स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

विषयगत शिक्षकको अभाव : शिक्षकविनाका कम्प्युटर शिक्षा

computer - The Times Of Nepal
सेयर गर्नुहोस

जाजरकोट, २९ फागुन : चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् ।

विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो । कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन् । कार्यालयले उपलब्ध गराएको कम्प्युटर खोल्ने र बन्द गर्नेबाहेक अन्य काम नभएको विद्यालयले जनाएका छन् ।

जाजरकोटमा सबै माविमा दुई थान कम्प्युटर उपलब्ध गराएर विद्यार्थीलाई अभ्यास गराउने उद्देश्य राखे पनि दक्ष शिक्षक नहुँदा ढाटैबाट कम्प्युटर हेर्नुबाहेक अन्य काम नभएको जानकी मावि मैदेका स्थानीय जगत गिरीले बताउनुभयो । स्थानीय सरकारले पनि नमूना विद्यालय बनाउने भन्दै विभिन्न कार्ययोजना अगाडि सारेका छन्, तर कम्प्युटर शिक्षक र सीमित कम्प्युटरका कारण समस्या भएको विद्यालयले जनाएका छन् ।

शिक्षकविनाका कम्प्युटर बन्द कोठाका साथी भएको शिक्षकको भनाइ छ । विद्यालयमा आम्दानीको स्रोत नहुँदा निजी स्रोतबाट कम्प्युटर शिक्षक राखेर पढाउन नसकिएको नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभयो । प्रावि तहका शिक्षकको भरमा मावि तह सञ्चालन गर्नुपर्ने जाजरकोटका अधिकांश विद्यालयको बाध्यता रहेको छ ।

पर्याप्त शिक्षक दरबन्दी नहुँदा अधिकांश विद्यालयले निजी स्रोतबाट शिक्षक राखेर विद्यालय सञ्चालन गर्दै आएका छन् । स्थानीय वन उपभोक्ता समूह, स्थानीयवासीले सङ्कलन गरेको चन्दा, विकास निर्माणबाट आएको रकमबाट विद्यालय चल्दै आएको सरस्वती मावि बारेकोट गाउँपालिका–५ का प्रधानाध्यापक मनबहादुर सिंहले बताउनुभयो ।
अहिले अधिकांश विद्यालयमा रहेका कम्प्युटर, भिडियो हेर्न र फेसबुक चलाउन मात्र प्रयोग भएको देखिन्छ । प्रत्येक माविमा दूरसञ्चार प्राधिकरण र वर्डलिङ्कको सहकार्यमा इन्टरनेट जडान गरे पनि विद्यार्थीले प्रयोग गर्न पाएका छैनन् ।
कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउन स्थानीय सरकार र केन्द्र सरकारले ध्यान नदिने हो भने लाखौँको रकम बालुवामा पानीजस्तै हुने निश्चित भएको भेरी नगरपालिका–१ रिम्नाका गगनबहादुर खड्काले बताउनुभयो । सरस्वती मावि सिमाका कक्षा ७ मा पढ्ने छात्र सूर्य शाही भन्नुहुन्छ, “सरले अगाडि आएर किताब भट्याउनुहुन्छ, हामीलाई केही थाहा हुँदैन, अहिलेसम्म कम्प्युटर समात्न नपाएरै परीक्षा दिन लागिएको छ ।” कम्प्युटर पढाउने शिक्षकलाई समेत कम्प्युटरको ज्ञान नभएर पढाउँदा शिक्षा लिने विद्यार्थीले कसरी शिक्षा आर्जन गरेका होलान् ? अहिले चर्चाको विषय बन्न पुगेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -