स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

महिलामा स्वास्थ्य समस्या

बिहेबारी - the times of nepal
सेयर गर्नुहोस

जाजरकोट, ३ चैत: उमेर नपुग्दै आमा बन्दा र छोरा पाउने आशामा धेरै सन्तान जन्माउँदा बारेकोट गाउँपालिकाका महिलाका स्वास्थ्यमा बढी समस्या देखिएको छ ।

विवाह गर्ने उमेरसम्म दुईभन्दा बढी सन्तान जन्मदा महिलाको स्वास्थ्यमा विकराल समस्या आएको बारेकोट गाउँपालिका स्वास्थ्य तथा सरसफाइ उपशाखाका प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो । उपशाखाले गाउँपालिकाको लिम्सामा गरेको स्वास्थ्य शिविरमा ९९ महिलामध्ये २३ महिलामा पाठेघरको समस्या देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उपचारमा आएकामध्ये अधिकांश कम उमेरमा विवाह गरेका र धेरै सन्तान जन्माएका महिलामा पाठेघर समस्या, सेतोपानी बग्ने समस्या देखिएको छ, बालविवाह कम नगरी यो समस्या समाधान गर्न सकिँदैन ।”

गाउँमा भरपर्दो स्वास्थ्य संस्था नहुनु र आर्थिक अवस्था कमजोर भएका परिवारका महिलाले समयमै उपचार नपाएर रोग पालेर बस्ने गरेको उहाँले जानकारी दिनुभयो । अब्टेट्रिक, फिस्टुला र पाठेघर खस्ने महिला रोगीको लागि स्क्रिनिङ शिविरमा दुई दिनभित्र आएका महिलाले छोराका आशामा धेरै सन्तान जन्माउन श्रीमान्ले दबाब दिँदा बाध्य भएर छ जति बच्चा जन्माउन बाध्य भएको पीडा समेत सुनाएका छन् ।

परीक्षण गर्न आएका ९९ महिलामध्ये पाठेघर खसेका १५ महिलाले ‘रिङप्रेसरी’ राखेका छन् । उनीहरुमध्ये केहीको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने देखिएको छ । स्वास्थ्य परीक्षण गरिएका महिलामध्ये पहिलो डिग्री खसेका नौ, दोस्रो डिग्री खसेका १०, तेस्रो डिग्री खसेका तीन र सेतो पानी बग्ने ६४ रहेको सिंहले बताउनुभयो । त्यस्तै १६ जनामा क्यास्टोसेल तथा तीनमा पोलिपिस देखिएको छ । जिल्लाको बारेकोट गाउँपालिका सबैभन्दा दुर्गम क्षेत्रमा पर्दछ । जुम्लाको सिमानासँग जोडिएको यो गाउँपालिकामा छोरी भएमा भु्रणमै हत्या गर्ने कामसमेत धेरै हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यहाँबाट सदरमुकाम आउन दुई दिन लाग्ने गर्दछ । देवीदेवताको अत्यधिक विश्वास गर्ने क्षेत्रका रूपमा स्थापित बारेकोट गाउँपालिकामा बालविवाह गर्ने महिलाको सङ्ख्या पनि उच्च रहेको छ । उमेर नपुग्दै विवाह गर्नु, गर्भवती तथा सुत्केरी भएको बेला गह्रौँ भारी बोक्नु, सरसफाइमा ध्यान नदिनु, कुपोषणलगायतका कारणले पाठेघर खस्ने समस्या देखिने गर्दछ । गरीबी तथा जनचेतना अभावले बारेकोटका धेरै महिलामा पाठेघर खस्ने समस्या छ ।

लाज र डरका कारण धेरै लामो समयसम्म रोग लुकाएर बसेको कारण समस्या जटिल बन्दै गएको हो । घरका अरु मानिसले पनि उपचारको साटो विभिन्न लाञ्छना लगाउने गरेको हँुदा महिला रोग लुकाउन बाध्य भएका बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीको भनाइ छ । पाठेघर खस्ने समस्या स्वास्थ्य समस्या मात्र नभएर सामाजिक समस्याको रुपमा देखिन थालेको उपाध्यक्ष शाहीले बताउनुभयो ।

शुरुमा गर्भजाँच गर्ने महिलाको सङ्ख्या अन्तिमसम्म नटिक्ने गरेको प्रमुख सिंहले बताउनुभयो । स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या अत्यन्तै कम भएको सिंहले जानकारी दिनुभयो । साविकका चार गाविस मिलाएर हालको बारेकोट गाउँपालिका निर्माण भएको हो । बारेकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि अभियान थालनी गर्ने योजना बनाएको अध्यक्ष महेन्द्र शाहले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -