स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

मूल्य घटाएपछि जापानी चामल बिक्री हुने अपेक्षा

japanies-rice
सेयर गर्नुहोस

जाजरकोट, २६ पुस  : जाजरकोट–डोल्पा मोटरबाटो ट्र्याक खुलेपछि डोल्पामा दैनिक उपभोग्य सामग्रीमा मुल्य घटेसँगै चामलको मूल्य पनि घटेको छ ।

यातायातको पहुँच बढेसँगै बजारमा पाइने चामलको मूल्य घटेपछि नेपाल खाद्य संस्थानको चामल महँगो भएको भन्दै नबिकेपछि संस्थानले नयाँ मूल्य निर्धारण गर्न केन्द्रसँग प्रस्ताव गरेको छ । जाजरकोट–दुनै मोटरबाटोको धेरै खण्डमा ट्र्याक खुलिसकेको छ ।

सुम्पानीदेखि दुनैसम्म मोटरबाटोको ट्र्याक खोल्ने कार्य सोमबारबाट शुरु भइसकेकाले ढुवानी र यात्राका लागि अझै सहज हुने भएपछि खाद्यको जापानी चामल महँगो भनी खरीद नभएको हो ।

जाजरकोट–दुनै सडकको ठाउँ ठाउँमा रहेका विभिन्न खोला र नदीमा पुल निर्माण नभएपनि खण्डखण्ड गरेर स्थानीयरूपमा जीप र ट्र्याक्टर चलेकाले यात्रा र ढुवानी खर्च पहिलेको भन्दा ३० प्रतिशतले घटेको व्यापारी गोपाल केसीले बताउनुभयो ।

जिरामसिनोलगायत विभिन्न मसिनो चामल दुनै बजारमा प्रतिकेजी रु ५१ मा पाइने गरेको केसीको भनाइ छ । केही वर्ष अघि प्रतिकिलो रु ५५ मा पाइने जापानी चामल नेपाल खाद्य संस्थानले गत आर्थिक वर्षमा मूल्य बढाएर प्रतिकिलो रु ६५ पु¥याएको थियो ।

सो मूल्य महँगो भएको भन्दै सर्वसाधारणले चामल खरीद नगरेपछि मूल्य घटाएर प्रतिकेजी रु ६१ मा झारिएको र सो मूल्यमा पनि बिक्री नभएपछि मूल्य घटाएर प्रतिकेजी रु ५६ बनाइएको थियो । सर्वसाधारणले अझै महँगो भनी खरिद नगरेपछि पुनः मूल्य घटाएर प्रतिकेजी रु ४५ प्रस्ताव गरी पठाइएको संस्थान डोल्पा शाखाका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा पाइने चामलको मुल्य प्रतिकेजी रु ५१ रहेको छ । जापानी चामल मधुमेहका बिरामीले समेत खाना मिल्ने उहाँले बताउनुभयो ।

संस्थानको गोदाममा जापानी चामल अघिल्लो आर्थिक वर्षकै बाँकी रहेको छ । संस्थानको शाखा कार्यालय दुनैमा ५८५ क्विन्टल, सर्मी डिपोमा १३८ क्विन्टल र जुफाल गोदाममा २८१ क्विन्टल र काइगाउँ डिपोमा १०० क्विन्टल जापानी चामल मौज्दात रहेको छ ।

लामो समयसम्म महँगोकै कारण चामल थन्किने कार्यलाई हल गर्न प्रतिकेजी रु ४५ को नयाँ मूल्य प्रस्ताव गरी केन्द्रीय कार्यालयमा पठाएको संस्थान प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

मूल्य घटाएपछि जापानी चामल बिक्री हुने अपेक्षा लिएको पाण्डेले बताउनुभयो । पहिलेको जस्तो खाद्यान्न नपाएर हैरान हुने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । सडकको ट्र्याक खुलेसँगै दैनिक उपभोग्य सामग्री सहजरूपमा आपूर्ति भएकाले पहिला जस्तो समस्या केही कुरामा पनि नहुने पत्रकार सुकमाया थापाले बताउनुभयो ।

पहिला जहाजबाट खरीद गर्दा वस्तुको मूल्यभन्दा भाडा बढी हुँदा सामग्री महँगो थियो । अहिले भाडा ह्वातै घट्दा दैनिक उपभोग्य वस्तुको मूल्य पनि घटेको उहाँको भनाइ छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -