स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

च्याउखेतीबाट मनग्गे कमाइ

तरकारी खेती, Vegetable farming, - The Times Of Nepa
सेयर गर्नुहोस

दमौली, २४ फागुन  नेपालमा रोजगारीको अवसर नभएको भन्दै युवा विदेशिने क्रम बढिरहेको अवस्थामा २४ वर्षीय पवन सुवेदीलाई भने देशमै बसेर केही गरौँ भन्ने भावना जागिरहेको थियो ।

पाल्पा जिल्ला निस्दी गाउँपालिका–१ निवासी उहाँमा विदेश जान मन नलागेपछि कुन पेशा उपनाउने भन्ने अन्योल हुँदाहुँदै थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने च्याउखेतीबारे जानकारी पाएर सुवेदीले च्याउखेती शुरु गर्नुभएको हो ।

डेढ वर्षअघिदेखि तनहुँको भिमाद नगरपालिका–५ बिरुवाफाँटमा जग्गा भाडामा लिएर च्याउखेती गरिरहनुभएका उहाँले भन्नुभयो, “विदेशमा गएर पसिना बगाउनुको सट्टा स्वदेशमै बसेर केही गरौँ’ भन्ने सोचले च्याउ खेती शुरु गरेको हूँ ।”

कक्षा १२ पढ्दापढ्दै छाडेपछि उक्त खेती शुरु गर्नुभएका सुवेदीले अहिले च्याउ बिक्री गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । दुई वटा टनेलमा च्याउ उत्पादन गरिरहनुभएका उहाँले दैनिक रु १० हजारभन्दा बढीको च्याउ बिक्री हुने गरेको बताउनुभयो । च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादित च्याउ भिमाद बजार, खैरेनीटार, दुलेगौडा, भानुमती र किहुँका साथै स्याङ्जाको चित्रेभञ्ज्याङ र पाल्पाको रामपुरसम्म बिक्री हुने गरेको छ ।

च्याउ बिक्रीका लागि सुवेदीले मोटरसाइकल खरीद गर्नुभएको छ । बिहान मोटरसाइकलमा च्याउ राखेर बिक्री गर्न हिँडेपछि घर फर्किंदा रातपर्ने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “मोटरसाइकलमै गाउँ–गाउँ पुगेर च्याउ बिक्री गर्दै आएको छु । च्याउको बजार पनि राम्रै छ । दिनमा सरदर नौ÷दश हजारको च्याउ बिक्री हुने गरेको छ ।”

उत्पादित च्याउ प्रति केजी रु २०० मा बिक्री हुने गरेको र बिक्रीका लागि अहिलेसम्म कुनै समस्या नभएको भन्दै सुवेदीले माग राम्रो भएपछि उत्पादन विस्तार गर्ने योजना बनाउनुभएको छ । दुई रोपनी जग्गामा दुई वटा टनेलमा च्याउ उत्पादन भइरहेकामा अब छिट्टै नै थप दुई टनेल बनाउने तयारी गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेकाले यसलाई विस्तार गर्ने योजना छु ।” गर्मी याममा २० दिन र जाडो याममा ४० दिनभित्र च्याउ उत्पादन हुने गर्दछ । भिमाद नगरपालिका–९ का अगुवा युवा कृषक शिवकुमार आलेले सबै युवाले स्वेदशमै बसेर परिश्रम गर्ने हो भने विदेश जानै नपर्ने बताउनुभयो । च्याउ कृषक सुवेदीको परिश्रम उदाहरणीय रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “आफँैले मोटरसाइकलमा राखेर च्याउ बिक्री गर्न हिँड्दा सवारी साधनको सदुपयोगसँगै आम्दानी पनि राम्रै भएको छ ।”

मन्दिर संरक्षणका लागि तटबन्ध

तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित पाँचधारे मन्दिर संरक्षणका लागि तटबन्ध शुरु भएको छ । साँगे नदीले मन्दिर क्षेत्र कटान गर्न थालेपछि मन्दिर संरक्षण समितिको पहलमा मन्दिर क्षेत्रमा तटबन्ध शुरु भएको हो ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा मन्दिर क्षेत्र वरपर तटबन्ध शुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तटबन्धका लागि कार्यालयबाट ४८ थान जाली र आर्थिक सहयोग प्राप्त भएको छ ।

तटबन्धका लागि स्थानीयवासीले श्रमदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “धार्मिक महत्वको यस स्थल संरक्षणका लागि तटबन्ध थालिएको हो ।”

सदरमुकामबाट नजिकै रहेर पनि मन्दिर ओझेलमा परेपछि स्थानीयवासी यसको प्रचारप्रसारमा लागेका छन् । पर्यटकीय तथा धार्मिक गन्तव्यको रुपमा विकाश गर्न सकिने उक्त ठाउँ संरक्षणको अभावमा ओझेलमा पर्दै आएको स्थानीय टेकबहादुर श्रेष्ठले बताउनुभयो ।
विभिन्न देवीदेवताको मन्दिरका साथै पाँचधाराबाट अविरल पानी बगिरहने यस ठाउँको पर्यावरणले धेरैलाई आकर्षित गर्न सक्ने भएपनि संवद्र्धन र प्रवद्र्धन नहुँदा यसको चिनारी नै विलिन हुने हो कि भन्ने चिन्ता लागेको उहाँको भनाइ थियो ।

यस स्थानमा चण्डी देउता र राक्षसको युद्ध हुँदा देउताको विजयी भएको र देउताले जनताको संरक्षण गरेको किंवदन्ती छ । अध्यक्ष श्रेष्ठले सरोकारवाला निकायको प्राथमिकतामा नपर्दा यस ठाउँको सोचेअनुसारको विकास हुननसकेको बताउनुभयो ।

बाह्रै महीना एकनासको पानी आइरहने याहाँको पाँचधारे जिल्लाकै गहना भएकाले यसको संरक्षणमा गाउँपालिकाको समेत ध्यान जानुपर्ने उहाँको भनाइ थियो । यस ठाउँमा आउने भक्तजनलाई बस्न र पूजाआजाका लागि सोही ठाउँका श्रीलाल श्रेष्ठले रु ८० हजारको लागतमा बस्ने ठाउँ, जुजुमान श्रेष्ठ तथा बालकुमारी श्रेष्ठले मन्दिर निर्माण र श्यामकुमार श्रेष्ठ तथा सूचना श्रेष्ठले मन्दिरमा घण्ट राख्न सहयोग गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -