स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन

eps korea - TON
सेयर गर्नुहोस

–अशोक घिमिरे

काठमाडौँ, १८ चैत : नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ ।

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेपनि भाषा परीक्षाका लागि माग भन्दा झण्डै ९ गुणा बढी आवेदन परेको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुन गएराति १२ बजेसम्म ९२ हजार ३७६ जनाले आवेदन फारम भरेका छन् ।

त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ ले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाको आवेदन यही चैत ८ गते राति १२ बजेदेखि खुल्ला गरिएको थियो । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने छ ।

सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । त्यस्तै सन् २०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । सन् २०१५ मा ५१ हजार १३७, सन् २०१४ मा ५८ हजार ७४६, सन् २०१३ मा ४४ हजार १२२ ले कोरियाली भाषा परीक्षामा सहभागिता जनाएका थिए ।

यसैगरी सन् २०११ मा ५० हजार ४३, सन् २०१० मा ३६ हजार ३०२ र पहिलो पटक सन् २००८ मा ३१ हजार ५२५ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका सो शाखाले जनाएको छ ।

कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नेपाली दक्षिण कोरिया जाँदै आएका छन् । कामदार कोरिया पठाउने सम्बन्धमा मेनपावर व्यवसायीको कुनै संलग्नता स्वीकार नगरिएकाले नेपाली कामदार ठगिनेदेखि भनेअनुसारको काम र पारिश्रमिक नपाउने अवस्था छैन ।

कामदारले आफूले फाराम भर्दाकै क्रममा उल्लेख गरेका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्नेछन् भने कोरिया सरकारले तोकेको श्रमिकका न्यूनतम् पारिश्रमिक पाउँदै आएका छन् । एक दशकको अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ ।

विवरण सच्याउन सकिने

आवेदन फारममा कुनै त्रुटी भए यहीँ चैत २२ गतेसम्म सच्याउन सकिने शाखाले जनाएको छ । सानोभन्दा सानो त्रुटीले आवेदकले इपिएस प्रक्रियामा सहभागी हुनु नपाउने अवस्था सिर्जना हुन नदिन फारममा कुनै त्रुटी भए सच्याउने व्यवस्था मिलाइएको निर्देशक खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सानातिना गल्तीले भाषा परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन नदिनेतर्फ हामी सचेत छाँै, फारम भर्न शुरु भएको दिनदेखि नै शाखाले फारमको त्रुटी सच्याउँदै आएको छ ।”

शाखाका निर्देशक कृष्णप्रसाद खनालले सुरक्षित रोजगारी, आकर्षक सेवा सुविधा, काम गर्ने समयावधिको सुनिश्चितालगायत कारणबाट नेपाली युवाको कोरिया मोह बढेको हुनसक्ने बताउनुभयो । उहाँका अनुसार इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चारवर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् ।

त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । कोरिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन् ।
भाषा परीक्षा आगामी जेठमा

भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । सोमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।

भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -