स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना

सेयर गर्नुहोस

दाङ, ५ चैत : दाङको बबई गाउँपालिका–५ मा पर्ने झरना यतिखेर पर्यटकको मुख्य आकर्षण केन्द्र बन्न पुगेको छ । तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करीब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ । पैँतालीस उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई नै लोभ्याउने गरेको छ ।

झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ । त्यहीँबाट विस्तारै बबई नदीमा गई मिसिने गर्दछ । झरनाको अवलोकन गर्न आउने त्यहीँ पानी खस्ने ठाउँमा पौडी खेल्ने पनि गरेका छन् ।
अहिले सो झरनाको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक ३०० देखि ४०० सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको झरनाका कर्मचारी कुलबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइलको रु ३०, कार तथा जिपको रु २०० र बसको शुल्क २५० निर्धारण गरिएको छ ।

विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन, अहिले स्थानीय सरकार आएपछि बबई गाउँपालिकाले संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ एक कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्रा विकले बताउनुभयो । उहाँले झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब खुवाउन र बाँकी रकम झरनाको विकासमा खर्च गरिने बताउनुभयो ।

झरनाको विकासका तथा त्यहाँ आउने पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चरा तथा जीवजन्तुको अवलोकन गराउन सके यसले अझै पर्यटकलाई आकर्षित गराउने र यहाँबाट आम्दानी बढाउन सकिने भन्दै गाउँपालिकाले अहिले विकास निर्माणका कामलाई प्राथमिकता दिइरहेको उपाध्यक्ष विकले बताउनुभयो ।

झरना हेर्न कोहलपुरबाट आउनुभएका ४३ वर्षीया कालिका रेग्मीले पहिलोपटक यहाँ आउँदा निकै आनन्द आएको बताउनुभयो । व्यापार पेशामा संलग्न रहेको बताउने उहाँले आफूले यति राम्रो झरना होला भनेर नसोचेको भन्दै यसलाई अझै व्यवस्थितरूरुपमा संरक्षण गर्न र वरपरको वातावरण सफा स्वच्छ राख्न सुझाव दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–१२ पशुपति माध्यमिक विद्यालयबाट वनभोज खानका लागि विद्यार्थीसहित पुग्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीले विद्यार्थीको झरना अवलोकन गर्ने पहिलो रोजाइ भएकाले आफूहरु यहाँ आएको बताउनुभयो । उहाँले झरना संरक्षण तथा संवद्र्धन गरी भौतिक पूवर्धार निर्माण गर्न सके पश्चिम दाङको मुहार नै फेरिने बताउनुभयो ।

“झरना त धेरै लोभलाग्दो रहेछ । तर यहाँ केही समस्या रहेछन्”, उहाँले भन्ुनभयो, “छेउछाउमा वनभोज खान सेट, चमेना गृह, पर्यटकका लागि आवश्यक पर्ने शौचालय, पिउनेपानी तथा फोहरको उचित व्यवस्थापन हुनु जरुरी छ।”

स्थानीय पत्रकार बालकृष्ण पाण्डेले झरना क्षेत्रको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले विगतका वर्षमा नागरिकले गरेको अथक संरक्षण र राज्यका निकायले गरेको सहयोगले नै अहिले जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा पुरुन्धरा झरना परिचित रहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले झरनाको विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाइसकेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा गाउँपालिकाले पुरन्धरा झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न रु १५ लाख र प्रदेश नं ५ सरकारले रु ५० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले अहिले त्यहाँसम्म पुग्ने बाटोमा कल्भर्ट तथा ग्राभेलको काम शुरु भइरहेको पनि बताउनुभयो । उहाँले अब छिट्टै झरनास्थलमा खानेपानी, शौचालय, चमेनागृह, बिजुली, वनभोजस्थलका लागि आवश्यक सेट निर्माणलगायतका भौतिक पूर्वाधार निर्माण गरिने पनि जानकारी दिनुभयो ।

तुलसीपुर, हापुरे, सुर्खेत खण्डको टवाङ खोलाबाट करीब आठ किमी दक्षिणपचिश्ममा पर्ने सो झरनासम्म पुग्ने बाटो पक्की भए त्यहाँ बाह्रै महीना पर्यटक सजिलैसँग सवारी चढेर जान सक्ने थिए । यस झरनाको आफ्नै महत्व छ । यो एकान्त ठाउँमा छ । त्यहाँ वरपर कुनै बस्ती छैन । शताब्दीभन्दा पुरानो इतिहास बोकेको सो झरना क्षेत्रमा पहिले त्यहाँ घनघोर जङ्गल रहेको र त्यही जङ्गलको बीचमा सानो बाटो बनाएर मानिस गाईबस्तु लिएर जङ्गलमा जाने, घाँस दाउरा तथा खर काट्ने र त्यही गोठ बनाएर बस्ने गर्दथे । सोही गोठमा बस्ने क्रममा आवतजावत गर्दा मानिसले त्यहाँ झरना रहेको पत्ता लगाएका थिए ।

झरना करीब एकसय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिरमा जाने गर्दथे । सो मन्दिरमा पुजारी पनि बस्ने गर्दथे । ती पुजारी पनि गाईलाई पानी खुवाउन, घाँस काट्न त्यही जाने गर्दथे । सो मन्दिरमा त्यहाँ शिवरात्रिमा ठूलो मेला पनि लाग्दछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -