स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

कम्युनिष्ट सरकारका बारेमा तराई मधेश विरोधीको भ्रम फैलाउने प्रयास भइरहेको छ । : अध्यक्ष ‘प्रचण्ड’

सेयर गर्नुहोस

गरूडा, २५ फागुन : : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । नेकपाद्वारा आज रौतहटको गरूडामा आयोजित प्रदेश नं २ स्तरीय आमसभामा अध्यक्ष दाहालले प्रदेश नं २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार गरेको छैन भन्नुभयो ।

अध्यक्ष दाहालले आफ्नो दल प्रदेश नं २ को सरकारलाई उदारतापूर्वक काम गर्न दिने पक्षमा रहेको बताउनुभयो । कम्युनिष्ट सरकारका बारेमा तराई मधेश विरोधीको भ्रम फैलाउने प्रयास भइरहेको प्रति सजग रहन आम जनसमुदायलाई आग्रह गर्दैै उहाँले सरकारले तराई मधेशका लागि विशेष परियोजना कार्यान्वयन गरेको बताउनुभयो । रौतहटको भूमि निरंकुशता विरूद्ध विद्रोह गर्ने प्रेरणाको भूमि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले तराई मधेशको भविष्यलाई उज्ज्वल पार्न ठूलाठूला परियोजना प्रारम्भ सरकारले गरेको छ भन्नुभयो ।

अब सरकार र नेकपाले देशलाई नयाँ युगमा प्रवेश गराउने दिशा लिएको बताउँदै उहाँले भन्नुभयो, “अब युगान्तकारी परिवर्तनको वातावरण बनेको छ ।” दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध थप विस्तार भएसँगै विकास निर्माण कार्यले पनि तीव्रता पाएको बताउँदै अध्यक्ष दाहालले तराई मधेशका जनतालाई मुक्ति अनुभूति गराउने कार्य सरकारले गरिरहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशवादी दलले आफ्नो पार्टीका बारेमा भ्रमको खेती गरीरहे पनि आफ्नो दल जनताको प्यारो दल बन्न पुगेको बताउनुभयो । यही भूमिबाट नेपालबाट सामन्तवाद विरूद्ध विद्रोह शुरूआत भएको चर्चा गर्दै उहाँले वर्तमान सरकार मधेशी जनताको उत्थानमूलक कार्य गर्न सङ्कल्पित रहेको छ भन्नुभयो । नेकपाका प्रदेश नं २ का अध्यक्ष प्रभु साहले तराई मधेशको विकासका लागि केन्द्रीय सरकारले गरेका प्रतिबद्धता पूरा हुनुपर्नेमा जोड दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -