स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

अब्बल बन्दै सामुदायिक विद्यालय

सेयर गर्नुहोस

– काशीराम शर्मा बाँके, ३० चैत : सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ ।

बाँकेका कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याई अब्बल देखाउन सफल भएकाले यतिबेला अभिभावक सामुदायिक विद्यालय खोज्दै हिँड्न थालेका छन् । खजुरा र बैजनाथलगायतका गाउँपालिकाका कतिपय विद्यालयले विद्यार्थी बोक्नका लागि गाडी खरीद गरेका छन् ।

कतिपय विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका छन् । जसले गर्दा अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ ।

खजुराको आदर्श मावि डीगाउँ, ज्ञानोदय नमूना मावि खजुरा र जनता नमूना मावि सन्तकुटी तथा बैजनाथको जीगाउँस्थित प्रभात माध्यामिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाई शुरु गरेपछि त्यहाँ विद्यार्थीको सङ्ख्या वर्षेनी बढिरहेका छन् ।

आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले संस्थागत विद्यालय छाडेर विद्यार्थी आदर्श माविमा भर्ना भएको जानकारी दिनुभयो । आदर्श माविले नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाई शुरु गरेको छ ।

विद्यार्थीलाई विद्यालयसम्म सकुशल ल्याउन र घरसम्म पु¥याउनका लागि आदर्श माविले गत वर्ष बस खरीद गरेपछि यस वर्ष विद्यार्थीको सङ्ख्या झनै बढ्ने प्रअ सापकोटाको अनुमान छ । आदर्शलगायतका कतिपय विद्यालयले संस्थागत विद्यालयजस्तै पिङ, झुलालगायतका खेल सामग्री सामुदायिक विद्यालयमा राखिएका छन् ।

बाँकेमा रहेकामध्ये धेरै सामुदायिक विद्यालयले हरेक वर्षको एसइईमा सतप्रतिशत उत्तीर्ण गराउन सफल हुँदै आएको तत्कालीन जिल्ला शिक्षा कार्यालयको रेकर्डले पनि देखाउँछ । बाँकेका कतिपय निजी स्कूललाई सरकारीसँग प्रतिस्पर्धा गर्न धौधौ छ ।

कम शुल्कमा निजी स्कूलको भन्दा राम्रो शिक्षा, भविष्यमा उच्च शिक्षा अध्ययनका लागि सरकारले दिने छात्रवृत्तिलगायतका अवसरले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप बढिरहेको छ । कतिपय सामुदायिक विद्यालयले शिशु कक्षादेखि नै अङ्ग्रेजी माध्यममा पढाउने गरेका छन् ।

अहिले अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कूलबाट निकालेर सरकारी विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ । सरकारले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनमा विभिन्न अवसर र छात्रवृत्तिमा प्राथमिकता दिन थालेपछि माथिल्लो कक्षामा पुगेका विद्यार्थीले सरकारी विद्यालयमा भर्ना हुन थालेको छ ।

“हामीले राम्ररी व्यवस्थापन गरेर विद्यालय चलाएका छौँ, रिजल्ट राम्रो छ, अध्ययनका लागि आवश्यक पूर्वाधारयुक्त छ, धेरै मिहिनेत गरेर पढाउँछौँ भने आफ्नै छोराछोरीलाई किन अन्यत्र पढाउने ?” प्रधानाध्यापक सापकोटाले भन्नुभयो, “कुनै निजी विद्यालयभन्दा हामी कुनै कुरामा कम छैनौँ ।” अधिकांश नेपालीको आयस्तर न्यून छ ।

त्यसैले महङ्गो विद्यालयमा पढाउन सक्ने हैसियत कमैको हुन्छ, उहाँले भन्नुभयो । तर, विज्ञापन र प्रतिष्पर्धाले धेरै अभिभावक निजी विद्यालयमै पढाउनुपर्ने वा विद्यार्थी पनि निजीमा पढ्दा मात्र राम्रो हुन्छ भन्ने बाध्यता वा भ्रममा अभिभावक रहेको बाँकेका सामुदायिक विद्यालयका शिक्षक बताउँछन् । राम्रो छनोट गर्न सक्ने हो भने निजीले थोपर्ने व्ययभारबाट मुक्त हुन सकिन्छ । किनकि सामुदायिक विद्यालयमा शैक्षिक शुल्क निजीको तुलनामा धेरै नै सस्तो भएको उहाँहरूको भनाइ छ ।

“बढी शुल्क लिने विद्यालय राम्रो हो कि भन्ने पर्छ तर त्यस्तो होइन, सामुदायिक विद्यालयले कम शुल्क लिएर पनि राम्रो अध्यापन गराइरहेका छन् । सामुदायिकमा तालीमप्राप्त शिक्षक बढी छन्”, शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका निमित्त प्रमुख उद्धव श्रेष्ठले भन्नुभयो, “त्यसैले व्यवस्थापन राम्रो भएका विद्यालयका शिक्षकको गुणस्तरमा प्रश्न गर्नुपर्ने अवस्था छैन ।

” समय–समयमा सरकारले नै त्यस्ता शिक्षकलाई तालीमको व्यवस्था गर्ने भएकाले उनीहरूमा अतिरिक्त योग्यता हुन्छ, सामुदायिक विद्यालयबाट अध्ययन गर्नेहरू सरकारीलगायत जागिरका क्षेत्रमा बढी जाने गरेका छन् । लोकसेवा आयोगको पछिल्लो तथ्याङ्कअनुसार वर्षेनी करीब छ लाखको हाराहारी आवेदन पर्ने गरेको छ ।

त्यसमा पनि सामुदायिक विद्यालय पढेर उच्च शिक्षामा गएकाहरूकै बाहुल्यता छ । सामुदायिक विद्यालयमा विभिन्न प्रकारका छात्रवृत्ति सुविधा हुन्छन् । समुदायको स्रोतबाट समेत चल्ने भएकाले त्यहाँ विभिन्न आर्थिक कोष बनाएर विद्यार्थीका लागि छात्रवृत्ति राख्ने गरिन्छ । त्यसबाहेक सरकारले नै तोकिदिएको करीब तीन प्रतिशतलाई दिनैपर्ने छुट्टै छात्रवृत्ति त छँदैछ ।

पछिल्लो समयमा सरकारले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने नीति लिएको छ । एक निर्वाचन क्षेत्रमा कम्तीमा एक प्राविधिक शिक्षालयको योजना सरकारको छ । त्यही योजनाअन्तर्गत माध्यमिक तहमा हाल २४० विद्यालयमा प्राविधिक विषय पढाइ हुन्छ । तीमध्ये ६० भन्दा बढी विद्यालयमा पनि प्राविधिक पढाइ हुन थालेको छ । प्राविधिकअन्तर्गत विद्यालय तहबाट कृषि, कम्प्युटर, सिभिल इञ्जिनीयरिङलगायतका विषय पढाइ हुन थालेपछि प्राविधिक विषय पढ्ने विद्यार्थीका लागि सामुदायिक विद्यालय उपयुक्त बन्न थालेका छन् । प्राविधिक विषय पढ्न धेरै ठूलो अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

नियमित शुल्ककै हाराहारीमा पढ्न पाइन्छ । कतिपय सामुदायिक विद्यालयमा भने व्यवस्थापकीय कमजोरी रहे पनि पछिल्लो समयमा सुधार्दै गएको पाइन्छ । अहिले शिक्षाको सबै अधिकार स्थानीय तहमा सरेको छ । स्थानीय तहहरुले निजी तथा सरकारी विद्यालयको अनुगमन गर्न थालेपछि धेरै सामुदायिक विद्यालयले व्यवस्थापकीय कमजोरीलाई सुधार्दै गएका छन् ।

आठौँले फेरियो ‘कोहलपुर क्रिकेट मैदान’ आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रिकेट खेल बाँकेमा आयोजना हुने भएपछि कोहलपुर क्रिकेट मैदानको स्वरुप फेरेको छ । निर्माण घोषणा भएको डेढ दशकपछि प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले काँचुली फेरेको हो । रु १५ लाख लागतमा चार पिच निर्माण गरिएको छ भने कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा खेलमैदान क्षेत्रमा तारजाली गरिनुका साथै शौचालय र ड्रेसिङरुम निर्माण गरिएको मैदान निर्माण तथा खेल सञ्चालन समितिका सदस्य दीपेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर विकास समिति कोहलपुर र उद्योग वाणिज्य सङ्घ कोहलपुरको संयुक्त लगानीमा मैदान क्षेत्रभित्र खेलाडीको अभ्यासका लागि प्राक्टिस पिचसमेत निर्माण गरिएको छ । घोषणा भएको लामो समयसम्म कुनै संरचना नबनेपछि अतिक्रमणको मार खेप्दै आएको मैदानमा आठौँ राष्ट्रिय खेलकूद आयोजना हुने भएपछि निर्माणमा गति लिएको हो ।

आगामी वैशाख ४ गतेबाट कोहलपुर मैदानमा क्रिकेट खेल सञ्चालन हुने भएकाले मैदान मर्मतसँगै अन्य तयारी अन्तिम चरणमा पुगेको क्रिकेटर तथा अन्तर्राष्ट्रिय क्रिकेट स्कोरर होमेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मैदानमा घाँस काट्ने, रोलिङ गर्ने, पानी हाल्नेलगायतका काम भइरहेका छन् । विसं २०६० मा कोहलपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा निर्माण गर्न प्रस्ताव गरिएको थियो । सोहीबमोजिम तत्कालीन नगर विकास समितिले मैदान निर्माणका लागि चार बिघा १८ कठ्ठा १८ धुर जमीन उपलब्ध गराएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -