स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

देश समृद्धि र विकास तर्फ अघि बढिरहेको छ : प्रधानमन्त्री

सेयर गर्नुहोस

नवलपरासी, ७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धि र विकास तर्फ अघि बढिरहेको बताउनुभएको छ ।

पूर्वी नवलपरासीको सदरमुकाम नमूना सदरमुकामको कावासोती नगरपालिका–३ मा आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देशमा बाटो घाटो, पुल पुलेसा, शिक्षा स्वास्थ्य लगायतका अन्य सबै क्षेत्रको समेत विकास हुँदै गएको बताउनुभयो ।

जलविद्युत्देखि पानी जहान सञ्चालनसम्मको योजनाअघि बढाउन सरकार लागि परेको जनाउँदै उहाँले अब मुलुकले समृद्धि र विकासको गति लिएको बताउनुभयो ।

हुलाकी राजमार्गदेखि अन्य विकास निर्माणका काम साथै कृषि, पर्यटन लगायतका अन्य विविध क्षेत्रमा समेत सरकारले लक्ष्यअनुसार काम अघि बढिरहेको उहाँले चर्चा गर्नुभयो । कोरला नाकाको विकासका लागि सरकार लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले समग्र देशको चौतर्फी विकासका लागि आफू अगाडि बढेको उल्लेख गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घ र प्रदेशअन्तर्गतका कार्यालय एकीकृत रुपमा स्थापना गर्ने योजनालाई रकम अभावका कारणले कुनै समस्या हुन नदिने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रिवेणी पोखरा हुँदै कोरला नाकाको सडक सञ्जाल विस्तारमा सङ्घीय सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो जिम्मेवारीमा नखटिने कर्मचारी सरकारलाई आवश्यक नभएको बताउँदै सबै कर्मचारीले आआफ्नो जिम्मेवारीअनुुसार काम गर्नुपर्छ भन्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अब राज्यले आयोगमार्फत वास्तविक सुकुम्वासी र अव्यवस्थित बसोबासलाई पूर्ण रुपमा व्यवस्थापन गर्ने योजनाका साथ सरकारले कामअघि बढाएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य तीलक महतले नवलपुर जिल्लालाई साच्चिकै समृद्ध जिल्लाको रुपमा स्थापना गर्न त्रिवेणी नाकाको स्तरोन्नति, पहाडी क्षेत्रमा फलाम खानीको उत्पादन र सडक सञ्जाल विस्तार हुनपर्ने धारणा राख्नुभयो ।

गण्डकी प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिले नवलपरासी(बर्दघाट–सुस्ता पूर्व) नामकरण गरिएको जिल्लालाई तत्काल नवलपुर जिल्ला नामकरण हुनुपर्ने र सङ्घीय सरकारले प्रदेश सरकारलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो ।

कावासोती–३ मा रहेको १७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा जिल्ला सदरमुकाममा रहने सङ्घ र प्रदेशअन्तर्गतका कार्यालय एकीकृत रुपमा स्थापना गर्ने योजनाअनुसार प्रधानमन्त्री ओलीले आज शिलान्यास गर्नुभएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -