स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा: ५९ चलचित्र अन्तिम छनोटमा

सेयर गर्नुहोस

काठमाडौँ, ३ माघ : दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ ।
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान)ले आज पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ । महोत्सवमा देखाइने चलचित्रमध्ये नेपालका १६ वटा हुनेछन् । सोका लागि छ फिचर र १० लघु चलचित्र छनोटमा परेका छन् । बाँकी अन्य राष्ट्रका चलचित्र समावेश गरिनेछ । कार्यक्रममा नेपालले अन्तराष्ट्रिय सहकार्यमा बनाएका दुई छोटा चलचित्र पनि देखाइने बताइएको छ ।

महोत्सवमा सहभागी चलचित्रमध्ये राष्ट्रिय र अन्तरराष्ट्रिय चलचित्र जगत्का ख्यातिप्राप्त चलचित्रविद् सम्मिलित निर्णयकमण्डलबाट मूल्याङ्कन गराई पुरस्कार प्रदान गर्ने तयारी छ । सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र एक हजार डलरसहित गौतमबुद्ध अवार्ड तथा एक छोटो चलचित्रलाई पाँच सय डलर र ट्रफीसहित माउण्ट एभरेष्ट अवार्ड प्रदान गरिनेछ । नेपाल पानोरामा प्रतिस्पर्धामा रहेका चलचित्रमध्येबाट उत्कृष्ट ठहर भएको फिचर चलचित्र रु पचास हजार र ट्रफी तथा छोटो चलचित्रलाई उत्कृष्ट भएकालाई रु पच्चीस हजार र ट्रफी प्रदान गरिनेछ ।
महोत्सवमा २०१५ पछिका नेपाली र २०१६ पछि प्रदर्शन भएका अन्तरराष्ट्रिय चलचित्र देखाइने छ । नेपाल, भारत, बङ्गलादेश, चीन, श्रीलङ्का, जापान, फ्रान्स, जर्मनी, इटलीलगायत देशका चलचित्र रहेका छन् । प्रतियोगिताका मुख्य निर्णायक नीर शाहले महोत्सवले नेपाली चलचित्र उद्योगलाई अन्तरराष्ट्रिय जगत्मा चिनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ले बताउनुभयो ।
चलचित्र निर्देशक यादव खरेलले भाषा र संस्कृतिलाई मनोरञ्जनात्मक तरिकाबाट पस्कनु नै चलचित्र भएकाले यसलाई मनोरञ्जनको साधनका रुपमा मात्रै नलिन आग्रह गर्नुभयो ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष खरेलले राष्ट्रिय चलचित्रसम्बन्धी नीति निर्माण भइसके पनि कार्यान्वयन नभएको भन्दै सरकाले यसको सफल कार्यान्वयन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । आयोजक संस्थाका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रले नेपाली भाषा र संस्कृतिलाई समावेश गर्न सके मात्र उक्त चलचित्रलाई अन्तरराष्ट्रियकरण गर्न सकिने बताउनुभयो । पहिलो पटक यस्तो महोत्सव गत वर्ष पोखरामा गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -