स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

कृषिमा निजी क्षेत्रको लगानी आवश्यक : मुख्यमन्त्री पोखरेल

सेयर गर्नुहोस

परासी, २१ वैशाख : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कृषिको आधुनिकीकरण र व्यावसायिकरणमा योगदान गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ ।

पश्चिम नवलपरासीको परासीमा आज साँझ आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ को दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कृषिमा लगानी गर्न आह्वान गर्नुभएको हो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले कृषिको सुधारबाटै समृद्धि सम्भव छ भन्ने मान्यता लिएको छ, कृषिको सुधारका लागि सहज पनि छैन तर निजी क्षेत्रको लगानी आवश्यक छ, कृषिको व्यावसायिकरण, आधुनिकीकरण र बजारीकरणमा तपाईसँग हामी हातेमालो गर्न चाहन्छौँ ।”

मुख्यमन्त्री पोखरेलले उद्योगी व्यवसायीको ध्यान उद्योग व्यवसायको प्रवद्र्धनभन्दा सङ्गठनात्मक राजनीतिमा बढी देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल गर्न सकिने भन्दै उहाँले निजी क्षेत्रप्रतिको सरकारको दृष्टिकोण सकरात्मक रहेकोले शङ्का नगर्न पनि आग्रह गर्नुभयो । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखेको बताउँदै भन्नुभयो, “आगामी पाँच वर्ष भित्रमा ९.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न र गरीबीको दरलाई दश प्रतिशतमा झार्ने गरी प्रदेश सरकारले आवधिक योजना बनाएको छ, त्यसमा रु ११ खर्ब ९८ अर्ब लगानी चाहिन्छ, निजी क्षेत्रबाट मात्रै ६२.६ प्रतिशत लगानी हुने हामीले विश्वास लिएका छौँ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानीको लागि अभिप्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीले पनि अब समृद्ध मुलुक निर्माणका लागि जोखिम मोलेर लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारीले प्रदेश नं ५ मा औद्योगिक क्षेत्रको लागि प्रचुर सम्भावना भएकोले लगानी बढाउने वातावरण तयार गर्न आग्रह गर्नुभयो । साधारणसभामा प्रदेश नं ५ का १२ जिल्लाका ३४ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -