स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

भैरवस्थान मन्दिर क्षेत्रमा कोसेली घर सञ्चालन

सेयर गर्नुहोस

पाल्पा, २५ पुस : पाल्पाको रिब्दीकोट गाउँपालिका–४ स्थित प्रसिद्ध भैरवस्थान मन्दिर क्षेत्रमा कोसेली घर सञ्चालनमा आएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको भैरवस्थानमा गाउँपालिकाको रु पाँचलाख सहयोगमा भैरवस्थान मन्दिर व्यवस्थापन समितिद्वारा कोसेली घर सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले कोसेली घरमार्फत स्थानीयस्तरमा उपभोक्ताले उत्पादित अन्नबाली सहजरूपमा पाउने भएकोले नौलो कामको थालनी भएको बताउनुभयो ।

स्थानीय किसानका उत्पादनले बजार पाउने र उपभोक्तालाई जैविक अन्न तथा गाउँले झल्को मेटाउन कोसेली घर सफल हुने जीसीले बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले गाउँका उत्पादनले बजार पाउने भएपछि स्थानीय बासिन्दामा खुशी ल्याएको बताउनुभयो ।

कोसेली घरमा स्थानीय जातका अन्नबाली कोदो, फापर, तितेफापरको पीठो, गहत, स्थानीय जातका राजमा, गहत, सिमी, मास, कालो सिमी गहतको दाल, सेतो भटमास, कालो भट्ट, तोरी, जौँ, खुदो, मह, गुन्द्रुक, तरुललगायतका स्थानीय उत्पादन पाइने व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताउनुभयो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले कोसेली घर सञ्चालनका लागि कार्यविधि नै बनाएर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले बुटबलबाट सामान ल्याएर कोसेली घर सञ्चालन गर्ने नभई स्थानीयस्तरमा उत्पादित वस्तु पाइने थलोको रूपमा विश्वास जगाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य सङ्घका मोहनप्रसाद श्रेष्ठले कोसेली घर सञ्चालनले स्थानीय उत्पादनले बजार पाउन सहज हुने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -