स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

आधुनिक कृषि उपकरणको प्रयोगले किसानलाई सहज

सेयर गर्नुहोस

तुलसीपुर, १२ मङ्सिर : जिल्लामा पछिल्लो समयमा आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको छ । खेती लगाउनेदेखि स्याहार्नसमेत विभिन्न कृषि उपकरणको प्रयोग बढ्दै गएको छ ।

गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाई लगाने चलन विस्तारै हराउँदै गएको छ । किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्र्याक्टर प्रयोग गर्न थालेका छन् । गाउँघरमा गोरु तथा राँगा पाल्नेक्रम घटेको तुलसीपुर–४ का किसान चित्रबहादुर वलीले बताउनुभयो । प्रविधि भित्रिएसँगै यसको प्रयोगले गर्दा किसानको श्रम कम लाग्ने र छिटो छरितो हुने उहाँले बताउनुभयो ।

तुलसीपुर– १० की कमला केसीले विगतमा खेत जोत्नेदेखि धान स्याहार्न खेताला लगाउने गरेको स्मरण गर्नुभयो । यस वर्ष भने उहाँले ट्र्याक्टर र थ्रेसर प्रयोग गरी बाली स्याहारेको बताउनुभयो । “ट्र्याक्टरले जोत्दा दुई घण्टामै खेत जोतिन्छ, गोरुले भने चार पाँच दिन लाग्छ, थोरै रकमले समयमै सजिलै र छिटो खेती लगाउन सहज बनेको छ”, उहाँले भन्नुभयो ।

उपकरण र यन्त्रको प्रयोगले कृषि कार्यमा श्रम, समय र पैसा बचत हुने किसान बताउँछन् । “एक दिनको गोरु र मानिसले रु ७०० देखि एक हजार लिने गर्छन् तर ट्र्याक्टरले भने कम लिन्छ”, अर्का किसान निर्मल वलीले भन्नुभयो । थ्रेसर मेशिनले धान दाउँदा प्रति घण्टा रु दुई हजार र जोत्दा प्रति घण्टा रु ८०० लिने गरेको उहाँले बताउनुभयो । गाउँघरमा काम गर्ने मानिस पनि नभेटिने र प्रविधिको प्रयोगले सहज हुने भएकाले यहाँका धेरैजसो किसानले हिजोआज मेशिन प्रयोग गर्न थालेका छन् ।

कृषि प्राविधिक माधव केसीले जिल्लामा पछिल्लो समयमा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने क्रम बढेको बताउनुभयो । “पहिलेजस्तो गोरु र राँगाले खेत जोत्ने र दाई हाल्ने चलन हराउँदै गएको छ, सबैले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन्”, उहाँले भन्नुभयो । उपकरण र यन्त्रका प्रयोगले श्रम, लगानीको पनि सदुपयोग हुने बताइएको छ । जिल्लामा धान दाउने थ्रेसर, खेत जोत्ने साना तथा ठूला ट्र्याक्टर र मकै गोडने मेशिनसमेत आएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -