स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

“याद गर्न पनि त कोही न कोही त चाहिँदोरहेछ” : गायक प्रमोद खरेल

सेयर गर्नुहोस

चिप्लेढुङ्गा, २४ चैत  : ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा ।’ शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । सङ्गीत पारखीहरुको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो ।

गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए ‘शीतल पनि चिनिनु पर्छ’ भनेर चिनाए दर्शकलाई । गीतसङ्गीतमा जति धेरै आवाज र ताली सुनिन्छ, गायकलाई उतिनै ऊर्जा मिल्छ । आयोजकलाई पनि उत्साहित बनाउँछ । वातावरण त्यस्तै थियो । एकाएक प्रमोद खरेल केही भावुक भए । सबै आश्चर्यमा परे ।

उनले निकै भावपूर्ण तरिकाबाट दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाम उच्चारण गरे । पोखरा उनको गृहनगर । अधिकारीको लोकप्रियताले उचाइ लिएको ठाउँ । गायक खरेलले उनै दिवङ्गत मन्त्रीमा समर्पित गर्दै एउटा गीत गाए । “याद गर्न पनि त कोही न कोही त चाहिँदोरहेछ”, दर्शकदीर्घामा रहेकाहरु झनै भावुक बने जब पछाडिको इलेक्ट्रोनिक पर्दामा रवीन्द्रका मुस्कानसहितका तस्वीरहरु देखिए ।

गीतसँगै टोलाइरहेका थिए उनका समकालीन राजनीतिज्ञ नेकपा स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई । जो त्यही कार्यक्रमका लागि पोखरा आइपुगेका थिए । “यो गीतले राजनीतिको धेरै मोडहरुमा सँगसँगै हिँडेको, एकापसमा दुःख–सुख बाँडेका धेरै पलहरुलाई मानसपटलमा ल्याइदियो”, भट्टराईले सम्झिए “सम्झना–सम्झना नै हो ।” सँगै थिए अधिकारीका सहपाठी दिलीप श्रेष्ठ । “आँखा ओभाउँदै थियो, यो गीत र स्क्रिनमा देखिएको उनको तस्वीरले अनायासै आँखा रसायो फेरि” श्रेष्ठले भन्नुभयो “धेरै चोटि उनलाई सम्झेर रोएको छु, उनलाई गुमाएको डेढ महीना हुनलाग्यो ।

प्रमोदको गीतले फेरि रुवायो उनको यादले ।” अन्य दर्शक पनि त्यसरी नै भावुक बनेका थिए । बार्दली मिडिया प्रालिले आयोजना गरेको ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रममा खरेलले आफ्ना लोकप्रिय गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । उनलाई गायिका मीना निरौलाले साथ दिएकी थिइन् । चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रस्तुतिबाट पनि दर्शकले साङ्गीतिक कार्यक्रममा फरक स्वाद लिन पाए । पोखरा सङ्गीत पारखीका लागि उर्वर मानिन्छ । सडक बालबालिकाको सहयोगार्थ आयोजित यस साङ्गीतिक कार्यक्रम भव्यरूपमा सफल भएको बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका विशेष व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -