स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

रसुवा अपार सम्भावनायुक्त : उपराष्ट्रपति

President of Nepal - The Times Of Nepal - TON
सेयर गर्नुहोस

आमाछोदिङ्गमो (रसुवा), २ वैशाख : उपराष्ट्रपति नन्दबहादुर पुनले रसुवा नेपालकै प्राकृतिक सुन्दरता, धार्मिक केन्द्र, प्राकृतिक स्रोत साधनले सम्पन्न अपार सम्भावनायुक्त जिल्ला भएको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति रसुवाको समन्वय तथा सेम्पालिबो युवा क्लबद्वारा आयोजित ‘प्रथम आमाछोदिङ्गमो पुरुष तथा महिला खुला भलिबल कप २०७६ र बृहत् सांस्कृतिक कार्यक्रम’लाई आज सम्बोधन गर्दै उहाँले दर्जनभन्दा बढी जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय नाका, लाङ्टाङ गोसाइँकुण्ड, रसुवागढीजस्ता पर्यटकीय केन्द्र र यहाँका मौलिक कला, संस्कृति रसुवाको मात्र नभई देशकै समृद्धिको आधार भएको बताउनुभयो ।

सरकारले जलविद्युत् आयोजना निर्माणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले हरेक नेपालीलाई विद्युत्को शेयरधनी बनाउने र त्यसमार्फत समृद्धि ल्याउनका लागि सरकारले जनताको जलविद्युत् कार्यक्रम शुरु गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत आफूसँग भएका स–साना पूँजीबाट शेयर किन्न आम नेपालीलाई अपिल गर्दछु । यो कार्यक्रमबाट जलविद्युत् उत्पादनका लागि आवश्यक पूँजी सङ्कलन त हुन्छ नै हरेक नेपाली जनतालाई लाभ दिएर समृद्ध बन्न मद्दत पु¥याउँछ ।”

उहाँले जलविद्युत्मा लगानी वृद्धिका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई अपिलसमेत गर्नुभयो । रसुवा जिल्ला जलविद्युत्का केन्द्रका रुपमा रहेको र हालैमात्र झण्डै दर्जनभन्दा बढी आयोजना निर्माणाधीन रहेको सन्दर्भ प्रस्तुत गर्दै उपराष्ट्रपतिले भन्नुभयो, “चिलिमे जलविद्युत् आयोजनाबाट सर्वसाधारणले जलविद्युत्मा शेयर हाल्ने परिपाटीको शुरुआत भयो ।

त्यसकै विकसित रुप जनताका जलविद्युत् कार्यक्रम आएको छ । अहिले रसुवाका दुई वटा आयोजना जनताको जलविद्युत् कार्यक्रमभित्र परेका छन् । म शेयर राखेर मुनाफा लिन रसुवावासीलाई आग्रह गर्दछु ।”

रसुवागढी नाकाको पूर्वाधार विकास, यहाँ निर्माण हुन लागेको सुक्खा बन्दरगाहलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउँदै उहाँले निर्माणाधीन जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न, पर्यटनको विकासमा ध्यान दिन र यहाँको खेल, कला संस्कृतिको विकासमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

मुलुकको विकास र समृद्धिका लागि प्रशस्त आधार रहेको उल्लेख गर्दै उहाँले उपलब्ध प्राकृतिक स्रोत, हाम्रो मेहनत, परिश्रम, लगनशीलता र उच्च प्रविधिको प्रयोगबाट नै छोटो समयमा समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जलविद्युत् उत्पादन वृद्धि, कृषिको व्यावसायीकरण आधुनिकीकरण, पर्यटनको विकास, खनिज उत्खनन, जडीबुटी प्रशोधन, उद्योग कलकारखाना निर्माण, भौतिक पूर्वाधारको विकास र प्रविधिको विकास हाम्रो समृद्धिका आधार हुन् ।

यस क्षेत्रको विकासका माध्यमबाट रोजगारी सिर्जना, गरीबी न्यूनीकरण, देशलाई आत्मनिर्भर, सबल, सक्षम तथा समृद्ध बनाउन सकिन्छ ।” मुलुक स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर रहेको बताउँदै उपराष्ट्रपतिले अबको सङ्घर्ष विकास र समृद्धिका लागि हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

हरेक खेलकूद प्रतियोगिता, महोत्सव र सांस्कृतिक कार्यक्रमले नयाँ प्रतिभा जन्माउने उल्लेख गर्दै उपराष्ट्रपतिले रसुवाको खेलकूद विकास र यहाँको कला, संस्कृतिको संरक्षण र विकासमा यस्ता प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -