स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

पाल्पामा ६ पक्की पुल बन्दै

सेयर गर्नुहोस

– सुशीला रेग्मी
बेझाड , २० पुस : सडक डिभिजन कार्यालय पाल्पाअन्तर्गत जिल्लामा चालु आर्थिक वर्षमा छ वटा पक्की पुलको निर्माण कार्य भइरहेको छ ।

रामपुर नगरपालिकास्थित कालीगण्डकीको गौरीघाट, प्याक्लुकघाट र निर्दिमघाटमा करोडौँको लगानीमा पक्की पुल निर्माण हँुदैछ ।

जिल्लाको तिनाऊ गाउँपालिकास्थित तिनाऊखोला, झुम्साखोला र कचलखोलामा ठूलो लगानीमा पक्की पुल निर्माणको कार्य बढाइएको छ । पाल्पाको रामपुर नगरपालिका ६ र स्याङजाको चापाकोट नगरपालिका वडा नं ७ जोड्ने कालीगण्डकीको गौरीघाटमा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्म करीब ८५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ भने बाँकी काम फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो पुल जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले बनाइरहेको छ । पुलको शिलान्यास २०७२ फागुन १६ गते भएको थियो ।

सम्झौता मितिमै निर्माण कार्य सम्पन्न गर्न कामलाई तीव्र गतिमा अघि बढाइएको पुल निर्माण समितिका उपाध्यक्ष एवं रामपुर नगरपालिका वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।
एक सय ७४ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु पन्ध्र करोड ११ लाखको लागतमा निर्माण कार्य सुरु भएको हो । निर्माण कम्पनीका प्रतिनिधि एवम् चापाकोट नगरपालिका ७ का अध्यक्ष एकदेव भट्टराईका अनुसार पाल्पाको भागमा पुल निर्माणको काम सबै सकिएको छ र स्याङजातर्फको भागमा भने नदी थुनेर धमाधम कामलाई अघि बढाइएको छ ।

त्यस्तै, रामपुर नगरपालिका ८ र चापाकोट नगरपालिका ९ जोड्ने निर्दिमघाटमा भ्याटबाहेक रु १२ करोड ५३ लाखको लागतमा पुल निर्माण कार्य भइरहेको छ । कन्काई नेपाल प्रगति मिलेनियम जेभी कम्पनीले २०६८ असार ३० गते सम्झौता गर्दा तीन वर्षभित्र काम सम्पन्न लक्ष्य तोकेको थियो । कुल १५० मिटर लम्बाइ र छ मिटर चौडाइ रहेको पुलको पाल्पा जिल्लाको भागमा अहिले काम भइरहेको र हालसम्म ३५ प्रतिशत सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यका अनुसार स्याङजातर्फको भागमा डिजाइन परिवर्तन गर्नुपर्दा काममा ढिलाइ भएको हो । नयाँ डिजाइन स्वीकृतिका लागि विभागमा पेश गरिसकिएको छ ।

“निर्माण कम्पनीलाई पछिल्लो समय ताकेता गरिरहेका छौं, अहिले काम छिटो र राम्रो भइरहेको छ, कार्यालयले समय समयमा स्थलगत अनुगमन र निरीक्षण गरिरहेको छ,” सूचना अधिकारी आचार्यले भन्नुभयो ।

कालीगण्डकीकै रामपुर दामचौर जोड्ने प्याक्लुकघाटको पुल पनि निर्माण प्रक्रियामा रहेको रामपुर ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । पाल्पा र स्याङजाका दुबै भागमा डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले त्यसको स्वीकृति मन्त्रालयबाट लिनुपर्ने भएको छ ।

एलिट एस बिए जेभी कम्पनीले २०६८ असार ३० गते ठेक्का सम्झौता गरी २०७१ असार मसान्तसम्म सम्पन्न गर्ने म्याद रहे पनि अहिलेसम्म पुलको डिजाइनमै काम रोकिएको छ । सो पुलको लम्बाइ १८० मिटर र चौडाइ नौ मिटर रहने गरी भ्याटबाहेक रु १५ करोड ६८ लाखको लागतमा ठेक्का सम्झौता भएको हो ।

विभागबाट नयाँ डिजाइन स्वीकृत भएलगत्तै सम्झौता भएको रकममा २० प्रतिशत रकम थप गरेर पुल निर्माण प्रक्रिया थालनी गरिने बताइएको छ । शिलान्यास भएको लामो समयसम्म पनि पुल निर्माण प्रक्रिया डिजाइनमै सीमति रहन पुग्दा यसप्रति धेरैको चासो देखिएको छ ।

तिनाऊ गाउँपालिका वडा नं १ दोभान प्रहरी चौकी नजीकै तिनाऊ खोलामा निर्माण भइरहेको पुलको अहिलेसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ । गजेन्द्र जेएन ईश्वर श्री सिद्धबाबा जेभी कम्पनीमार्फत २०७२ असारमा सम्झौता भएको यो पुल निर्माणाधीन अवस्थामा छ । विसं २०७५ असारमा सम्पन्न गर्ने अन्तिम म्याद भए पनि पुनः एक वर्ष म्याद थप गरिएको छ । मूल्य अभिवृद्धि करबाहेक आठ करोड रुपैयाँको लागतमा निर्माणाधीन सो पुल ७० मिटर लम्बाइ र नौ मिटर चौडाइ रहेको छ ।

तिनाऊ गाउँपालिकाकै झुम्सा खोला पुल (सिद्धबाबा) को निर्माण कार्य हाल ६५ प्रतिशत सम्पन्न भएको छ । आउँदो साउनसम्म सम्पन्न गर्ने गरी निर्माण कार्यलाई अगाडि बढाइएको छ । विसं २०७४ को साउनमा एलिट कन्ट्रक्सन प्रालिले २०७५ साउनमा सम्पन्न गर्ने गरी भ्याटबाहेक रु नौ करोड ९८ लाखको लागतमा जिम्मा लिए पनि तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन सकेन । सो पुल ८० मिटर लामो र नौ मिटर चौडा छ ।

तिनाऊ गाउँपालिकाको कचलखोलामा सात करोड ५३ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भइरहेको छ । विसं २०७२ मङ्सिरमा एलिट कन्ट्रक्सन प्रालिले २०७४ मङ्सिरमा सम्पन्न गर्ने गरी जिम्मा लिए पनि काम पूरा गर्न नभएपछि २०७६ असारसम्मका म्याद थपिएको छ । सो पुल ७० मिटर लामो र नौ मिटर चौडा छ । भूकम्पको प्रभाव, पुल निर्माणस्थलसम्म पुग्ने सडकको समस्याले निर्माण सामग्री ओसारपसार असहज हँुदा निर्माण कार्य लम्बिन पुगेको हो ।

गतवर्ष पाल्पाको रम्भा गाउँपालिका १ हुँगी र स्याङजाको गल्याङ्ग नगरपालिका ११ जोड्ने कालीगण्डकीको हुँगीघाटमा पक्की पुल निर्माण सम्पन्न भई अहिले सञ्चालनमा आइसकेको छ । एलिट एस बिए जेभी कम्पनीमार्फत १८० मिटर लम्बाइ र नौ मिटर चौडाइ रहेको सो पुल पन्ध्र करोड तीन लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -