हेटौँडा, १० चैत : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एसइई परीक्षामा सहभागीलाई परीक्षा केन्द्रमै पुगेर शुभकामना दिनुभएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन आज उहाँले परीक्षा केन्द्रको निरीक्षण तथा अवलोकनसमेत गर्नुभएको हो । सो अवसरमा उहाँले शान्तिपूर्ण तथा सफलतापूर्वक परीक्षा सञ्चालन भएकामा खुशी व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री पौडेलले हेटौँडाको सिद्धार्थ मावि तथा प्रगति मावि परीक्षा केन्द्रमा गएर परीक्षा अवलोकन गर्नुभएको थियो । विद्यार्थीलाई हौसला प्रदान गर्न तथा एसइई सञ्चालनको जानकारी लिन परीक्षा केन्द्र पुग्नुभएका मुख्यमन्त्रीले सफलताको शुभकामना व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो