स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपतिसँगको भेटघाटले जनप्रतिनिधि उत्साहित

President of Nepal - The Times Of Nepal - TON
सेयर गर्नुहोस

राँझा, ६ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् ।

“हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो अवसर हो,” नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “राष्ट्रपतिज्यूसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर विकास निर्माणका सवालमा छलफल गर्न पाउँदा खुशी लाग्यो ।”

उहाँले राष्ट्रपतिसामु स्थानीय सरकारका कामकार्वाही र बाँके बर्दियाको विकासको सवालमा कुरा राख्न पाउँदा आफूहरु उत्साहित भएको बताउनुभयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नेपालगञ्ज विमानस्थलको स्तरोन्नति र सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनका बारेमा राष्ट्रपतिसामु कुरा राख्न पाउँदा हर्षित भएको बताउनुभयो ।

राष्ट्रपतिसामु आफूले प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने, स्थानीय सरकारको अधिकार कटौती नगर्नुपर्ने लगायतका सवालमा गाउँपालिका महासङ्घका तर्फबाट कुरा राखेको बताउनुभयो ।

भेटघाटमा स्थानीय सरकारका जनप्रतिनिधिले राखेका समस्या र प्रदेश सरकारका बारेमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रपतिसामु आफ्ना कुरा राख्नुभएको थियो । जनप्रतिनिधिको कुरा सुनेपश्चात् राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गर्नुभएको थियो ।

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री पोखरेल, प्रदेश नं ५ का उपलब्ध सङ्घीय सांसद, प्रदेश सांसद, बाँके बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न बिहीबार नेपालगञ्ज आउनुभएकी राष्ट्रपति भण्डारीले जनप्रतिनिधिको भेटघाटपछि साँझ नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । राष्ट्रपति भण्डारी आज काठमाडौँ फर्किनुभएको राष्ट्रपति सचिवालयका उपसचिव दीपा शर्माले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -