स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

जालमा परेर छ वटा गोही मरे

सेयर गर्नुहोस

चितवन, ५ वैशाख : चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो तिहारी जालमा परेर ती गोही मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सौराहाबाट मेघौलीसम्म राप्ती नदीमा ती गोही मरेका हुन् ।

पाँचवटा जालमै परेका गोहीलाई उद्धार गरिएको उहाँले बताउनुभयो । कतिपय जालबाट फुस्किएर भाग्ने गरेका उहाँको भनाइ छ ।

खड्काका अनुसार खुट्टामा जाल बेरिएमा पौडी खेल्न नसकेर छिटो गोही मर्ने भए पनि शरीर र मुखमा जाल बेरिएका गोही खान नपाए पनि पाँच÷छ महीनासम्म बाँच्न सक्ने उहाँले बताउनुभयो । त्यस्तो अवस्थामा पुगेका गोही कङ्कालजस्तो बनेर मर्ने गरेको पाइन्छ ।

साँझको समयमा जाल थाप्ने र बिहान सङ्कलन गर्ने प्रचलन बढिरहेको भन्दै उहाँले त्यस्ता जालमा अड्किएर गोही मर्ने गरेको पाइएको बताउनुभयो । निकुञ्जले हाते जाल प्रयोगका लागि स्थानीय बोटे जातिलाई अनुमतिपत्र दिने भए पनि अटेर गरी लुकिछिपी तिहारी जाल राख्ने गरेको पाइन्छ । तिहारी जाल भलिबलको नेटजस्तै ठूलो हुने गर्दछ ।

यो बलियोसँगै ठूलो पनि हुने भएकाले जालमा परेको गोही निस्कन सक्दैन । खड्काका अनुसार जालको धागोले शरीरमा काट्ने, चोट लाग्ने र मुख एवं शरीर बेरिन्छ । मुख बेरिदा खान सक्दैन भने शरीर बेरिदाँ पौडन नसकेर गोही मर्ने गर्दछ । गत आर्थिक वर्षमा जालमा परेर तीनवटा गोही मरेका थिए । दुई वर्षअघि नारायणी नदीमा घडियालको भाले जालमा परेर मरेपछि बर्दियाबाट भाले गोही ल्याइएको थियो ।

हाल पनि राप्ति र नारायणीमा न्यून सङ्ख्यामा मात्र भाले गोही रहेका छन्् । खड्काका अनुसार घडियाल मारे एकदेखि १० वर्षसम्म कैद वा रु एक देखि पाँच लाखसम्म जरिवाना वा कैद तथा दुवै हुने कानूनी व्यवस्था छ तर घडियाल मारेको आरोपमा कोही समातिने र कारवाही हुने गरेको छैन ।

नदी प्रदूषित बन्दै जाँदा यो जलचर शङ्कटमा पर्दै गएको देखिन्छ । हालसम्म नेपालका विभिन्न नदीमा एक हजार ४६५ गोही हुर्काएर छोडी सकिएको छ । राप्ती नदीमा मात्र ७८५ गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर छाडी सकिएको छ ।

यद्यपि गत वर्षको गणनामा ११८ मात्र गोही फेला परेका थिए । शङ्कटापन्न अवस्थामा रहेको यो जलचर लोप हुन नदिन सरकारले सन् १९७८ मा प्रजनन केन्द्र स्थापना गरी गोही हुर्काएर नदीमा छाड्दै आएको छ । चालू आवको हालसम्म राप्तीमा १०० गोही छाडी सकिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -