स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

प्रथम वार्षिकोत्सव : प्रदेशसभाको काम सन्तोषजनक

province 3, nepal - dolmani poudel - the times of nepal
सेयर गर्नुहोस

हेटाँैडा, १८ माघ  : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको र प्रदेशसभाको कामबाट आफू पूर्ण सन्तुष्ट रहेको बताउनुभएको छ ।

“शून्यबाट शुरु गरेर आउनुपरेकाले सरकारले आधार तयार पार्नुपर्दा केही भएकै पो छैन कि भने झैँ लागे पनि सरकारले गर्न सक्नेभन्दा पनि बढी काम गरेको छ”, उहाँले भन्नुभयो । प्रदेशसभाको प्रथम वार्षिकोत्सवका अवसरमा प्रदेशसभाद्वारा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रतिपक्षले भनेजस्तो निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले हिउँदे अधिवेशनले राजधानी र नामाकरण टुङ्गो लगाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँले प्रदेशसभाले एक वर्षसम्म पनि स्थायी राजधानी तोक्न नसक्दा आफूहरुलाई लाज लाग्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “जता गए पनि जनताले राजधानी कहिले टुङ्गो लाग्छ भनेर सोध्ने र आफूले जवाफ दिन नसक्ने अवस्था छ, जहाँ तोके पनि छिटो तोकिनुप¥यो ।”

सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारलाई जनताप्रति जिम्मेवार र जवाफदेही बनाउँदै लोकहितका विधि निर्माण गर्नुपर्ने कार्यलाई अङ्गीकार गरेको बताउनुभयो । उहाँले प्रदेशसभामा प्रस्तुत २८ विधेयकमध्ये २४ पास भएको तथा प्रमाणीकरणसमेत भएर ऐनका रुपमा आइसकेको र चार विधेयक विचाराधीन रहेको बताउनुभयो ।

सरकार र निजीक्षेत्रबीच सहकार्य

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार भएको बताउनुभएको छ । आफू स्थानीय तहमा हुँदा सार्वजनिक निजी साझेदारीको अवधारणा नजीकबाट बुझेकाले प्रदेशको समृद्धिमा निजी क्षेत्रले योगदान दिनसक्नेमा आफू ढुक्क भएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री कार्यालयमा आज प्रदेश सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घबीच भएको सम्झौतापत्रमा हस्ताक्षर एवं सम्झौतापत्र आदानप्रदान कार्यक्रमा मुख्यमन्त्रीले उक्त धारणा राख्नुभएको हो । प्रदेश नं ३ धेरै कुरामा अरू प्रदेशभन्दा माथि रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो प्रदेशमा सशक्त निजी क्षेत्र तथा सबै हिसाबले दक्ष र योग्य जनशक्ति रहेकाले यहाँको विकास द्रुत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले पूँजी, प्रविधि र इच्छाशक्तिलाई प्रदेश सरकारले सदैव स्वागत गर्ने बताउनुभयो । “यो प्रदेशमा धेरै थोक छ त्यसलाई प्रयोग गर्न निजी क्षेत्र पनि लाग्छ भन्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।

उद्योग वाणिज्य महासङ्घ अध्यक्ष भवानी राणाले सम्झौताले प्रदेशको कृषि तथा पर्यटन क्षेत्रको व्यापक विकास गर्ने र बेरोजगार समस्या केही हदसम्म भए पनि कम गर्ने बताउनुभयो । पाँच वर्षभित्रमा १० लाख युवालाई रोजगारी दिने केन्द्रीय सरकारको योजनालाई प्रदेश नं ३ र उद्योग वाणिज्य महासङ्घबीच भएको सम्झौताले टेवा पु¥याउने उहाँको धारणा थियोे ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -