स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

अफगान युद्ध, सन् २०१८ मा सबैभन्दा धेरै नागरिक हताहत

सेयर गर्नुहोस

काबुल, १२ फागुन : – दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसङ्घको एक प्रतिवेदनले औंल्याएको छ ।

सन् २०१७ को तुलनामा सन् २०१८ मा नागरिकको मृत्युसंख्या झण्डै ११ प्रतिशतले बढी भएको छ । राष्ट्रसङ्घका अनुसार सन् २०१८ को एक वर्षको अवधिमा करिब तीन हजार ८०४ जना मारिनुका साथै सात हजार १८९ जना घाइते भएका छन् ।

सन् २०१८ मा विद्रोही तालिबान र इस्लामिक स्टेटका लडाकूहरुले गरेको अत्यधिक आत्मघाती आक्रमण र बम हमलाका कारण ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको थियो ।

यो प्रतिवेदन अमेरिका र तालिबानबीच द्वन्द्व अन्त्य गर्ने उपायको खोजी गर्न अर्को चरणको प्रत्यक्ष वार्ता हुनु अघिल्लो दिन सार्वजनिक भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएमा अझ रक्तपातपूर्ण गृहयुद्ध हुने त्रास समेत उत्पन्न भएको छ ।

अफगानिस्तानमा हिंसाका घटना अझ बढ्न थालेपछि कतारको दोहामा अमेरिका र तालिबानबीच वार्ता शुरु भएको हो । राष्ट्रसङ्घका अनुसार, गत दश वर्षको अवधिमा मात्र कम्तीमा ३२ हजार नागरिकको मृत्यु भएको छ भने ६० हजारभन्दा बढी घाइते भएका छन् ।

“यो मानवीय विपत्ति र त्रासदीको अन्त्य गर्ने समय आइसक्यो,” राष्ट्रसङ्घका लागि अफगानिस्तान मिसनका प्रमुख ताडामिची यामामोतोले बताउनुभयो । “नागरिकको हत्या र अपाङ्गता रोक्ने एकमात्र उपाय भनेको लडाईं बन्द गर्नु हो ।”

सन् २०१८ मा अफगानिस्तानमा कम्तीमा ६५ वटा आत्मघाती आक्रमणका घटना भएका थिए । तीमध्ये अधिकांश राजधानी काबुलमा केन्द्रित गरिएका थिए । मुलुकभर यी आक्रमणबाट दुई हजार २०० भन्दा बढी नागरिकको ज्यान गएको थियो ।

अमेरिकी र अफगानी सेनाले बढाएको हवाई हमलाबाट पनि सन् २०१८ मा धेरै मानिसको ज्यान गएको छ । हवाई आक्रमणका कारण ५०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । राष्ट्रसङ्घको प्रतिवेदनमा हवाई आक्रमणबाट भएको क्षतिको विवरण पहिलो पटक समेटिएको छ ।

संयुक्तराज्य अमेरिकाले तालिबान र इस्लामिक स्टेटलाई वार्तामा ल्याउने गरी दबाब सिर्जना गर्न पनि हवाई आक्रमण तिब्र पारिएको छ । अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा यस्ता हवाई आक्रमणलाई दोब्बर बनाइएको छ ।

यामामोतोले आमजनतालाई लक्षित गरी भएका सबै आक्रमण अस्वीकार्य भन्दै नागरिक लक्षित आक्रमण रोक्न आह्वान गर्नुभएको छ ।

अफगानिस्तानमा सन् १९७९ मा तत्कालीन सोभियत सङ्घले हस्तक्षेप गरेयता निरन्तर हिंसात्मक द्वन्द्व कायम छ । सोभियत सेनाको फिर्तिपछि पनि अफगानिस्तानमा गृहयुद्ध, तालिबानको सत्ता र सन् २००१ मा अमेरिकी हस्तक्षेप भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ सेना फिर्ता गर्ने घोषणा गरेपछि एकाएक हिंसात्मक घटनामा वृद्धि भएको छ । अफगानिस्तानमा अझै १४ हजार अमेरिकी सेना तैनाथ छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -