स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

उत्तर कोरियाली नेता किम जङ–अन रुसको भ्लादिभोस्तकमा

सेयर गर्नुहोस

भ्लादिभोस्तक, ११ वैशाख  : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुग्नु भएको छ ।

राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरिसकेको छ । यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले पत्रकारलाई बताउनुभएको छ । तर उहाँले दुई देशको संयुक्त वक्तव्य वा कुनै सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नरहेको बताउनुभयो । गत फेबु्रअरीका भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किमको यो पहिलो भेटवार्ता हो ।

किमले बुधबार बिहान सबेरै निजी रेलबाट भ्लादिभोस्तकतर्फ लाग्नुभएको उत्तर कोरियाली समाचार समिति केसीएनएले जानकारी दिएको थियो । किमलाई रुसी सीमा शहर खसानमा स्थानीय नागरिकले परम्परागत शैलीमा भव्य स्वागत गरेको रुसी समाचार समितिले जानकारी दिएको छ । देशमाथि लागेका आर्थिक प्रतिबन्धका कारण सङ्कटमा परेका किमले गत वर्षदेखि कुटनीतिक गतिविधिलाई तिब्रता दिनुभएको छ । रुसी राष्ट्रपति पुटिनले नेता किमलाई रुस भ्रमणका लागि निम्ता गर्नुभएको थियो । नेता किमका हजुरबुबा एवं उत्तर कोरियाका संस्थापक किम इल–सुङ र बुबा किम जोङ–इलले पनि विगतमा रुस भ्रमणका क्रममा भ्लादिभोस्तकको भ्रमण गर्नुभएको थियो । रुस र चीनको सहयोगमा उत्तर कोरियाली कम्युनिष्टहरुले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए ।

सोभियत युनियनले उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध बढाउन थालेको भन्दै उत्तर कोरियालाई प्रदान गर्ने वार्षिक सहायतामा सन् १९८० को दशकबाटै कटौती गर्न थालेको थियो । तर सन् १९९० को दशकमा सोभियत सङ्घको बिघटनपछि यस्तो सहायता लगभग बन्द भएको थियो । विश्व समुदायबाट अलग्गिएको उत्तर कोरियाका धेरै नागरिक रुसका पूर्वी शहरहरुमा रोजगारीका लागि पुग्ने गरेका छन् । रुसको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएलगत्तै राष्ट्रपति पुटिनले दुबै देशबीचको सम्बन्धलाई सामान्यीकरण गर्न तत्कालीन उत्तर कोरियाली नेता किम जोङ–इलसँग तीन पटक भेट गर्नुभएको थियो ।

उहाँहरुबीचको पहिलो भेट सन् २००० मा उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको थियो । राष्ट्रपति पुटिन उत्तर कोरिया भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति पनि हुनुभएको थियो । रुसी सहायता रोकिएपछि एक्लो भएको उत्तर कोरियालाई चीनले मद्दत गर्न थालेको थियो । पछिल्ला वर्षहरुमा उत्तर कोरियाको सबैभन्दा ठूलो दाता, व्यापारिक साझेदार र इन्धनको मुख्य आपूर्तिकर्ता चीन नै भएको छ । विश्लेषकहरुले किमले बेइजिङको बढ्दो प्रभावलाई सन्तुलनमा ल्याउने प्रयास थाल्नुभएको छ । सियोलस्थित उत्तर कोरियाली अध्ययन केन्द्रका विश्लेषक जियोङ योङ–ताईका अनुसार उत्तर कोरियाको जुछे सिद्धान्तमा नै एउटा शक्तिसँग मात्र निर्भर हुनु हुँदैन भनेकाले उत्तर कोरियाले अरु देशसँग सम्बन्ध बढाउनु स्वाभाविक हो ।

नेता किमका बुबा किम जोङ–इलले सन् २०११ मा रुसी राष्ट्रपति डिमित्री मेडभेडेभसँगको भेटवार्तामा रुस र उत्तर कोरियाबीचको सम्बन्ध सुमधुर हुने बताउनुभएको थियो । नेता किम जोङ–इलले रुसी राष्ट्रपतिलाई रुसी सहयोग प्राप्त गरे आणविक परीक्षण बन्द गर्ने घोषणा गर्नुभएको थियो । तर नेता किमको नेतृत्वले मुलुककै शक्तिशाली आणविक परीक्षण गर्नुका साथै अमेरिकी भूमिमा समेत मार हान्न सक्ने उच्च क्षमताका क्षेप्यास्त्र परीक्षण गर्नुभएको छ । यसपटक रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा रुसको पूर्वी क्षेत्र भ्लादिभोस्तक आउँदै हुनुहुन्छ । सन् २०१८ को मार्च महिनादेखि हालसम्म उत्तरी कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चार पटक, दक्षिण कोरियाका राष्ट्रपति मून जाय–इनसँग तीन पटक, अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई पटक र भियतनामका राष्ट्रपतिसँग एक पटक भेटवार्ता गर्नु भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -