स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

जनसेवालाई प्रविधिमैत्री बनाइने : मन्त्री अर्याल

सेयर गर्नुहोस

बेझाड, २ वैशाख  : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जनतासँग जोडिएका सेवालाई प्रविधिमैत्री बनाइने बताउनुभएको छ ।

पाल्पाको रामपुरमा आज नवनिर्मित मालपोत तथा नापी कार्यालय भवनको उद्घाटन कार्यक्रममा उहाँले मालपोत र नापी कार्यालयका सेवा डिजिटल प्रविधिमा लैजानुपर्ने बताउनुभयो ।

उहाँले अबको एक वर्षभित्रमा १३१ मालपोत र १३१ नापी कार्यालयमा सफ्टवेयर सेवा खडा गरेर हस्तान्तरण गर्ने बताउनुभयो । सफ्टवेयर विकास गर्नमा ढिलाइ भएको बताउँदै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयमा अपेक्षाकृत सुशासन कायम गर्न नसकिएको बताउनुभयो ।

“मालपोत र नापी कार्यालयमा सेवा लिन गएका सेवाग्राहीले निकै सास्ती भोग्नु परेको समस्या अवगत छ, अब देशैभर डिजिटल प्रविधिबाट सेवा प्रवाह गरी आधा घण्टादेखि ४५ मिनेटमा सेवा लिएर फर्कने खालको नमूनाकार्य गर्न लागेको छाँै” मन्त्री अर्यालले भन्नुभयो ।

पहिलो वर्ष आधार र कानून निर्माण गर्दैमा बितेको बताउँदै अब सरकार मुलुकको समृद्धिमा लागेको मन्त्री अर्यालले बताउनुभयो । उहाँले मुलुकलाई अन्य देशसँग प्रतिस्पर्धा गरी अबको २० वर्षभित्रमा अन्य देशका युवालाई नेपालमा रोजगारका निम्ति आउने बाटो सिर्जना गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

रवीना कन्ट्रक्सन प्रालिले २०७३ असार १२ गते सम्झौता गरी ३६ कोठा र १४ शौचालयसहितको भवन रु चार करोड ७९ लाख ५७ हजार ५१९ को लागतमा काम गरेको हो । कार्यक्रममा भूमि व्यवस्था तथा महालेखा निर्देशनालयका महालेखा निरीक्षक गोकर्णमणि दुवाडीले पाल्पा रामपुरको यस कार्यालय ५५औँ अनलाइन सेवाका रुपमा शुभारम्भ गरिएको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -