राहत सङ्कलनमा पर्यटन व्यवसायी राहत सङ्कलनमा पर्यटन व्यवसायी



काठमाडौँ, २२ चैत : हावाहुरीबाट प्रभावित क्षेत्रका पीडितको सहयोगार्थ राहत सङ्कलनका लागि पर्यटन क्षेत्रका अगुवा सङ्घ संस्था जुटेका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएसन अफ नेपाल (हान)लगायत संस्थाले हावाहुरी प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सङ्कलन अभियान चलाएका हुन् । ती संस्थाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर विपद्को घडीमा पीडितको सहयोगमा जुट्न सम्पूर्ण व्यवसायीमा अपिल गरेका छन् ।



टानका अध्यक्ष नवराज दाहालले पर्यटनका क्षेत्रमा केन्द्रित संस्थाले देशमा आइपरेको विपत्तिलाई मध्यनजर गर्दै हुरी प्रभावित राहत अभियानमा जुट्न पर्यटन व्यवसायीलाई आग्रह गरिएको बताउनुभयो ।

टान सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले हिमाल आरोहण र पदयात्राका क्रममा समस्या पर्दा उद्धार तथा राहत वितरण गर्दै आए पनि तराईमा आएको हावाहुरी पीडितका लागि राहत सङ्कलनमा जुटेको उल्लेख गर्नुभयो ।

टानको कार्यसमिति, साधारण सदस्य तथा क्षेत्रीय कार्यालयलाई समेत राहतका लागि जुट्न निर्देशन गरिएको टानले जनाएको छ । टानले चन्द्र गुरुङको संयोजकत्वमा राहत सङ्कलन गर्ने गरी आफ्ना सबै सदस्यलाई मेगा बैंकमा रहेको संस्थाको खाता नं ००१००६०२४६७९५ समेत सर्कुलर गरिसकेको छ ।

नगद, खाद्य सामग्रीलगायत अत्यावश्यक सामग्री सङ्कलन गरी एक हप्ताभित्रै सम्बन्धित निकायमार्फत राहत वितरण गरिनेछ । पहिलो दिनमै रु ६७ हजार जम्मा भएको छ । यस्तै हानले विज्ञप्ति निकालेर हावाहुरी प्रभावितका लागि राहत कोष स्थापना गरी सम्पूर्ण सदस्यलगायत इच्छुक व्यक्तिलाई सहयोग गर्न अनुरोध गरेको छ ।

सिद्धार्थ बैंक लिमिटेडको खाता नं ००४१५०८९२६८ मा राहतस्वरुप रकम जम्मा गर्न हानले अनुरोध गरेको छ । यस्तै नेपाल पर्यटन परिषद्ले पनि राहत सङ्कलन गरिरहेको परिषद्का संयोजक गोपालबाबु श्रेष्ठले बताउनुभयो । गत आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा धनजनको क्षति भएको थियो । –––


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि