स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

उन्नत जातको स्याउ खेती शुरु

सेयर गर्नुहोस

बाजुरा, ६ वैशाख : बाजुराको गौमूल गाउँपालिकाले उन्नत जातको स्याउ खेती शुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार हावापानी अनुकूल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न ०.२५ हेक्टरमा शुरु गरिएको कृषि शाखा प्रमुख रमेश विकले बताउनुभयो ।

कृषि विकास शाखाले परीक्षणका लागि पहिलोपटक उक्त खेती शुरु गरेको छ । फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको शुरुआत गर्न थालिएको हो । गौमूलमा स्थानीय जातका स्याउ खेती उत्पादन नभए पनि उन्नत जातको बिरुवा ल्याएर परीक्षण खेती शुरु गरेको विकको भनाइ छ ।

चिसो हिमाली भेगमा उत्पादन गर्न सकिने स्याउको प्रजातिबारे प्राविधिक सल्लाहअनुसार नै उन्नत जातको स्याउ खेती शुरु गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । अध्यक्ष रोकाया आफैँ पाँच महीनाअघि मनाङ र मुस्ताङमा उक्त प्रविधि स्याउ खेतीको अध्ययनका लागि गएका थिए ।

अरू स्याउभन्दा पोषिलो र बढी उत्पादन हुने सल्लाहअनुसार हावापानी अनुकूल स्थानमा परीक्षणका लागि बिरुवा लगाइएको हो । गौमूल गाउँपालिको कृषि विकास शाखाले एग्रो मनाङ प्रालिलाई समन्वय गरेर स्याउ खेती शुरु गरेको हो । पहिलोपटक परीक्षणस्वरुप गौमूल गाउँपालिका–१ अन्द्रारीमा सुदूरपश्चिम प्रदेशमै पहिलोपटक खेती शुरु गरिएको गाउँपालिकाले बताएको छ ।

इटाली र साइबेरियाबाट मनाङ जिल्लाको एग्रो मनाङ प्रालिले नेपालमा भित्र्याएको र त्यसपछि बाजुराको कृषि विकास शाखाले पनि एग्रो मनाङलाई समन्वय गर्दै ल्याएको कृषि शाखा गौमूल प्रमुख रमेश विकले बताएका छन् ।

स्याउ समुद्री सतहदेखि एक हजार ८०० मिटरभन्दा माथि फल्ने भएकाले परीक्षणका लागि पहिलो पटक ५०० बोट रोपिएका छन् । फुँजी गाला र गोल्डेन जातको स्याउलाई चैतको पहिलो सातादेखि दोस्रो सातासम्म रोपिसक्नुपर्ने र थोपा सिँचाइको प्रयोगबाट पानी लगाउन मिल्ने प्राविधिकको सल्लाह छ ।

स्याउलाई प्रत्येक दिन प्रत्येक बोटलाई कम्तीमा पनि तीन लिटर पानीको अनिवार्य आवश्यक पर्ने हुन्छ । इटाली र साइबेरियामा उत्पादन गर्दै आएको यो नयाँ प्रविधिकोे स्याउ लगाएको पहिलो वर्षमा कम्तीमा पनि तीन केजी फल्ने र त्यसपछि क्रमशः ५, ६ हुँदै प्रतिबोट ४५ केजीसम्म उत्पादन हुने कृषि विज्ञहरुको भनाइ छ ।

स्याउको परीक्षणका लागि १ नं वडा अन्द्राडीमा गठन गरिएको विन्द्रा वन कृषि समूहलाई जिम्मा दिएको छ । ५०० वटै बिरुवा अन्द्राडीमै रोपिएका छन् । बाँझो रहेको लेकाली जमीनमा खेती गरिएको हो । एग्रो मनाङ प्रालिबाट एक बोटको र एक हजार १५० मा खरीद गरिएको हो । किसानलाई भने निःशुल्क प्रदान गरिएको १ नं वडाका अध्यक्ष बलबहादुर रोकायाले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -