स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

स्थलगत कविता लेखन सम्पन्न

सेयर गर्नुहोस

काठमाडौँ, २८ फागुन : ब्रह्मानन्द – चन्द्रमाया स्मृतिकोषको संयोजन र प्रभात माध्यमिक विद्यालयको आयोजनामा यही फागुन २६ गते आइतबार अन्तर आधारभूत विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्देशक चेतन कार्कीले विद्यार्थी अध्ययनशील बनेमात्र केही गर्नसक्ने अभिमत राख्दै आफ्नो पालामा अध्ययनको कुनै सुविधा नभएकोले हिन्दुस्तान जानुपरेको वाध्यता व्यक्त गरे । विभिन्न दृष्टान्त प्रस्तुत गर्दै उनले विद्यार्थीवर्गलाई हौस्याए । विशिष्ट अतिथि थिए चलचित्र निर्देशक , साहित्यकार , रेडियो प्रस्तोता तथा सोधार्थी प्रकाश सायमी । उनले कविता लेख्ने र वाचन गर्ने वैज्ञानिक एवं विधिसम्मत तरिकामात्र सिकाएनन् , अन्य प्रेरणादायी दृष्टान्त पनि सुनाए र कलिला नानीहरूलाई मन्त्रमुग्ध तुल्याए ।

विद्यालयकी पूर्व विद्यार्थी , नायिका, नाटककार , पत्रकार एवं सोधार्थी रोजिता बुद्धाचार्यले आफ्नो विगत कोट्याउँदै समस्त गुरुवर्गलाई विशेष धन्यवाद ज्ञापन गरिन् । उनले आफ्नो शिखर चुम्ने लोभलाग्दो आरोहण गुरुहरूबिना असम्भव हुने तर्क गरिन् । प्राज्ञ तथा चर्चित आख्यानकार माया ठकुरीले आफ्नो दु:खद विगतबारे चर्चा गर्दै सफलताका सिँढी उक्लन गर्नुपर्ने परिश्रमबारे थप परिचर्चा गरिन् । गीतकार सुभाषचन्द्र ढुङ्गेलले आफ्ना मीठा मुक्तकमार्फत उपस्थित विद्यार्थीहरूमा ऊर्जा भरे ।

त्यसरी नै नेपाल आदर्श मा.वि.की शिक्षिका सुजिता पौडेलले मिठो कविता वाचन गरिन् । विद्यालयका प्र. अ. राजेश्वरमान श्रेष्ठले आगन्तुक पाहुनालाई न्यानो स्वागत गरे । कोषका तर्फबाट रमेशानन्द वैद्यले कार्यक्रमको उपादेयताबारे आफ्नो सटीक भनाइ राखे । त्रिभुवनचन्द्र वाग्ले , केशरी अम्गाइँ र छायादत्त न्यौपानेसमेतको निर्णायक मण्डलको तर्फबाट छायादत्त न्यौपानेले मूल्याङ्कन गर्दा अपनाएका मापदण्डबारे प्रकाश पारे । स्थलगत कविता प्रतियोगितामा शान्ति निकुञ्ज मा.वि. का छात्र रविन थापा, नेपाल युवक मा.वि.की छात्रा एलिशा न्यौपाने , श्रीकन्या मा. वि. की छात्रा सपना मैनाली , नेपाल आदर्श मा.वि.की छात्रा सरिता साह ,श्रीकन्याकै छात्र दीपेन्द्र न्यौपानेले क्रमशः प्रथम , द्वितीय , तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरे ।

विद्यालयका शिक्षक माधव घिमिरे `अटल´ले सहजीकरण गरेको उक्त कार्यक्रम साहित्यकार मुरारी सिग्देलले हरिभक्त कटुवालको `बा , म पाठशाला जान्न´शीर्षकीय कविता वाचन गरी प्रारम्भ गरेका थिए भने वि.व्य.स. अध्यक्ष कयाम उद्दिनले सम्पूर्ण उपस्थित पाहुना तथा प्रतियोगी छात्रछात्राप्रति आभार व्यक्त गरी समापन गरेका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -