स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

झारपातबाट सुन्दर चित्र बनाउने कलाकार मिलन शेरचन

सेयर गर्नुहोस

–जमुना वर्षा शर्मा

चिप्लेढुङ्गा, १८ माघ  : पोखरा महानगरपालिका माछापुच्छ्«े मार्गस्थित मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्ता वरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ ।

जापान बसाईका क्रममा सिकेको हानानो ओशिआना सीपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याएर कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल हुनुहुन्छ कलाकार मिलन शेरचन । हानानो ओशिआना अर्थात् सुकाइएका झारपातबाट चित्र बनाउने कलाले स्थापित गरेको छ शेरचनलाई ।

हानानो ओशिआना जापानी शब्द हो । दाजु अमेरिकामा भएका कारण उहाँलाई पनि अमेरिका जाने अवसर मिल्यो । केही समय अमेरिका बसाइपछि त्यतैबाट उहाँ जापान छिर्नुभयो । जापान बसाइमा साइतो सान भन्ने साथीसँग उहाँ एउटा कला प्रदर्शनीमा पुग्नुभयो । त्यहाँको कलाबाट उहाँ प्रभावित हुनुभयो । जापानी कलाकार नोहारा उमीबाट हानानो ओशिआनाका बारेमा सिक्नुभयो । जापान बसाइकै क्रममा पहिलेदेखिकै चिनजान भएका सत्यनारायण शेरचनसँग उहाँको विवाह भयो । बिहेको केही समयपछि उहाँहरू दुवै नेपाल फर्कनुभयो ।

पाँच वर्ष जापान बसेपछि सन् १९९८ मा नेपाल फर्केसँगै यो कलालाई भित्र्याएर व्यावसायिकतामा प्रवेश गर्नुभएको हो शेरचन । रहरको कलालाई व्यावसायितकतामा पु¥याउन उहाँ सफल हुनुभएको छ । सानैदेखि फरक काममा रुचि राख्ने र सिर्जनामा रमाउने बानीले हानानो ओशिआनाको कलामा स्थापित गरेको उहाँको भनाइ छ । “केही न केही नयाँ कर्ममा रमाउने बानी थियो । घर र कोठा सजाउन मकैका भुत्ला हुन् कि, दिदीले स्वेटर बुन्दा फालेका धागाका टुक्रा, जे पाए त्यसलाई कुनै कलामा सजाउन मन लाग्थ्यो । मेरो रगतमै सिर्जनशीलता दौडिरहन्थ्यो । त्यसले सफल बनायो”, कलामा लगाव र धैर्यता चाहिने उल्लेख गर्दै उहाँले भन्नुभयो ।

विद्यालय तहमा गृह विज्ञान लिएकाले पनि कलासँग जोडिन अझै सहज भएको उहाँको भनाइ छ । उहाँका हजुरबुबा भीमबहादुर भट्टचन धनशमशेर जबराको मोहारियाटोलस्थित दरबारमा सीतारावादक र तवलावादक हुनुहुन्थ्यो । बुबा झपटबहादुर भट्टचन पनि हस्तकलामा पोख्त हुनुहुन्थ्यो । कला र सङ्गीतको पारिवारिक पृष्ठभूमि भएर पनि होला मिलनमा पनि त्यो गुणको प्रभाव भेटियो । उहाँ चित्रकलामा मात्र नभई साहित्य र सङ्गीतमा पनि उत्तिकै रुचि राख्नुहुन्छ ।

विसं २०३४ मा मकैको भुत्लाबाट बनाएको पुतलीको चित्र राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उहाँलाई पुरस्कृत ग¥यो । त्यसपछि २०४१ सालमा पनि उहाँले पुरस्कार पाउनुभयो । उहाँको ऊर्जा झनै बढ्यो ।

त्यसपछि पोखराका स्थापित कलाकारसँग उहाँको सङ्गत भयो । कलाकार बुद्धि गुरुङले उहाँलाई चित्रकलाको बारेमा सिकाउनुभयो । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि मिलनलाई हौस्यायो ।

यही हौसलाकै कारण उहाँले पहिलोपटक २०५८ सालमा थकाली सेवा समिति नदीपुरमा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गर्नुभयो । सोचेभन्दा धेरै दर्शक आए । कलाको निकै प्रशंसा भयो । यही प्रेरणाले उहाँले पोखरा र काठमाडौँमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी आयोजना गर्नुभयो । सामूहिक चित्रकलामा भने उहाँले दर्जनौँपटक सहभागिता जनाउनुभएको छ ।

रातको समयमा सिर्जना गर्न उत्कृष्ट लाग्छ उहाँलाई । “कल्पनाका विभिन्न चित्राकृतिलाई उतार्न शान्तिपूर्ण वातावरण चाहिन्छ । सबै सुतिसकेपछि आफ्नो सिर्जनामा तल्लीन हुन मन पराउँछु”, उहाँ भन्नुहुन्छ । प्रकृतिलाई जीवन्त उतार्न बढी मन पराउनुहुने उहाँले आफ्ना सिर्जनालाई रु २०० देखि दश हजारसम्ममा बिक्री गर्नुभएको छ । शेरचनले कास्कीका विभिन्न गाउँमा कला कार्यशाला गोष्ठीको संयोजक भएर कार्यक्रमसमेत गर्नुभएको छ ।

हानानो ओशिआना भनेको सुकाइएको झारपातको उचित समिश्रण गरी जीवन्त राख्नु हो । यसरी प्रयोग हुने झारपात हाम्रै वरपर पाइन्छ । आफू यताउता डुल्दा देखिने मौसमी फूल तथा घाँसपात नै कला सिर्जनाका लागि उपयुक्त सामग्री हुन् । घर आँगन, करेसीबारी, खेतबारी, भिरपाखा चौरतिर उम्रने झारपातको सदुपयोग गर्न जाने झारपातलाई जीवन्त पार्न सकिन्छ र आर्थिकरूपमा सशक्त बन्न सकिन्छ भन्ने नमूनाकी पात्र हुनुहुन्छ शेरचन । कलाको मर्म बुझ्नेले मात्र चित्र किन्ने गरेको शेरचन बताउनुहुन्छ ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागबाट विद्वत्वृत्तिसमेत पाइसक्नुभएकी शेरचन दर्जन बढी सङ्घ संस्थाबाट सम्मानित भइसक्नुभएको छ । ‘प्रथम नेपाली १०१ महिला’ पुस्तकमा समेत उहाँ समावेश हुनुभएको छ । केही न केही गरिरहन मन पराउने शेरचनले कला क्षेत्रभन्दा बाहिर पनि निकै उदाहरणीय काम गर्नुभएको छ । सामाजिक सेवामा समेत उत्तिकै सक्रिय शेरचनले ‘सुन्दर पोखराका कर्मठ नारी भाग १ र २’ को प्रकाशन गरेर विभिन्न क्षेत्रका महिलालाई समाजमा चिनाउने कामसमेत गर्दै आउनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -