स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा

gautam-buddha
सेयर गर्नुहोस

चितवन, ८ वैशाख : रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ ।

शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् । रङ्गशाला निर्माण गर्दै गरेको सीताराम कट्टृेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घर लगायतका आवश्यक संरचना निर्माण भइसकेको छ ।

हालसम्म करीब रु ८० लाखको काम सम्पन्न भएको उहाँले बताउनुभयो । यसै सातादेखि खेलमैदानको भुइँको काम थालिने छ । अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेल मैदान निर्माण गरिने कट्टेलले बताउनुभयो । गुरुयोजना तयार गरी नक्साङ्कनको काम तीव्र गतिमा अघि बढाइएको उहाँले बताउनुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अघि बढाइएको छ । क्रिकेट बाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भइरहेको कट्टेलले बताउनुभयो । कट्टेलेलका अनुसार आउँदो ३० वर्षपछि हुने प्रविधि अहिलेनै प्रयोग गरेर नक्साङ्कनको काम भइरहेको छ ।

यसका लागि नेपालीसँगै विदेशी विज्ञले पनि काम गरिरहेका छन् । जेठ महीनासम्ममा रु ५० करोड सङ्कलन गरी आवश्यक सामग्री जम्मा गर्ने तयारी भइरहेको छ । हालसम्म रु ६ करोड सङ्कलन भएको फाउण्डेसनले जनाएको छ । कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम सङ्कलन हुन थालेको बताउनुभयो । सबै जिल्लामा समिति निर्माण गरी रङ्गशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तीव्रता दिइने उहाँले बताउनुभयो ।

अर्थ सङ्कलनका लागि यही वैशाख १३ गते फाउण्डेसनको टोली दुबई जाँदै छ भने त्यस लगत्तै जापान, अष्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम रहेको छ । फाउण्डेसनको खातामा पहिले जम्मा भएको रु दुई करोड नौ लाख बाट कामको भुक्तानी भइरहेको उहाँले बताउनुभयो । बहुउपयोगी रङ्गशाला निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशालालाई खेलकूद एकेडेमीका रूपमा विकास गर्ने तयारी गरिएको छ । यसैबीच रङ्गशाला निर्माणका लागि यहाँको हानामी एजुकेशनल इन्टरनेसनल प्रालिले आज रु एक लाख ११,१११ फाउण्डेसनका अध्यक्ष कट्टृेलेललाई हस्तान्तरण गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -