स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

आहा रारा गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

सेयर गर्नुहोस

कास्की, १३ फागुन : स्ट्राइकर अनिल गुरुङको ह्याट्रिकको मद्दतमा थ्री स्टार क्लब पोखरामा जारी १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारले पाहुना टिम युनाइटेड सिक्कीम भारतलाई ५–२ गोलले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । खेलमा गुरुङ एक्लैले तीन गोल गरे । पहिलो हाफको २६ मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेका गुरुङले ८१ औँ मिनेटमा पुनःपेनाल्टीबाट टिमका लागि चौथो र व्यक्तिगत दोस्रो तथा ८५ औँ मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे ।

खेलको ५० औँ मिनेटमा विपक्षी टिमका जिग्मी दोर्जेले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि थ्री स्टारले उपहार गोलमार्फत अग्रता दोब्बर पारेको थियो । थ्री स्टारका लागि पाँचौ गोल अजयी मार्टिन्सले ८१ मिनेटमा गरेका थिए ।

सिक्कीमका लागि नियमित समयको उत्तरार्ध ८९ औँ मिनेटमा सोनम छिरिङ्ग भुटियाले गोल गर्दै टिमका लागि खाता खोलेपनि खेलमा फर्कन ढिला भइसकेको थियो । थप गरिएको तीन मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा सिक्कीमका ओङ्गछिरिङ लोप्चनले पेनाल्टीबाट गोल गरी थ्री स्टारसँगको गोलअन्तर कम गरे ।

खेलमा ह्याट्रिक गरेका थ्री स्टारका अनिल खेलको म्यान अफ दी म्याच बन्दै नगद रु पाँच हजार तथा ट्रफी हात पारे । विजेता थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेल प्रतिष्पर्धात्मक रहेपनि दुई गोल भाग्यले प्राप्त हुँदा गोल सङ्ख्या बढेको बताउनुभयो ।

सिक्कीमका प्रशिक्षक मायाल लेप्चाले खेलाडीले व्यक्तिगत रुपमा गल्ती गर्दा ठूलो अन्तरमा हार्नु परेको प्रतिक्रिया दिनुभयो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल मङ्गलबार अघिल्लो संस्करणको विजेता नेपाल पुलिल क्लब र डफिन्स टिम फेमिली क्यामरुनकोबीचमा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -