स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

सुन्तला क्षेत्र विस्तार

orange tree - the times of nepal
सेयर गर्नुहोस

हेमन्त केसी जाजरकोट, ६ वैशाख : सरकारले पाँच करोडभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलाका लागि आत्मनिर्भर बनाउन क्षेत्र विस्तार गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जाजरकोटलार्ई सुन्तला जोनका रुपमा विकास गरी अघिल्लो वर्षदेखि लागू भएको सुन्तला क्षेत्र यो वर्ष थप विस्तार भएको छ ।

सरकारले गत वर्षदेखि शुरु गरेको उक्त परियोजनाअन्तर्गत जाजरकोटका नलगाड नगरपालिका र कुशे गाउँपालिकामा विस्तार भएको उक्त कार्यक्रम यस वर्षदेखि जिल्लाको भेरी नगरपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाको वडा विस्तार भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न उत्पादनका आधारमा मुलुकका ४१ जिल्लालार्ई विशेष क्षेत्रका रुपमा विकास गर्ने क्रममा जाजरकोटलार्ई सुन्तला जोनका रुपमा विकास गरी थप क्षेत्र विस्तार गरिएको परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत टङ्कप्रसाद रिजालले बताउनुभयो ।

परियोजनाअन्तर्गत जिल्लामा सञ्चालन हुन लागेको सुन्तला जोनबारे जानकारी दिँदै रिजालले एक हजार हेक्टरमा तरकारी तथा फलफूल खेती हुने जिल्लालार्ई ‘सुपर जोन’ र पाँच सय हेक्टरमा खेती हुने जिल्लालार्ई ‘जोन’का रुपमा पहिचान गरी परियोजना शुरु भएको बताउनुभयो ।

रिजालका अनुसार सरकारले गत वर्ष र यो वर्ष गरी तरकारी, फलफूल र अन्य उत्पादनको खेतीका लागि ‘जोन’का रुपमा छनोट गरेका ४१ जिल्लामध्ये जाजरकोट सुन्तला क्षेत्रका रुपमा छानेर विस्तार भएको हो ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतका अनुसार जिल्लाको कुशे गाउँपालिकाको पूरै, भेरी नगरपालिका–२ र नलगाड नगरपालिका–३ को पूरै क्षेत्रलाई समेटेर सुन्तला क्षेत्र बनाइएको थियो भने यो वर्षदेखि छेडागाड नगरपालिका–११, १२, भेरी नगरपालिका–५ र ६, नलगाड नगरपालिका–२ र ५ लाई थप गरेर कार्यक्रम शुरु भएको छ ।

यसअघि सरकारले झापालाई धान, बारालाई माछा, काभ्रेलार्ई आलु, कास्कीलाई तरकारी, दाङलार्ई मकै, जुम्लालार्ई स्याउ, कैलालीलार्ई गहुँ र डडेल्धुरालार्ई आलुका लागि ‘सुपर जोन’का रुपमा घोषणा गरेको छ । जाजरकोटमा यसै वर्षदेखि मौरी क्षेत्रसमेत लागू भइसकेको छ ।

खास क्षेत्रअन्तर्गत आलु, सुन्तला, माछा, स्याउ, जुनार, तरकारी, अदुवा, अलैँची, तरकारी बीउ, तेलहन बाली धान, जैतुन, मकैलगायत बाली तथा फलफूल र तरकारीको व्यावसायिक उत्पादन हुने योजना निर्माण गरिएको छ ।

१० वर्षको अवधि लिएर शुरु गरिएको परियोजनाले प्रमुख कृषि उपजको विशिष्टीकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुको मूल्य अभिवृद्धि गर्दै किसानको प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने र कृषिलार्ई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्ने उद्देश्य लिइएको परियोजनाको जाजरकोट एकाइ प्रमुखसमेत रहेका रिजालले बताउनुभयो ।

परियोजनाअन्तर्गत ‘कस्टम हाइरिङ सेन्टर’ तथा ‘पोस्ट हारबेस्ट सेन्टर’ नाम दिएर विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । किसानलार्ई विभिन्न प्रविधि तथा साधन सहयोग गराउँदै उनीहरुले उत्पादन गरेका सुन्तलालार्ई बजारसम्म पु¥याउन र बिक्री गर्नका लागि बजारीकरणको काममा सहयोग पु¥याउने परियोजनाको उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

जाजरकोटमा सुन्तला खेती गर्ने किसानको सङ्ख्य एक हजार ४०० भन्दा बढी रहेको छ । ८०० हेक्टर जमीनमा सुन्तला खेती गरिँदै आएको परियोजनाले बताएको छ । सुन्तला क्षेत्रमा यो आर्थिक वर्षमा मात्र रु ६० लाखको ३९ वटा सिँचाइ योजना बनाएर निर्माण कार्य जारी रहेको कार्यालयका विश्वमित्र शर्माले बताउनुभयो ।

परियोजनाअन्तर्गत उत्पादन प्रविधि प्रदर्शन तथा शिक्षालय सञ्चालनको कामसमेत हुनेछ । पाँच करोड रुपैयाँभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलामा आत्मनिर्भर जिल्ला बनाउन परियोजनाले महत्वपूर्ण सहयोग पु¥याउने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

जिल्लामा रोजगारीका अवसर सिर्जना गर्न र सुन्तला उत्पादन र व्यापारबाट जाजरकोटलाई आत्मनिर्भर बनाउन परियोजना सहयोगी हुने मन्त्री बस्नेतले बताउनुभयो । कुुुशे गाउँपालिका–५ पाँचकटियामा कार्यालय स्थापना गरेर सुन्तला जोनको काम शुरु गरिएको छ । विभिन्न कृषि उपजलाई महत्व दिँदै क्षेत्र विस्तार गरिएकामा स्थानीय किसान खुशी छन् । –––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -