स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

श्रमको सम्मानका लागि देशव्यापी अभियानको तयारी

सेयर गर्नुहोस

काठमाडौँ, १८ माघ : सरकारले श्रमको सम्मान गर्ने परिपार्टीको विकास गर्दै आन्तरिक श्रम बजारमा प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सकिने उपायबारे उद्यमीसँगको छलफलाई तीब्रता दिएको छ ।

श्रमलाई सम्मान नगर्ने परिपाटी बढ्दै गएको अवस्थामा स्वदेशमै रोजगारीका अवसर पाए पनि श्रमिक नपाउने अवस्थाको अन्त्य गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अगुवाईमा छलफल थालिएको हो । श्रम गर्ने व्यक्तिलाई सम्मान तथा काम नगर्ने व्यक्तिलाई अपमानित गर्ने संस्कृति स्थापित नगर्दासम्म श्रमप्रति सम्मान नहुने मन्त्री विष्टले बताउनुभयो । श्रमप्रति व्यक्ति तथा समाजको सोचाइमा परिवर्तन ल्याउने गरी बृहत रुपमा देशव्यापी अभियान थाल्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “काम सानो÷ठूलो हुँदैन । काम स्वयम्मै सम्मानित हुन्छ भन्ने भावनाको विकास गर्न जरुरी छ । श्रम नगर्ने व्यक्तिको आर्थिक हैसियत रातारात बदलिने तर सरकार काम गर्ने, जोखिम मोल्ने तथा श्रम गर्नेको जीवनमा परिवर्तन नआउने अवस्थालाई बदल्न चाहन्छ ।”

“बाल्यकालदेखि नै श्रमप्रति सम्मान जगाउने गरी पाठ्यक्रममा परिवर्तन गर्ने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “मन्त्रालयले सबैमा श्रमप्रतिको भावना जागृत गराउन लेखक, कलाकार, साहित्यकार, पत्रकार, युवा उद्यमी, सामाजिक अभियन्ता लगायतसँग छलफल गरिरहेको छ ।”

सरकार पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरी आन्तरिक श्रम बजारमै रोजगारीका अवसर उपलब्ध गराउन क्रियाशील रहेको मन्त्री विष्टको भनाइ थियो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एकैपटक ठूलो सङ्ख्यामामा रोजगारीको अवसर सिर्जना गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यतिबेला सरकारले देशभित्र विभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारी उपलब्ध गराउनेलाई प्रोत्साहित गर्ने गरी काम गरिरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीका अवसर सिर्जनासँगै श्रमको सम्मानका लागि अभियान चलाउने सरकारको तयारी छ ।”

छलफलमा सहभागी उद्यमीले श्रमको सम्मानका लागि समाजको बुझाइमै परिवर्तन ल्याउने गरी सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सके श्रमप्रतिको सम्मान बढ्ने उनीहरुको विश्वास थियो । छलफलमा कवाडीका सामग्री सङ्कलन गर्ने, टुटल, फुडमारियालगायत रङ्गमञ्च, कृषि, प्रविधिको क्षेत्रमा व्यवसाय गरीरहेका युवा उद्यमीको सहभागिता थियो । कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहाललगायतको उपस्थिति थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -