स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

वनमा आगलागी हुँदा सयौँ हेक्टर वन सखाप

सेयर गर्नुहोस

डोटी, १६ वैशाख : जिल्लाका बिभिन्न सामुदायिक तथा कबुलियती वनमा आगलागी भएको छ । एक हप्ता देखि यहाँका वनमा आगलागी हुँदा सयौँ हेक्टर वन सखाप हुन थालेको छ ।

जिल्लाका ग्रामिण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरी कम्तीमा पनि ७४४ हेक्टर वन सखाप भएको डिभीजन वन कार्यालय डोटीले जनाएको छ । डिभीजन वन कार्यालयका निमित्त वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार यहाँका सामुदायिक तर्फका कम्तिमा पनि ४५, कबुलियती तर्फका दुई तथा अन्य केही सरकारी वनमा आगलागी भएको छ ।

आगो निभाउने प्रयास गरिए पनि नियन्त्रणमा आउन नसकेको निमित्त वन अधिकृत डिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला केही दिन यता पानी नपरेकाले पुरै जंङ्गल सुख्खा छ, आगो निभाउने भरपुर प्रयास भएपनि सकिएको छैन्, निभाउने प्रयास भइरहेको छ ।” जिल्लामा ३६६ सामुदायिक वन र १९६ कबुलियती वन छन् ।

धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्टयान र बिरुवा सखाप भएका जोरायल गाउँपालिका ५ गड्सेरा स्थित मसानी सामुदायिक वनका कोषाध्यक्ष दुर्गादेबी विष्टले बताउनुभयो । आगलागी सम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ ।

वनमा आगो लाग्दा आँखा चिलाउने, सास फेर्न अप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिने जस्ता समस्या आउन थालेको जोरायल गाउँपालिका २ का रामबहादुर मल्लले बताउनुभयो । चुरोट खानेहरुका कारण आगलागी हुने गरेको कतिपएको बुझाई छ । जिल्लामा बाक्लो तथा घना जंङ्गल भएका कारण एक ठाउँमा लागेको आगो सहजै अर्को ठाउमा सर्ने गरेकाले पनि वर्षेनी वन सखाप हुदै आएको रानीवन सामुदायिक वनका अध्यक्ष तिर्थराज भण्डारीले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -