स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

एचआइभी सङ्क्रमित श्रेष्ठले सगरमाथा आरोहण गर्ने

Mount Everest - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ, २४ चैत  : एचआइभी एड्स भएका व्यक्तिले पनि राष्ट्र र समाजका लागि केही गर्न सक्छन् भन्ने सन्देशका साथ पूर्वराष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोह गर्नुहुने भएको छ ।

राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी पोखरा रत्नचोक–७ निवासी ५६ वर्षीय श्रेष्ठले यही चैत २९ गते सगरमाथा आरोहणका लागि काठमाडौँबाट यात्रा शुरु गर्ने जानकारी दिइएको हो ।

श्रेष्ठले यसअघि पहिलोपटक विसं २०७२ मा सगरमाथा आरोहणका लागि जानुभएको थियो । भूकम्पका कारण सगरमाथाको आधार शिविरबाट सुरक्षाकर्मीले उद्धार गरी काठमाडौँ ल्याएको थियो ।

समाजमा एचआइभी एड्स भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण र व्यवहार फरक भएको र शारीरिक र मानसिकरुपमा बिरामीलाई जसरी हेर्ने गरेको उल्लेख गर्दै श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नेपालको झण्डा फहराउने अठोट लिएको सुनाउनुभयो ।

पच्चीस वर्षदेखि एचआइभी एड्ससँग जुध्दै आउनुभएका श्रेष्ठले यसअघि सन् २०१३ मा पाँच हजार ४१७ मिटरको थोरोङग ला पास र सन् २०१४ मा छ हजार १८९ मिटर उचाइको इजल्याड शिखर र सन् २०१६ मा छ हजार ६४६ मिटरको भर्जिन पिकको सफल आरोहण गर्नुभएको छ ।

सगरमाथा आरोहणका लागि कूल रु ४३ लाख ५० हजार रकम लाग्नेमा हालसम्म रु ३० लाख सङ्कलन गरिसकेको र सहयोगी हातबाट बाँकी पैसा पनि सङ्कलन गर्ने लक्ष्य लिएको श्रेष्ठको सगरमाथा आरोहणका संयोजक पदमराज जोशीले जानकारी दिनुभयो ।

गायक कर्ण दास, सगरमाथा आरोही रोजिता बुद्धाचार्य, एड्स तथा हेल्थ केएर फाउण्डेसनका कार्यक्रम व्यवस्थापक दीपक ढुङ्गेलले एचआइभी एड्स भएको थाहा पाएर पनि सगरमाथा आरोह गर्ने हिम्मत गर्नु सकारात्मक कार्य भएको भन्दै सफल आरोहणको शुभकामना दिनुभयो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सन् २०१७ का अनुसार नेपालमा ३१ हजार २० व्यक्ति एचआइभी सङ्क्रमित छन् । एचआइभी एड्स भएका व्यक्तिले अहिलेसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छैनन् । श्रेष्ठले सफल आरोहण गरेमा पहिलो व्यक्ति बन्नुहुनेछ । आरोही फुवा तेञ्जिङ शेर्पाले आरोहणको नेतृत्व गर्नुहुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -