन । त्यसै गरी मानिसमा लाग्ने विभिन्न किसिमका रोगहरु र तिनको निदानका उपाएहरु, मानिस मर्नु पूर्व देखापर्ने अपशकुनहरु र त्यस्ता कुरा देखेपछिको मृत्यु हुने समय पनि यसमा वताइएका छन् । साथै असल नियत राखेर गरेका कामको परिणाम फलदायी हुने र खराव नियत राखेर गरेका कामको परिणाम दुःखदपूर्ण हुने उदाहरणहरु पनि यसमा समावेश हुन गएका छन् । त्यसैगरी चार मुखदेखि हजार मुख सम्म भएका ब्रह्माहरुको रहस्य, घमण्डले गरिएको यज्ञदानमा ठूलो खर्च भए पनि त्यसको फल नमिल्ने र सद्भावपूर्ण दान यज्ञमा थोरै खर्चमा पनि असंख्य फल मिल्ने उदाहरणहरुको उपाख्यान यस बालुनमा मनोरञ्जनात्मक तरिकाले वर्ण भएको छ ।
यस बालुनले तत्कालिन नेपाली समाजको प्रत्याभूति दर्शाएको हुँदा आजका युवा पिँढीले गहिरीयर अध्ययन गरेमा आधुनिक वैज्ञानिक उपलब्धिमा मात्र नभुली आफ्नो संस्कार संस्कृति र नेपाली पनको पनि खोजि गर्ने छन् भन्ने महसुस हुन गएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -